एमाले बागमती प्रदेश अध्यक्षका लागि ५ जनाको उम्मेदवारी

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।

पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत अध्यक्ष पदमा हालका अध्यक्ष केशवराज पाण्डे, कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल र सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीको उम्मेदवारी परेको हो ।

उम्मेदवारीको अन्तिम नामावली प्रकाशन र फिर्ताको प्रक्रिया पूरा भएपछि बिहीबार बिहान ११ बजेबाट मतदान हुने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ । निर्वाचनबाट अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, उपसचिव महिला एक, उपसचिव खुला एकसहित २४० सदस्यीय पदमा निर्वाचन हुनेछ । १ हजार १७४ जना मतदाताले मतदान गर्ने छन् ।

असोज ८ गते भृकुटीमण्डपमा अधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिमा नेतृत्व टुंगो लगाउन निर्देशन दिएका थिए । प्यानलसहित निर्वाचनमा गए उम्मेदवारी खारेज गरिदिने चेतावनी ओलीले दिएका थिए । तर सहमतिको सम्भावना नरहेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।

यद्यपि नेताहरुले नेतृत्वका लागि सहमतिको प्रयास पनि जारी रहेको जनाएका छन् । नेता शेरबहादुर तामाङले अध्यक्षका सम्भावित उम्मेदवारसँग सहमतिको प्रयास भइरहेको जानकारी दिए ।