उपराष्ट्रपति पदकाे निर्वाचन आज, ४ उमेदवार, यादवकाे पक्षमा गठबन्धन
आज उपराष्ट्रपति पदकाे लागि निर्वाचन हुँदैछ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो उपराष्ट्रपति चयनका लागि आज संसदमा निर्वाचन हुन लागेको हाे ।
निर्वाचन अधिकृतको कार्यालयले सम्पूर्ण तयारी पूरा भएको र बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदान हुने जनाएको छ ।
२०७४ साल चैत ४ गते दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनको पदावधि चैत ३ गते शुक्रबार सकिँदै छ ।
उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवार हुनुहुन्छ । नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव उम्मेदवार हुनुहुन्छ ।
जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादव नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदको समर्थन र प्रस्तावमा उम्मेदवार हुनुभएको हो ।
जनमत पार्टीका झालाई भने लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदले समर्थन गरेको हो। जसपाकै अर्का उम्मेदवार प्रमिलाकुमारी उम्मेदवार नरहेको उक्त दलले जनाए पनि निर्वाचन अधिकृतको कार्यालयको समयसीमाभित्र उम्मेदवारी फिर्ता नलिएकोले मतपत्रमा उहाँको नामसमेत राखिएको छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उपराष्ट्रपतिको निर्वाचनका लागि ९८० थान मतपत्र छापिएको जानकारी दिनुभयो। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद्का दुवै सदनका सदस्य र प्रदेश सभाका सदस्य रहने निर्वाचक मण्डलले मतदान गर्ने कानुनी व्यवस्था छ। सो व्यवस्थाबमोजिम ८८२ सदस्य मतदान गर्न योग्य छन्।