सिरहामा पुनः बलियो बन्दै माओवादी, अभियानले ल्यायो उत्साह
जनकपुरधाम । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत सिरहाको सुखीपुर नगरपालिका–३ चचरी टोलमा माओवादी नेता–कार्यकर्ताहरुले जनयुद्धका शहीद फेकन यादवको परिवारको धान खेतमा गोडमेल गरेका छन् । करिब एक सय जना नेता–कार्यकर्ताहरु शहिद परिवारको १० कठ्ठा धान खेतमा गोडमेल गरेका हुन् ।
अभियानमा संलग्न माओवादी केन्द्रका नेता उमेश यादवले धानको झारपात हटाएजस्तै पार्टीमा खराब आचरण र व्यवहारलाई हटाउनुपर्ने बताए । उनले भने, ‘श्रमसँग जोडिएर हामीले एउटा सन्देश दियौं, शहीद परिवारको खेतमा काम गर्यौं । धान खेतमा पलाएको घाँस जबसम्म उखेलेर फालिदैन तबसम्म दाना लाग्दैन । त्यसरी नै माओवादी पार्टी भित्रको खराब प्रवृत्ति, चिन्तन र शैली नफालेसम्म माओवादी पार्टी, आन्दोलन र प्राप्त उपलब्धिको रक्षा हुँदैन ।’ सर्वहारा जीवन शैली र पद्दती नअँगालेसम्म समाजवादको आधार पनि निर्माण नहुने उनले बताए ।
माओवादी नेता–कार्यकर्ताहरुले खेतभरी गोलाकार घेराभित्रको हँसिया हथौडा चित्र भएको झण्डा र ब्यानरसहित धान गोडमेल गरेको फोटो र भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ । त्यसमा कमेन्ट गर्नेहरु धेरैले माओवादी राम्रो काम गरेको भनेर प्रशंसा गरेका छन् ।
२०७४ स्थानीय चुनावमा सिरहामा माओवादीले ६ पालिकामा जितेको थियो । तर २०७९ को चुनावमा भने मिर्चैया बाहेक सबै गुमाएको छ । अहिले माओवादी केन्द्र विगतको नतिजा र माओवादीप्रतिको जनविश्वास फर्काउने अभियानमा छ । स्थानीय नेता–कार्यकर्ताहरु पनि उत्साहित देखिएका छन् । रुपान्तरण अभियानको क्रममा विभिन्न दलका नेता–कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्दै आएका छन् ।
माओवादी नेता उमेश यादव सिराहाको जनमत फर्काउन १७ वटै पालिकामा माओवादीका नेता–कार्यकर्ताहरु उत्साहपूर्वक खटिएको बताउँछन् । उनीहरु किसानको खेतमा श्रमदान, सार्वजनिक स्थल सरसफाइ, शहीद परिवारलाई सम्मान तथा भेटघाट लगायत गतिविधिमा व्यस्त छन् । पार्टी प्रशिक्षणसँगै, प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गरिरहेका राम्रा कामको प्रचारप्रसार पनि गरिरहेका छन् ।
यो अभियानले पार्टीलाई पुनः बलियो बनाउने भूमिका खेल्ने केन्द्रीय सदस्य श्रवण बरबरिया यादव बताउँछन् । ‘सबै मनमुटाव बिर्सिएर पुनः पार्टी एकढिक्का हुन र जनतासँग जोडिएर बलियो बन्न यो अभियानले ठूलो मद्दत पुग्नेछ,’ केन्द्रीय सदस्य बरबरिया भन्छन् ।
सिरहाका १७ पालिकामा जारी अभियानका लागि ६ जना केन्द्रीय सदस्यहरुलाई विभिन्न पालिकाको जिम्मेवारी दिएर खटाइएको छ । केन्द्रीय सदस्य श्रवण बरबरिया यादवलाई तीन पालिकासहित जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको छ । यसैगरी केन्द्रीय सदस्य उमेश यादव, टेकबहादुर बलम्पाकी, रुबी कर्ण, प्रकाश पोखरेल र अमर मण्डल पनि सिरहामा खटिएका छन् ।
नेता–कार्यकर्ताहरु इमान्दारीपूर्वक फिल्डमा खटिएको र विगतका विवाद पनि निरुपण भएर संगठन बलियो बन्दै गएको रुबी कर्ण बताउँछिन् ।