बालाजु बसपार्क क्षेत्रमा दिनभर तनाब : यातायात मजदुर र प्रहरी झडप, सरकारले बाेलायाे वार्तामा
बालाजुस्थित गोङ्गबु नयाँ बसपार्क क्षेत्र सोमबार दिनभर तनावग्रस्त बनेको छ। मजदुर कुटिएको भन्दै सुरु भएको विरोध प्रदर्शन चर्कँदै जाँदा उक्त क्षेत्रमा तनाव भएको हो।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता सिताराम रिजालका अनुसार सुरुमा ट्राफिक नियम मिच्दा हुने गरेको जरिवाना बढी भएको भन्दै विरोध भएको थियो। यातायात व्यवसायीसँग भएको वार्तापछि पनि मजदुरले आन्दोलन गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो।
उहाँले भन्नुभयो, ‘ट्राफिक नियम मिच्दा हुने गरेको जरिवाना बढी भएको भन्दै सुरुमा विरोध भएको थियो। पछि वार्ता भएर आन्दोलन फिर्ता भएको थियो। फेरि मजदुरले आन्दोलन गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो।’
उहाँका अनुसार मजदुरले माइक्रो बस पार्कभित्र लान पाउनुपर्ने माग समेत राख्दै आएका छन्। उहाँले भन्नुभयो, ‘मजदुरले माइक्रोबस पनि बसपार्कभित्र नै लान पाउनुपर्ने माग राख्दै आएका छन्। प्रहरीले भीडलाई नियन्त्रणमा लिने प्रयास गर्दा झडप भएको हो।’
यस्तै मजदुरलाई आक्रमण भएको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले विज्ञप्ति सार्वजनिक गर्दै विरोध जनाएका छन्।फागुन ३ गतेदेखि देशव्यापी रूपमा गरिने आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न गोङ्गबु बसपार्कमा जम्मा भएका मजदुरलाई नयाँ बसपार्कका ठेकेदार कम्पनीका ३० व्यक्तिले आक्रमण गरेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘फागुन ३ गतेदेखि देशव्यापी गरिने आन्दोलका कार्यक्रम सार्वजनिक गर्ने क्रममा नयाँ बसपार्कमा भेला भएका मजदुरलाई ठेकेदार कम्पनी ल्हात्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर, ल्होत्सेकै कर्मचारी पङ्कज मल्ल, हिमाल कुँवर लगायतका अपरिचित करिब ३० जनाको समूहले आक्रमण गरेको छ।’
व्यवसायीले मंगलबार उपत्यकाका सम्पूर्ण सवारी साधन बन्द गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। उपत्यका बाहिरको हकमा भने अर्को निर्णय नभएसम्मका लागि पूर्व निर्धारित कार्यक्रम यथावत् रूपमा सञ्चालन गर्न व्यवसायीले अनुरोध गरेका छन् ।
आन्दोलनकारीहरुले साँझपख माछापोखरी चोकमा रहेको अस्थायी प्रहरी बीट र प्रहरीका दुई वटा भ्यानमा आगजनी गरेका छन् ।
आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा मंगलबार सार्वजनिक यातायात बन्द घोषणा गरेको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा सार्वजनिक यातायात बन्दको आह्वान गरेको हो ।
सरकारले आन्दोलनरत यातायात मजदुर र व्यवसायीलाई वार्तामा बोलाएको छ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजीश्रेष्ठले यातायात मजदुर र व्यवसायी प्रतिनिधिहरूलाई मंगलबार बिहान ८:३० बजे वार्ताका लागि मन्त्रालयमा बोलाएका हुन्।
सरकार मजदुर अधिकार र यातायात व्यवसायीको हितका पक्षमा रहेको तथा मजदुर र व्यवसायी संगठनहरूले दिएको सुझाव समेतको आधारमा यातायात क्षेत्रको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल नै बनाइसकेको मन्त्री श्रेष्ठले बताए।
यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सि गौतमको संयोजकत्वमा यातायात व्यावसायी र यातायात मजदुर सम्मिलित कार्यदल आइतबार नै गठन भएको र कार्यदलले आफ्नो काम अगाडि बढाइसकेकोसमेत उनले जानकारी दिए।