कांग्रेस पार्टीको इतर समूहको बैठक : महामन्त्री शर्मा र केन्द्रीय सदस्य पौडेल गएनन्
काठमाडौं, २ असोज/
पार्टीको इतर समूहको बैठकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल उपस्थित भएनन् । कांग्रेस नेता डा। शेखर कोइरालाको आह्वानमा मंगलबार दिउँसो बालुवाटारमा बैठक बसेको हो ।
सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजेदेखि सुरु भएको यो बैठकले आगामी बिहीबार बस्ने केन्द्रीय कार्यसमितिमा एकजुट भएर प्रस्तुत हुने गरी रणनीति बनाउने योजना छ।
बैठकमा आमनत्रण गरिएका दुवैजना नेताहरु यो बैठकमा सहभागी भएनन्। बैठकमा निम्तो पाएका नेता प्रदीप पौडेल मंगलबार नै दुई दिने एक कार्यक्रममा सहभागी हुन चीन जाँदैछन्। त्यहीकारण उनी उक्त बैठकमा सहभागी भएनन्।
महामन्त्री शर्मा पनि पार्टी केन्द्रीय कार्यसमिति बैठकअघि बोलाइएको गुट बैठकमा नजाने निष्कर्षमा पुगेका हुन्। पार्टी बैठकअगाडि बस्ने गुट बैठकमा जाँदा गलत सन्देश जाने उनले जनाएका छन्।
शर्मा कांग्रेसको चौधौँ महाधिवेशनमा नेता प्रकाशमान सिंहको प्यानलबाट उठेका थिए। सिंह अहिले सभापति शेरबहादुर देउवाको क्याम्पमा छन् भने शर्मा इतर समूहसँग निकट छन्।
शर्माले यसअघि कांग्रेस संसदीय दलको निर्वाचनमा इतर समूहमा रहेका अर्का महामन्त्री गगनकुमार थापालाई सघाएका थिए।
उता चीन जाँदै गरेका पौडेलले पनि चौधौँ महाधिवेशनमा तेस्रो धारका रूपमा रहेको कृष्णप्रसाद सिटौलाका तर्फबाट प्रतिस्पर्धा गरेका थिए। सिटौला समूहले सभापति देउवा समूहसँग मिलेर महाधिवेशनमा भाग लिएको थियो।
पार्टी केन्द्रीय कार्यसमितिमा इतर समूहबाट एक भएर प्रस्तुत हुने रणनीतिसहित कोइरालाले उक्त बैठक बोलाएका हुन्।
यो बैठकमा इतर समूहका सबै नेतालाई निम्तो दिइएको छ। यो बैठकमा शर्मा र पौडेलको समेत सुझावका आधारमा समूहले केन्द्रीय कार्यसमिति बैठक र भावी रणनीति तय गर्ने भएको छ।
केन्द्रीय कार्यसमिति बैठक बोलाइएपछि इतर समूहका नेता अर्जुननरसिंह केसीको आयोजनामा नेताहरूबीच केही दिनअघि छलफल भएको थियो।