एमाले कार्यालयमा सुवास नेम्वाङप्रति शीर्ष नेताहरुको श्रद्धाञ्जली
काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित राजनीतिक दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
श्रद्धाञ्जली अर्पण गर्न माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादु्र देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरु एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा पुगेका थिए ।
त्यहीँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । राजनीतिक दलका अन्ँय नेताहरु, व्यवसायीहरु, शुभेच्छुक र एमाले नेता कार्यकर्ताहरुले पनि नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्ने क्रम जारी छ ।
एमाले उपाध्यक्ष नेम्वाङको मंगलबार निधन भएको थियो ।
बालुवाटारस्थित निवासमै बेहोस भएका नेम्वाङलाई मंगलबार राति १ः५० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । डाक्टरहरुले अस्पतालमा आउनुभन्दा अगाडि नै उनको निधन भएको बताएका छन् । मुटु, नाडी र श्वासप्रश्वासको अवस्था जाँच गरेपछि बिहान ३ बजे डाक्टरहरुले मृत घोषणा गरेका थिए । अस्पतालले विज्ञप्ति जारी गरी नेम्वाङको आँखा सुन्निएको र कुनै पनि अंगले काम नगरेको पाइएको उल्लेख गरेको थियो ।
अस्पतालबाट आवश्यक प्रक्रिया पूरा गरी उनको पार्थिव शरीर एमाले केन्द्रीय कार्यालयमा ल्याइएको थियो । त्यसअघि मन्त्रिपरिषदको बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
नेम्वाङका दुईभाइ छोराहरुमध्ये दुवै विदेशमा रहेकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि हुने पारिवारिक स्रोतले जनाएको छ ।