नेम्बाङको निधनः राष्ट्रपति स्तब्ध, प्रधानमन्त्री प्रचण्ड मर्माहत, नेताहरू अस्पतालमा
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ । श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको इलाम क्षेत्र नं. १ का सांसद् महेश बस्नेतले मूलखबरलाई बताए ।
पूर्वसभामुख समेत रहेका नेम्वाङलाई राति १ बजे हृदयघात भएको थियो । त्रिवि शिक्षण अस्पताल पुर्याउने वित्तिकै चिकित्सकहरुले मृत घोषित गरेका थिए । उनको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरु अस्पताल पुगेका छन् ।
नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । उनले नेम्वाङप्रति श्रद्धान्जली र परिवारप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि “संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको’, बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा प्रचण्डले लेखेका छन्, ‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’
सुवास नेम्वाङको जन्म २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा भएको थियो ।
उनी २०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य भए । नेम्वाङले इलामबाट २०५६ सालदेखि निरन्तर संसदीय चुनाव जितिरहे । उनी २०६४ सालको संविधानसभा निर्वाचन र ७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम- २ विजयी बनेर संविधानसभा अध्यक्षको जिम्मेवारीमा रहे ।
कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्यप्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्षसमेत भए उनी । ७४ को संसदीय निर्वाचनमा एमाले- माओवादी गठबन्धनबाट उनी विजयी भए ।
गत पुस १० मा राष्ट्रपतिमा उम्मेदवारी दिएका नेेम्वाङलाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पराजित गरेका थिए ।