राष्ट्रपतिद्वारा प्रधानमन्त्रीका लागि दावी पेश गर्न ७ दिने म्याद, हाेला त सहमति ?

मूलखबर संवाददाता
काठमाडौं, ३ पुस

निर्वाचन आयाेगले समानुपातिकतर्फका विजयी उमेदवारहरूलाई प्रमाणपत्र प्रदान गरेर निर्वाचन प्रक्रिया सम्पन्न भएको घाेषणा गरेकै दिन  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेकी छन् । उनले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको लागि प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी हुन् । निर्वाचित सदस्यहरूकाे सपथ ग्रहण नहुँदै राष्ट्रपतिले सरकार गठन गर्न आव्हान गरेपछि राजनीतिक क्षेत्रमा  नयाँ तरंग उत्पन्न भएको छ ।

संविधानको धारा-७६ को उपधारा-१ अनुसार कुनै दलको बहुमत नपुगेपछि राष्ट्रपति भण्डारीले उपधारा-२ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आव्हान गरेकी हुन् । त्यसकालागि पुस १० गते साँझ ५ बजेसम्मको म्याद दिइएको छ ।

संविधानकाे धारा-७६ को उपधारा-२ मा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने उल्लेख छ ।  तर दलहरूले सांसदकाे सपथग्रहण पश्चात् मात्रै संसदिय दलकाे नेता चयन गर्ने र प्रधानमन्त्रीकाे उमेदवार चयन गर्ने बताएका छन् ।