सामुदायिक विद्यालय र गुणस्तरीय शिक्षाको सवाल
सामुदायिक विद्यालय शिक्षाको गुणस्तरमाथि भएका बहसहरू तारिफयोग्य छन् । सिकाइ, शिक्षण पद्धति र प्रणालीको सुधार हुनुपर्छ भन्नु परिवर्तनको संकेत हो, जसले परम्परागत शिक्षा र शैक्षिक प्रणालीलाई नकारेको छ । विद्यालय व्यवस्थापन विकेन्द्रित र स्वायत्त भएकाले सामुदायिक विद्यालयको शिक्षण सिकाइ पनि बदलिएको छ । गुणस्तरीय शिक्षाको मूल मर्म व्यक्तिको क्षमता अभिवृद्धि गर्नु भए पनि गुणस्तरीय शिक्षाबारेको बुझाइ सैद्धान्तिक र व्यावहारिक हिसाबमा अपुरो छ ।
शिक्षा र गुणस्तरबारे सबैमा एउटै बुझाइ नहुन सक्छ । भूगोलको बनोट, जातजाति र सांस्कृतिक विशेषताका कारण समाज र परिवेश हेरी अर्थ र महत्त्व फरक हुन्छन् । गुणस्तरीय सिकाइको व्यावहारिक उपयोगिता र प्रयोगबारे धेरै चर्चा भएको छैन । युनिसेफले विद्यालयमा हुने सहज सिकाइलाई गुणस्तरीय शिक्षा मानेको छ । विद्यार्थीकेन्द्रित शिक्षण र मूल्यांकन विधिलाई प्राथमिकता दिइएको भए पनि विद्यार्थीको क्षमता अभिवृद्धि गर्नपट्टि ध्यान पुगेको देखिन्न । नेपालजस्तो शिक्षालाई ‘भर्ना र परीक्षा’ मात्रै मान्ने समाजका लागि यस्ता परिभाषा अपर्याप्त छन् ।
संयुक्त राष्ट्रसंघ र युनिसेफको अवधारणा लगभग उस्तै छ । संयुक्त राष्ट्रसंघले गुणस्तरीय शिक्षालाई समावेशी र दिगो विकासको बृहत् राष्ट्रिय लक्ष्यसँग जोडेको छ । असमानता र गरिबी अन्त्य गर्न चाहिने ज्ञान, सीप तथा मनोवृत्ति विकास गर्ने शिक्षा नै गुणस्तरीय शिक्षा हो । तथापि राष्ट्रसंघले पनि सीप तथा ज्ञानको विशिष्ट सामाजिक परिवेश र आवश्यकतालाई समेटेको छैन । यसले व्यक्तिले आफूले चाहेको जीवन बाँच्न सघाउने परिवेशसुहाउँदो सिकाइको कुरा गर्दैन । व्यावहारिक जीवनशैली र अनुभूतिले महत्त्व नपाउने यस्तो अवधारणाले डाक्टर वा प्लम्बर के बन्ने भनी जीवनको विकल्प रोज्ने स्वतन्त्रता दिँदैन ।
गुणस्तरीय शिक्षाको मुद्दा सामुदायिक विद्यालयको मात्रै होइन, स्थानीय राजनीतिक दल र सरकारले पनि बोकेको छ । चुनावी घोषणापत्रदेखि नीति तथा कार्यक्रममा शिक्षाको गुणस्तर सुधार्नेबारे उल्लेख भएका छन् । शिक्षाको गुणस्तर खस्केको स्वीकार गरिए पनि विद्यार्थी, अभिभावक र शिक्षकले गुणस्तरीय शिक्षालाई फरक रूपमा बुझेका छैनन् । विद्यार्थीहरू परीक्षामा धेरै अंक ल्याउनुलाई गुणस्तरीय शिक्षा ठान्छन् । शिक्षकहरू विद्यार्थीको संख्या बढ्नुलाई शिक्षाको गुणस्तर उकालिनु मान्छन् । अभिभावकले त ‘जागिर खाने’ साधनबाहेक अर्को सोचेका छैनन् । स्थानीय सरोकारवालालाई विद्यालय शिक्षाले विद्यार्थीको निजी र सामाजिक जीवनमा कस्तो प्रभाव पार्नुपर्छ भन्ने थाहा छैन ।
गुणस्तरीय सामुदायिक विद्यालय शिक्षाबारे भएका सामान्य बहसहरू अहिले पनि शिक्षककेन्द्रित छन् । शिक्षक नै ज्ञानको सम्पूर्ण स्रोत हो भन्ने मान्यतामा शिक्षाको गुणस्तर अडिएको छ । भौगोलिक विकटता, अभिभावकको आर्थिक क्षमता र उन्नत शैक्षिक सामग्रीलाई सिकाइ र गुणस्तरसँग जोडिएको देखिन्न । राज्यले दिने पाठ्यपुस्तक र शिक्षकमा निर्भर यस्ता सिकाइलाई नै सामुदायिक विद्यालयहरूले गुणस्तरीय शिक्षा मानेका छन् ।
कसरी ?
