सबै तयारी पूरा, ८८१ मतदाता , उम्मेदवारको फोटोसहितको मतपत्र, मतपरिणाम आजै

मूलखबर संवाददाता
काठमाडौं

राष्ट्रपतिका लागि बिहीबार मतदान हुँदै छ । मतदान स्थल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदानको सबै तयारी पूरा भएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो राष्ट्रपति निर्वाचनका लागि  सम्पूर्ण तयारी पूरा भएको बताउँदै बिहीबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने जानकारी आयाेगले दिएको छ । सङ्घीय संसद्को राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य मतदाता रहेको एउटा मतदान केन्द्र र प्रदेश सभा सदस्य मतदाता रहेको अर्को गरी दुईवटा मतदान केन्द्र तोकिएका छन् ।

राष्ट्रपति निर्वाचनमा ८८२ जना मतदाता छन् तर जनता समाजवादी पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सहनाज रहमानको निधन भएपछि कुल मतदाता ८८१ कायम हुने भएको छ ।

सङ्घीय संसद्को राष्ट्रिय सभाका ५९ र प्रतिनिधि सभाका २७३ तथा प्रदेश सभाका ५५० जना गरी ८८२ मतदाता रहेकोमा प्रतिनिधि सभाका अब २७२ सदस्यले मात्रै मतदान गर्न पाउनेछन् ।

प्रतिनिधि सभामा चितवन–२ रिक्त छ । मनाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङ निलम्बनमा परेकाले उहाँको नाम मतदाताको सूचीमा छैन । महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो नेपाल प्रहरीको फरार सूचीमा हुनुहुन्छ ।

दुवै मतदान केन्द्र सम्मेलन केन्द्रको ल्होत्से हलमै राखिएको छ तर मतदान गर्न भने सङ्घीय संसद्का सदस्य हलको मुख्य ढोका पश्चिमबाट प्रवेश गर्नेछन् । प्रदेश सभा सदस्यका लागि भने उत्तरतर्फको ढोका प्रयोग गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारको फोटोसहितको मतपत्र

निर्वाचन आयोगले सार्वजनिक गरेको नमुना मतपत्रअनुसार सङ्घीय संसद्का सदस्यका लागि एक थरीको र प्रदेश सभा सदस्यका लागि अर्को थरीको मतपत्र छापिएका छन् ।

दुवै मतपत्रमा उम्मेदवारको फोटोसहितको नाम उल्लेख गरिएको छ । सङ्घीय संसद्का सदस्यका लागि सेतो पृष्ठभूमिमा रातो अक्षरमा लेखिएको मतपत्र प्रयोग गरिनेछ । प्रदेश सभा सदस्यका लागि सेतो पृष्ठभूमिमा हरियो अक्षरले लेखिएको मतपत्र छापिएको छ ।

मतपत्रको पहिलो क्रममा उम्मेदवार रामचन्द्र पौडेलको र दोस्रो क्रममा उम्मेदवार सुवासचन्द्र नेम्वाङको नाम उल्लेख छ । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको फोटो र नाम उल्लेख गरिएको कोठाभित्र स्वस्तिक चिह्न लगाएर मतदान गरिने जनाएको छ ।

मतभार ५२ हजार ५४९

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम सङ्घीय संसद् र प्रदेश सभाका सदस्य मतदाता रहने निर्वाचकमण्डल हुनेछ । निर्वाचकमण्डलमा सङ्घीय संसद्का सदस्यको मतभार ७९ कायम गरिएको छ । प्रदेश सभा सदस्यको मतभार ४८ छ ।

राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्को दुवै सदनका सदस्यको कुल मतभार २६ हजार १४९ हुनेछ । प्रदेश सभा सदस्यको मतभार २६ हजार चार सय हुनेछ । यसरी कुल मतभार ५२ हजार ५४९ कायम भएको छ । ऐनबमोजिम दुई जना उम्मेदवारमध्ये २६ हजार २७५ वा सोभन्दा बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछन् ।

मतपरिणाम आजै आउने 

निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति पदको मत परिणाम बिहीबार नै आउने जनाएको छ ।