कम्युनिस्ट एकता आजकाे आवश्यकता

गिता पनेरू(मुक्ति बिहानी)
काठमाडौं

आज अप्रिल २२, लेनिन जयन्ती र नेपालमा कम्युनिस्ट पार्टीको स्थापना दिवश। याे महत्त्वपूर्ण दिनमा नेपालका कम्युनिस्ट पार्टीहरुले “म” “म” भनेर साेच्नुपर्ने अवस्था काे सिर्जना भएको छ। वास्तविक कम्युनिस्ट पार्टीकाे चरित्र कस्तो हुनुपर्ने हाे,यसले लिएको सिद्धान्त कुन हाे र अङ्गिकार गर्नुपर्ने बाटाे र पाटाे के हुनुपर्ने हाे ?

नेपालका कम्युनिस्ट भनिने सम्पूर्ण पार्टी र नेतृत्वले बिगतबाट सिक्दै, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनकाे अवस्थालाई पनि मध्यनजर गर्दै बेलैमा बुद्धि पुर्याउनु पर्ने देखिन्छ अन्यथा नेपाली कम्युनिस्ट आन्दोलनकाे अस्तित्व जाेगाउन हम्मेहम्मे पर्ने देखिन्छ

७५ बर्षकाे कम्युनिस्ट आन्दोलनले नेपाली जनतालाई के दियाे ? आफ्ना कार्यकर्तालाई के शिक्षा सिकायाे र अहिलेकाे वर्तमान अवस्थासम्म आईपुग्दा कम्युनिस्टको नाममा भएका टुटफुट र गुटउपगुटले कम्युनिष्ट पार्टी र कम्युनिस्ट आन्दोलनका तमाम उपलब्धि र ईतिहास माथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ । कम्युनिस्टहरुप्रतिकाे जनचाहना र विश्वासमाथि नै तुषारापात हुने खतराकाे स्थिति सिर्जना भएको छ। यस्तो परिवेशमा नेपालका कम्युनिस्ट भनिने सम्पूर्ण पार्टी र नेतृत्वले बिगतबाट सिक्दै, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनकाे अवस्थालाई पनि मध्यनजर गर्दै बेलैमा बुद्धि पुर्याउनु पर्ने देखिन्छ अन्यथा नेपाली कम्युनिस्ट आन्दोलनकाे अस्तित्व जाेगाउन हम्मेहम्मे पर्ने देखिन्छ त्यसका लागि तत्कालै गर्नुपर्ने केही महत्त्वपूर्ण कार्यभारहरुलाई पूरा गर्नुपर्ने हुन्छ, जसकाे नेतृत्व मुख्यतः नेकपा माओवादी केन्द्र ले गर्नुपर्ने देखिन्छ। किनभने अहिलेसम्म काे ईतिहासलाई हेर्दा कम्युनिस्ट आन्दोलन भित्र देखा पर्ने गरेका अतिवादी प्रवृत्ति हरु मध्ये सन्तुलित र मध्यस्तता मा रहेर नेतृत्व गर्न सक्ने नेतृत्वको रुपमा कमरेड प्रचण्ड नै देखिनुहुन्छ।

यदि कमरेड प्रचण्ड सम्बद्ध सम्पूर्ण जनयुद्धकालिन नेतृत्व हरुले हातमा हात र साथमा साथ दिनुहुन्थ्याे र सहकार्यमा सहयात्री बन्नुहुन्थ्याे भने सायद आज याे स्थिति आउदैनथ्याे र जनयुद्धको उपलब्धिलाई सस्लेषण सस्थागत गर्न यति ढिलाइ पनि हुदैनथ्याे हाेला। परिणामस्वरूप नेपालकाे कम्युनिस्ट आन्दोलन काे मुलधार र महत्त्वपूर्ण धारकाे रुपमा अहिले अन्य सबै कम्युनिस्ट नामका पार्टी हरुलाई समेत गाेलबन्द गरिसकेकाे हुन्थ्याे।