क्षमता बढाउने विद्यार्थीकेन्द्रित सिकाइ नै गुणस्तरीय शिक्षा हो । आफ्नो समाज र परिवेशमाथि प्रश्न गर्न र जवाफ खोज्न सक्ने विद्यार्थी तयार हुनु सबल शिक्षाका परिणाम हुन् । तर सामुदायिक विद्यालयले विद्यार्थीको व्यक्तिगत क्षमता अभिवृद्धिसँग नजोडिएका भौतिक अवस्थाको सुधारलाई गुणस्तरीय शिक्षा भनिरहेको छ ।
भाषाको भ्रम : सामुदायिक विद्यालयहरूले शिक्षाको गुणस्तर सुधार्न भन्दै अंग्रेजी भाषालाई सिकाइको मुख्य माध्यम बनाएका छन् । ऐच्छिक भए पनि विगत पाँच वर्षमा करिब ५७ प्रतिशत विद्यालयले अंग्रेजी भाषामा पठनपाठन सुरु पनि गरिसकेका छन् । खासमा यो स्थानीय निजी विद्यालयसँग प्रतिस्पर्धा गर्ने औजार मात्र बनेको देखिन्छ । शिक्षक, अभिभावक र स्थानीय राजनीतिक नेतासित अंग्रेजी भाषाले कसरी सिकाइको स्तर सुधार्छ भन्ने प्रश्नको ठोस जवाफ छैन । परीक्षामुखी पढाइलाई स्थानीय र विश्व परिवेशसँग जोड्ने योजना र रणनीतिबारे बहस भएको छैन । यसका लागि चाहिने जनशक्ति, खास गरी शिक्षक र शैक्षिक पूर्वाधार तयार गर्नेबारे सोचिएको देखिन्न ।
भर्नाको भर : विद्यार्थीको संख्यासँग शिक्षण सिकाइको कुनै सम्बन्ध छैन । शिक्षकले सिकाउने र विद्यार्थीले सिक्ने कुरा व्यक्तिको समाज र स्थानीय परिवेशसँग गाँसिएको हुन्छ । सामुदायिक विद्यालयहरूले पनि धेरै विद्यार्थी भर्ना हुनुलाई गुणस्तरीय शिक्षा भनेका छन् । गत पाँच वर्षमा संखुवासभा, धादिङ र लमजुङका सामुदायिक विद्यालयमा विद्यार्थीको भर्नादर ८४ प्रतिशतदेखि ३११ प्रतिशतसम्म बढेको छ । तर अभिभावकहरू भने राज्यले दिने छात्रवृत्ति र रोजगारीको आरक्षणबाट वञ्चित नहोऊन् भन्ने मनसायले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाएको बताउँछन् । राज्यको शैक्षिक नीतिमा परिवर्तनका कारण विद्यार्थीको भर्नामा पारेको प्रभावमाथि ध्यान गएको छैन ।
भवनको भाष्य : उल्लेख्य असर नगरे पनि सुविधासम्पन्न भौतिक पूर्वाधारले विद्यार्थीको सिकाइ सहज बनाउँछ । समय र समाजसुहाउँदो पाठ्यक्रम, पाठ्यक्रम अनुसार पढाउन सक्ने शिक्षक र विश्व–स्थानीय परिवेशसित जोडिएका शैक्षिक क्रियाकलाप सबल सिकाइका आधार हुन् । तर सामुदायिक विद्यालयको प्राथमिकतामा विद्यार्थीले सिकाइमा सहयोगी महसुस नगरेका भवन, खेलमैदान, पुस्तकालय र प्रयोगशाला निर्माण पर्ने गरेका छन् । पुस्तकालय भरिभराउ भए पनि पाठ्यक्रम र अतिरिक्त सिकाइ सम्बन्धी पुस्तक कम छन् । दक्ष प्रशिक्षक र आवश्यक पूर्वाधारबिनाका शैक्षिक प्रयोगशाला विद्यार्थीको क्षमता अभिवृद्धि गर्नमा प्रभावकारी देखिएका छैनन् ।
