पश्चिमी उक्साहटमा युद्धमा होमिएर एक्लिएका जेलेन्स्की
निल्स एड्लर
स्लोभाकियाका पूर्वप्रधानमन्त्री रोबर्ट फिकोले आइतबार भएको संसदीय चुनाव जिते। वामपन्थी नेता फिकोले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग फिर्ता गर्ने र रुसविरुद्धको नाकाबन्दी हटाउने बाचा गरेर चुनाव जितेका हुन्।
यसले युक्रेनको चिन्ता बढाएको छ। पछिल्लो समय युक्रेन आफूलाई सबैभन्दा ज्यादा सहयोग गरिरहेको पोल्यान्डसँग पनि भिडिरहेको छ। उता अमेरिकामा रिपब्लिकन सांसदहरू पनि युक्रेनलाई दिइँदै आएको सहयोग घटाउनुपर्ने पक्षमा छन्।
यस्ता घटनाक्रमले युद्ध लम्बिँदै जाँदा युक्रेनप्रतिको वैश्विक समर्थनमा कमी आउने चर्चालाई जन्म दिएको छ। युरोपियन पोलिटिक्स सेन्टरकी विष्लेशक तियोना लाभ्रलसभिली यी घटनाक्रमले युक्रेनका कयौँ सहयोगीहरू युद्धको ‘व्यावहारिक समाधान’ का लागि तयार देखाएको बताउँछिन्।
यसबाट युक्रेन चिन्तित भए पनि नआत्तिएको युनिभर्सिटी कलेज लन्डनका सहप्राध्यापक सन हेन्लीको तर्क छ। स्लोभाकिया रुसतर्फ ढल्किनुको अर्थ युक्रेनका सहयोगीहरू ‘थाक्न’ थालेको संकेत रहेकाले यसप्रति युक्रेन चिन्तित देखिएको उनको भनाइ छ। तर, स्लोभाकियाको सैन्य सहयोग रोकिएला भन्ने चिन्ता भने युक्रेनलाई कम रहेको उनी बताउँछन्।
स्लोभाकियामा रुसप्रतिको समर्थन सर्बिया र बुल्गेरियामा जति नरहेको उनको भनाइ छ।
बरु स्लोभाकियाले हंगेरीसँग मिलेर युक्रेनमाथि सन्देह गर्ने समूह बनाउन सक्ने चिन्ता युक्रेनलाई हुने उनको तर्क छ। युद्धभर हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बानले रुससँग निकट सम्बन्ध कायम राखेका छन् र युक्रेनलाई हतियार दिन नहुने तर्क गर्दै आएका छन्।
आइतबार फिकोलाई बधाई दिँदै अर्बानले एक्समा लेखेका छन्, ‘कसको पुनरागमन भयो अनुमान गर्नुस् त! एक देशभक्तसँग मिलेर काम गर्न सधैँ राम्रो लाग्छ।’
यो मिल्तीले उनीहरूबीचको सम्बन्धमा परिवर्तन भएको देखाउँछ। यसअघि स्लोभाकिया र हंगेरीका राष्ट्रवादीबीचको सम्बन्ध तनावपूर्ण थियो।
लाभ्रलसभिली भने उग्र अभिव्यक्तिले प्राय कूटनीतिमा व्यावहारिक उपाय खोज्ने बताउँछिन्। हेन्ली पनि सत्ता गठबन्धन बनाउन फिकोले सम्झौता गर्नैपर्ने बताउँछन्।
पोल्यान्डसँगको झगडा
फेब्रुअरी २०२२ मा युद्ध सुरुभएपछि पोल्यान्ड युक्रेनको सबैभन्दा प्रतिबद्ध सहयोगी रहँदै आएको थियो।
युक्रेनसँग सीमा जोडिएको पोल्यान्डले दसौँ लाख शरणार्थीलाई शरण दियो, रुसविरुद्ध लड्न अनेक प्रकारका हतियार दियो, अन्य मुलुकबाट ल्याइएको हतियार आपूर्ति गर्ने ट्रान्जिट हबका रुपमा पनि काम गर्यो।
तर, पछिल्लोे समय यो नटुट्लाजस्तो सम्बन्धमा दरार देखिएको छ। युक्रेनी अन्नको विषयमा सुरु भएको विवादपछि पोल्यान्डले युक्रेनलाई हतियार नपठाउने बताएको छ भने शरणार्थीलाई दिइँदै आएको सहयोग पनि कटौती गर्नेसक्ने बताएको छ।
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले राष्ट्रसंघमा यो ‘राजनीतिक नाटक’ले रुसलाई सहयोग पुगिरहेको बताए।