अत: नेपाली जनताको कम्युनिस्टप्रतिकाे आकर्षण, चाहना र विश्वासलाई मार्न नदिने र आफ्नो अस्तित्व रक्षा गर्ने हाे भने आज लेनिन जयन्ती र कम्युनिस्ट पार्टी स्थापना दिवशलाई सम्झेर, सम्पुर्ण शहिदहरुलाई साक्षी राख्दै सबै नेतागणले केही आत्मसमिक्षा गर्न जरुरी छ।
१) नेपालमा कम्युनिस्ट पार्टी स्थापना किन आवश्यक थियाे ? के टुक्राटुक्रा मा बिभाजन भएर आ-आफ्नै डम्फु बजाउन हाे त ? यदि त्यसाे हैन भने सके पार्टीगत एकता नभए पनि कार्यगत एकताका लागि तयार हाै।
२) कम्युनिस्ट पार्टीको मुलभुत सिद्धान्त र मुल्यमान्यता के-के हुन्, अध्ययन गराै, पुनरावलाेकन गराै, सैद्धान्तिक त्रुटि भए सच्याउँ, ब्यबहारिक गल्ती भए बाटाे बदलाै।
३) सबैखाले कम्युनिस्ट भनिने पार्टीहरुबिच पनि खुला, सिधा र स्पष्ट भाषामा बैचारिक बहस, अन्तर्किया र छलफल चलाउँ ताकि नेपालमा साच्चै सच्चा कम्युनिस्ट काे हाे त ? जनतालाई भ्रमित नपाराै।
४) कम्युनिस्ट पार्टीको लक्ष्य, उद्देश्य र गन्तव्य कुन हाे, जनवाद, समाजवाद, साम्यवाद या त यहि लाेकतान्त्रिक गणतन्त्रसम्म हाे ? कि अझै लामो यात्रा तय गर्नै छ ? यदि त्यसाे हाे भने कुन बाटोमा कस-कसलाई लिएर अघि बढ्दा त्याे लक्ष्य हासिल गर्न सकिन्छ त ?
५) कम्युनिस्ट पार्टीले सरकार र सत्तालाई हेर्ने दृष्टिकोण के हाे, र यसकाे उपयाेग के का लागि गरिने हाे, सत्तालिप्सा भएर यसैलाई उपयाेग गरिरहने हाे या सत्तालाई जनताका निम्ति लक्ष्य प्राप्तिका लागि सङ्घर्षकाे साधनको रुपमा क्षणिक उपयाेग गरिनुपर्ने हाे ? सत्तामा पुगेका नेताहरुमा स्पष्टता हुनुपर्ने हाे कि हैन ?
६)  नेपाली जनताका छाेराछाेरीले कम्युनिस्ट आन्दोलनमा विभिन्न कालखण्डमा गरेका त्याग, तपस्या र बलिदान के का लागि ? जनयुद्ध र जनआन्दोलनका क्रममा भएका शहिद घाईते र बेपत्ता याेद्दाहरु ले कहिले न्याय पाउने, कहिलेसम्म नेपाली जनताहरुले समाजवादकाे सपना बाेकेर बाँचिरहने?

७) साथ-साथै नेपाल का कम्युनिष्टहरुले सधैंभरि मार्क्स,एन्ङेल्स,लेनिन,स्टालिन र माओहरुलाई स्मरण गरिरहँदा पछिल्लो चरणमा भएका अन्तरार्ष्टिय कम्युनिस्ट आन्दोलन र यसका सफलता र असफलताहरुकाे समेत अध्ययन गर्दै अगाडि बढ्नुपर्ने हाे कि हैन ?

यदि हाे भने यसलाई सस्थागत गर्नका लागि समाजवादी आन्दोलन रक्षात्मक अवस्थामा रहेको विषम र प्रतिकुल परिस्थितिलाई अनुकुलतामा ढाल्नका लागि र भुमण्डलिकृत साम्राज्यवाद बिरुद्धमा नेपालका कम्युनिस्ट पार्टीहरुकाे भुमिकाका बारेमा पनि बृहत् गृहकार्य र सहकार्य गर्नुपर्ने हैन र ? यदि हाे भने सबैभन्दा पहिले एकताको सुत्रमा बाँधिन आवश्यक छ कि !

( लेखक नेकपा माओवादी केन्द्रकी उपत्यका विशेष प्रदेस समिति सदस्य र सफल उद्योग व्यवसायी पनि हुनुहुन्छ)