झोंक्की स्वभावका देउवाको ठट्यौली पारा : ‘कांग्रेसमा कहिल्यै बूढा नहुने नेता छन्’

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले समसामयिक राजनीतिक विषयमा र पार्टी जीवनका विषयमा गरमागरम बहस गरिरहेका छन् । कतिपय नेताहरु पार्टी सभापतिको कार्यशैलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन्छन् भने केही आफैं सहभागी सरकारको कार्यशैली ठीक नभएको भन्दै आलोचना गर्छन् ।

बेलाबेला सिर्जना हुने आक्रोशपूर्ण माहोलमा नेताहरु ठट्यौली पारामा पनि प्रस्तुत हुन्छन् । निकै कम बोल्ने र झोंक्की स्वभावका पार्टी सभापति शेरबहादुर देउवासमेत आज सोमबारको बैठकमा ठट्यौली पारामा प्रस्तुत भए ।

बैठकमा नेताहरूबीच उमेरको विषयलाई लिएर ठट्टा भइरहेको थियो । बैठकको अध्यक्षता गरिरहेका पार्टी सभापति देउवाले पनि पार्टीमा कहिल्यै बूढा नहुने नेताहरू रहेको भन्दै ठट्टा गरे ।

आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने भनेर सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै आएका पूर्वमहामन्त्री शशांक कोइराला बोलिसकेपछि देउवाले उमेरको प्रसंग जोड्दै ठट्टा गरे । उनले भने, ‘कहिल्यै बूढा नहुने युवा नेताहरू छन् यहाँ । कहिल्यै बूढा हुँदै–हुँदैनन् ।’

देउवाले यति भनेपछि हलमा हाँसो मच्चियो । सबै हाँस्न थालेपछि देउवाले फेरि भने, ‘ल ठीक छ, ठीक छ । यस्तो छ क्या यहाँ ।’

त्यसपछि फेरि देउवा बोल्छन्, ‘गगन थापालाई भनेको होइन है मैले फेरि ।’

देउवाले महामन्त्री थापालाई व्यंग्य गरेपछि हलमा थप हाँसो फैलियो ।

गत बिहीबारदेखि जारी बैठकमा सभापति देउवाले यसअघि केन्द्रीय सदस्य रामजनम चौधरीले बोल्दाखेरि पनि तपाईँ युवा नै हुनुहुन्छ जस्तो लाग्छ भन्दै रोचक प्रश्न गरेका थिए । चौधरीले बोल्ने क्रममा ‘‘हामी युवा नेताहरू’ भन्ने शब्द प्रयोग गरेपछि देउवाले प्रश्न गरेका थिए, ‘तपाईँ अझै युवा नै छु जस्तो ठान्नुहुन्छ ?’

१४ औँ महाधिवेशनपछि सभाापति देउवाले पहिलो पटक विधानबमोजिम समयमै बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा गत बिहीबारदेखि नेताहरूले धारणा राखिरहेका छन् ।

सोमबार चौथो दिनसम्म प्रदेश कार्यसमितिका सभापतिहरूसहित करिब ९० जना नेताहरूले धारणा राखेका छन् । उनीहरु अधिकांशले युवाहरु विदेश पलायन भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन् ।