जवाफमा पोल्यान्डका प्रधानमन्त्री म्याथ्युज मोराविएज्कीले जेलेन्स्कीलाई कहिल्यै पनि पोल्यान्डको बेइज्जती नगर्न चेतावनी दिएका छन्।
यो विवादको सुरुवात पोल्यान्डले सेप्टेम्बरमा युक्रेनबाट अन्न आयातमा प्रतिबन्ध लगाएपछि भएको हो। स्थानीय किसानहरूलाई सघाउन भन्दै पोल्यान्डले यस्तो कदम चालेको थियो। यसबाट युक्रेन क्रुद्ध भयो र दुई मुलुकबीच भनावैरी चल्यो।
पोल्यान्डस्थित कासिमिर पुलास्की फाउन्डेसनका अध्येता रोबर्ट प्सजेल भनाभनका बाबजुद युक्रेनप्रति पोल्यान्डको रणनीतिक सहयोग परिवर्तन नहुने बताउँछन्।
पछिल्लो विवाद अनेकौँ असन्तुष्टिहरूको एकमुष्ट अभिव्यक्ति भएको उनको भनाइ छ। नोभेम्बरमा दक्षिणी पोल्यान्डमा हवाई प्रतिरक्षा क्षेप्यास्त्रले दुई जनाको ज्यान लिएको थियो। त्यतिबेला पोल्यान्ड र नेटोले त्यो युक्रेनी क्षेप्यास्त्र भए पनि यसको जिम्मेवार भने रुस भएको बताएका थिए।
तर, युक्रेनले क्षेप्यास्त्र आफ्नो नभएको दाबी गरेको थियो।
लाभ्रलसभिली भने पोल्यान्ड र स्लोभाकियाबीच तुलना गर्न नहुने बताउँछिन्। रुसलाई समर्थन गर्ने संकथन स्लोभाकियामा ज्यादा सफल भएको र कतिपयले अमेरिकालाई सुरक्षा खतराका रुपमा लिने उनी बताउँछिन्।
तर, पोल्यान्डले भने रुस खतरनाक शक्ति हो भन्ने धारणा नबदलेको उनको भनाइ छ।
अमेरिकाले रोक्ला सहयोग?
अमेरिकामा विकसित घटनाक्रमले युक्रेनको चिन्ता थप बढाउन सक्छ। जुलाईमा भएको नेटो शिखर सम्मेलनमा राष्ट्रपति जो बाइडेनले युक्रेनप्रतिको प्रतिबद्धता कम नहुने विश्वास जेलेन्स्कीलाई दिलाएका थिए।
तर, आइतबार अबेर सरकार ‘सटडाउन’ हुन नदिन संसदमा भएको सहमतिमा युक्रेनलाई नयाँ सहयोग दिने विषय समेटिएको छैन। त्यसलगत्तै तल्लो सदनका सभामुख केभिन मकार्थीको पद गुम्यो। यसले युक्रेन मामिलामा अनिश्चितता थपेको छ।
तर, संसदको पछिल्लो सम्झौताले अमेरिकी नीतिमा परिवर्तन भएको संकेत नगर्ने न्युयोर्क युनिभर्सिटीका प्राध्यापक जोसुआ टकर बताउँछन्।
बरु, रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवारका अगुवा डोनाल्ड ट्रम्पमा यो विषय ज्यादा निर्भर हुने उनको भनाइ छ।
अमेरिकामा युक्रेनसम्बन्धी संकथन कतै सरकारले युद्धमा ज्यादा खर्च गरिरहेको त छैन भन्ने विषयमा केन्द्रित रहेको उनको भनाइ छ। जबकि युरोपेलीहरूमा यो द्वन्द्व समाप्त भइदिए हुन्थ्यो भन्ने आकांक्षा छ, किनभने युद्धले उनीहरूलाई प्रत्यक्ष प्रभाव पार्छ।
यही परिवर्तन बुझेर नै ईयूका अधिकांश विदेशमन्त्रीहरूले युक्रेनप्रतिको समर्थन घटेको छैन भन्ने देखाउन सोमबार किभ भ्रमण गरे। पोल्यान्ड र हंगेरीले भने प्रतिनिधि मात्र पठाए।
‘सदस्य मुलुकबीच म कुनै झगडा देख्दिनँ,’ ईयूका विदेश मामिला उच्चायुक्त जोसेप बोरेलले भनेका छन्।
मंगलबार अमेरिकी राष्ट्रपति बाइडेनले पनि जेलेन्स्कीलाई फोनमार्फत ‘आवश्यक भएसम्म’ संसदले युक्रेनलाई सहयोग अनुमोदन गरिरहनेमा आफू विश्वस्त रहेको बताए।
अल जजिराबाट साभार