सुन तस्करी प्रकरण : ५० जना प्रतिवादी, साढे ३ अर्ब बिगो

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बराबरको सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी ५० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न सीआईबीले राय दिएको छ ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको ब्रेक सुसहितको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । १८ दिनसम्म विभागले अनुसन्धान गर्दा तस्करीमा संगठित गिरोह संलग्न भएको पत्ता लागेपछि थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिइएको थियो । सुन लुकाइएको ब्रेक सुको तौल १५५ किलो भए पनि ब्रेक सुबाट सुन अलग गरेर तौलिँदा ६० किलो ७१६ ग्राम भएको थियो ।

यही सुन तस्करी प्रकरणमा सीआईबीले ३५ दिनसम्म ४२ वटा टोलीबाट अनुसन्धान गरी तयार पारेको प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको हो ।

सीआईबीले झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन र उनीहरुमाथि विभिन्न सातवटा कसुर लगाउन सिफारिस गरेको छ । उक्त प्रकरणमा आरोपीहरुमाथि हालसम्म भन्सार ऐन, सङ्गठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, अपराधसंहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबारहीका लागि सिफारिस गर्ने गरी अनुसन्धान प्रतिवेदन तयार पारिएकोे सिआइबीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् ।

आज पत्रकार सम्मेलन गर्दै एआईजी बज्राचार्यले अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहहरुले विभिन्न सातवटा कम्पनीबाट ३६२ किलो (३०२ र ६० किलो) भन्दा बढी सुन तस्करी गरेको खुलेको जानकारी दिइन् । बज्राचार्यका अनुसार त्यसलाई हिसाब गर्दा अहिलेको मूल्यमा ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बराबरको सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको हो ।

उक्त घटनामा अहिलेसम्म ३२ जना पक्राउ परेका छन् । त्यसमध्ये २३ जना नेपाली र नौ जना विदेशी रहेकामा १८ जना फरार रहेका सीआईबीले जनाएको छ ।

सुन तस्करी प्रकरणको अनुसन्धान टोलीका संयोजक प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले तस्करहरुले सुरुमा ट्रायल गरेर परीक्षण गरेपछि मात्रै सुन तस्करी गरेको पाइएको जानकारी दिए । विभिन्न सातवटा कम्पनीबाट सुन तस्करी भएको र अहिले रेडी ट्रेडका नाममा आएको सुनको मात्रै अनुसन्धान सकिएकाले बाँकी अनुसन्धान जारी रहने उनले जानकारी दिए ।

तहगतरुपमा मान्छे तयार पारेर तस्करी गरेको पनि पाइएको भन्दै संयोजक थापाले ती कम्पनीले अटो पार्टमा सुन ल्याएको, हङकङमा रहेको कार्गो कम्पनीले सुन पठाएको र लाजिम्पाट तथा टोखामा लगेर गाल्ने गरिएको तथ्य पनि फेला परेको जानकारी दिए ।

विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० लाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम पुगेकोे थियो । उक्त सुन अहिले राष्ट्र बैंकको संरक्षणमा रहेको छ ।
–––