अलमलको सिकाइ : विद्यार्थीलाई क्षमतावान् बनाउन विश्वज्ञानको जति महत्त्व छ, विद्यार्थीले विश्वज्ञानलाई स्थानीयतासित जोड्न सक्नु उत्तिकै जरुरी हुन्छ । यसले विद्यार्थीलाई समस्या र अवसरलाई खुट्याउन सक्ने बनाउँछ । स्थानीय सरकारले विद्यालयका पाठ्यक्रमहरू बनाएका छन् । तर स्थानीय स्रोत र साधनका भरमा बनेका पाठ्यक्रम राष्ट्रिय स्वार्थ र अन्तर्राष्ट्रिय परिस्थितिसित जोडिएका छैनन् । टपरी गाँस्न सिकाउनु भावनात्मक पक्षबाट सही भए पनि ‘स्थानीयवाद’ बाट प्रभावित यस्तो सिकाइले विद्यार्थीलाई विश्वपरिवेशमा कसरी प्रतिस्पर्धी बनाउँछ भन्ने सोचिएको छैन ।
वर्गीकृत शिक्षण सिकाइ : धेरैजसो सामुदायिक विद्यालयले दुई खाले पढाइ सञ्चालन गरिरहेका छन् । संख्या फरक भए पनि अंग्रेजी र नेपालीमा अध्ययन गर्ने फरक विद्यार्थी समूह छन् । अंग्रेजी भाषालाई गुणस्तरीय शिक्षाको अभिन्न अंग बनाइएको छ । तर नेपालीमा पढिरहेका विद्यार्थीले गुणस्तरीय सिकाइ गरे–नगरेको जान्ने कुनै मानक छैन । भाषाका दृष्टिमा, एउटै विद्यालय पढ्ने विद्यार्थीहरूका फरकफरक शैक्षिक वर्ग जन्मिरहेका छन् । सिकाइका हिसाबले विद्यार्थीले व्यक्तिगत क्षमता कति वृद्धि गर्यो, जान्ने आधार छैन । आवश्यक शैक्षिक पूर्वाधारबिना प्रयोग भएको भाषाले शिक्षाको गुणस्तर कसरी उकास्छ, भन्न सकिन्न ।
बचतमुखी अभ्यास ः सामान्यतः सामुदायिक विद्यालय पढ्न विद्यार्थीले शुल्क तिर्नुपर्दैन । राज्यले दिने विभिन्न अनुदानले शैक्षिक क्रियाकलाप चलेका छन् । तर धेरै विद्यालयसँग पर्याप्त शिक्षक दरबन्दी छैन । शिक्षकलाई तलबभत्ता दिन भर्नामार्फत अभिभावकसँग पैसा उठाइएको छ । यसरी उठेको रकमको ठूलो हिस्सा तिनले बचत गर्ने गरेका छन् । उदाहरणका लागि, गत पाँच वर्षमा संखुवासभाको कटुस (परिवर्तित नाम) उच्च माध्यमिक विद्यालयले मात्र १ करोड ४३ लाख, लमजुङको काफल उच्च माध्यमिक विद्यालयले ८२ लाख र धादिङको खोला माध्यमिक विद्यालयले ३१ लाख बचत गरिसकेका छन् । तर शिक्षक र स्थानीय राजनीतिज्ञले यसलाई गुणस्तरीय शिक्षा दिँदाको प्रतिफल मानेका छन् ।
सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको कुरा गर्दा, एकीकृत पाठ्यक्रमको सबैभन्दा महत्त्वपूर्ण हुन्छ । स्थानीय आवश्यकता, राष्ट्रिय स्वार्थ र अन्तर्राष्ट्रिय परिवेशलाई संयोजन गरिएको पाठ्यक्रमले विद्यार्थीको सिकाइलाई क्षमतामुखी बनाउँछ । तर सामुदायिक विद्यालयमा अध्यापन भइरहेका सामाजिक शिक्षा, अंग्रेजी र नेपालीजस्ता धेरै विषय जानकारीमूलक मात्रै छन्; विद्यार्थीलाई प्रश्न गर्न सक्ने आँट र सीप दुवै दिँदैन ।
पाठ्यक्रम बुझेर पढाउने शिक्षक सबल सिकाइको मूल आधार हो, जसले देश, दुनियाँ र आफ्नो समाजलाई कसरी जोड्ने भन्ने सिकाउँछ; नयाँ प्रश्न गर्न र त्यसको उत्तर खोज्न उत्प्रेरित गर्छ । तर अधिकांश सामुदायिक विद्यालयका शिक्षकले शिक्षण पेसालाई बाध्यता बनाएका छन् । समय र समाजलाई पाठ्यक्रमसँग जोडेर पढाउनपट्टि उत्प्रेरित गर्न ‘चक्रीय शिक्षण मूल्यांकन विधि’ लाई प्रयोग ल्याउन सके शिक्षाको गुणस्तर सुधार्न सहयोग हुन्छ ।
विद्यालयमा सिकेका कुरालाई क्षमतामा बदल्नु नै गुणस्तरीय शिक्षा हासिल गर्नु हो । परीक्षा वा अतिरिक्त गतिविधिले मात्रै यसलाई निखार्न सक्दैन । यसका लागि व्यावहारिक अभ्यासको खाँचो हुन्छ । स्थानीय तहमा भएका सामाजिक संघसंस्था, उद्योग तथा व्यापारिक प्रतिष्ठान र कृषि फर्मलाई विद्यार्थीको सिकाइ–हिस्सा बनाउन सके सिकाइ क्षमतामा बदलिन सक्छ ।
कतिपय सामुदायिक विद्यालयमा प्रतिस्पर्धी शिक्षकको व्यवस्था छैन । राजनीतिक प्रभावमा भर्ती भएका धेरै शिक्षक शिक्षाको गुणस्तर सुधार्न अयोग्य छन् । यसले विद्यालयमा आलोचनात्मक सिकाइ हुन दिएको छैन । यी शिक्षकलाई तलब खुवाउन अभिभावकसित उठाइएको भर्ना शुल्कका कारण गरिब विद्यार्थीको शैक्षिक पहुँच खुम्चने जोखिम बढेको छ । सामुदायिक विद्यालयमा तलबभत्ताका लागि उठेको रकमलाई बचत गर्ने अस्वाभाविक आर्थिक महत्त्वाकांक्षा पलाएको छ ।
शिक्षाको गुणस्तर उकास्न कुनै खास भाषाको प्रयोगभन्दा पनि उक्त भाषामा लिखित–प्रकाशित सामग्री महत्त्वपूर्ण हुन्छन् । भाषाको प्रयोगले मात्रै सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउँछ भन्न सकिन्न । यसका लागि विद्यार्थीलाई अध्ययनशील बन्न सघाउने शैक्षिक सामग्री र वातारणको खाँचो हुन्छ । (कान्तिपुुुरबाट साभार गरिएको )