प्रचण्डको आक्रोश– ईंटको जवाफ पत्थरले दिन्छौं, हामी जिउँदैछौं भन्ने देखाइदिन्छौं

मूलखबर संवाददाता
काठमाडौं

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र, गणतन्त्र, स्वतन्त्रताका निम्ती लडेका नेता र पार्टीहरू रक्षात्मकजस्तो देखिएको भन्दै त्यस्तो परिस्थितिलाई उल्टाइने बताएका छन् । सामाजिक सद्भाव भड्काउन र हालसम्मका उपलब्धि उल्टाउन खोज्नेहरूलाई जवाफ दिनुपर्ने पनि उनले बताए ।

समाजवादी मोर्चाले आज मोरङको विराटनगरमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो धारणा राखेका हुन् । उनले भने, ‘जिन्दगीभर गणतन्त्र, लोकतन्त्र, क्रान्ति, स्वतन्त्रताको निम्ति भनेर लागेका पार्टी रक्षात्मक जस्तो, हिजोअस्ति हावाहुरी भएर आएकाहरू बडो पार्टीजस्तो ।’

निरंकुशताको पक्षमा नयाँ शक्तिहरू देखिएको र सामाजिक सञ्जालमा विकृतिको पक्षपोषण गर्नेहरू राजनीतिक नेताजस्तो भइरहेको भन्दै प्रचण्डले त्यस्ता व्यक्तिहरूलाई ‘निरंकुशताका दलाल’को संज्ञा दिए ।

धार्मिक अतिवाद र जातीय विभेदबाट सचेत रहनुपर्ने भन्दै उनले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा भएको खुकुरी प्रहारप्रति खेद व्यक्त गरे । व्यवस्था उल्टाउन खोज्नेहरुलाई ईंटको जवाफ पत्थरले दिन उनले आह्वान समेत गरे । ‘उनीहरुको मनोबल कस्तो रहेछ, तपाईं हामी चाहिं बडो रक्षात्मक’ प्रचण्डले भने, ‘त्यस्तो होइन अब । समाजवादी मोर्चाले जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, त्यो ईंटको जवाफ पत्थरले दिने हो । दिनैपर्यो ।’

क्रान्ति सँगसँगै प्रतिक्रान्तिको पनि प्रयास हुने गरेको बताउँदै उनले प्रतिक्रान्तिविरुद्ध लाखौं जनतालाई सडकमा उतार्ने बताए । ‘यी गुण्डा, प्रतिक्रान्तिकारी, दलालहरुलाई हामी जिउँदैछौं भन्ने देखाउन पर्‍यो । अनि मात्र हाम्रो जित हुन्छ ।’