समानुपातिक क्लष्टरमा कुन दलका कति ? ७६ जना महिला सांसद बन्दै

मूलखबर संवाददाता
काठमाडौं, २१ मंसिर

निर्वाचन आयोगले मतगणनाकाे अन्तिम परिणाम सार्वजनिक गर्नु अघि  प्रतिनिधिसभातर्फ विभिन्न क्लस्टरहरुमा राजनीतिक दलले प्रतिनिधित्व गराउनु पर्ने संख्या निर्धारण गरेको छ । जस अनुसार एमालेले ३४ सांसदमध्ये आदिवासी जनजातितर्फ १०, खसआर्यमा ११, थारुमा २, दलित ५, मधेसी ५, मुस्लिममा १ र पिछडिएको क्षेत्रमा १ जना प्रतिनिधित्व गराउनुपर्ने छ ।

नेपाली कांग्रेसले ३२ सीटमध्ये आदिवासी जनजातीतर्फ ९, खस आर्यतर्फ १०, थारुमा २, दलित ५, मधेसी ५, मुस्लिम १ र पिछडिएको क्षेत्रमा १ जना प्रतिनिधित्व गराउनुपर्ने छ ।

त्यसैगरी, नेकपा माओवादी केन्द्रले प्राप्त गरेको १४ स्थानमा जनजाती आदिवासी ४, खसआर्य ४, थारु १, दलित २, मधेस २, मुस्लिम १ र पिछडिएको क्षेत्रको १ रहेको छ । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको १३ स्थानमा आदिवासी जनजातीतर्फ ३, खसआर्यमा ४, थारु १, दलित २, मधेसी २, मुस्लिम १ र पिछडिएको क्षेत्रमा १ जना रहेको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी प्राप्त गरेको ७ जनामध्ये आदिवासी जनजातीतर्फ न्युनतम २ र अधिकतम ३, खास आर्यमा न्यूनतम २ र अधिकतम ३, थारुमा बढीमा १, मधेसीमा न्युनतम १ देखि बढीमा २, मुस्लिममा बढीमा १ रहेको छ ।

समानुपातिकमा ७६ महिला चाहिने – निर्वाचन आयाेगले दलहरूले समानुपातिकबाट कुल सिटमध्ये ३३ प्रतिशत महिला हुनुपर्ने प्रावधान बमोजिम समानुपातिकबाट ७६ जना महिला पुर्ती गर्न पत्राचार गरेकाे छ । जस अनुसार  ३४ स्थान हासिल गरेको नेकपा एमालेले कम्तीमा १९ जना महिला निर्वाचित गर्नुपर्नेछ ।

त्यसैगरी नेपाली कांग्रेसले २९, नेकपा माओवादी केन्द्रले १२, राष्ट्रिय स्वतन्त्र पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५, जनता समाजवादी पार्टीले ४ र जनमत पार्टीले २ महिलालाई समानुपातिकतर्फ प्रतिनिधित्व गराउनु पर्छ ।

एमालेको प्रत्यक्षमा ४४ स्थानमा जित हासिल गरेको र समानुपातिकतर्फ ३४ जनालाई निर्वाचित भएका छन् । त्यसैगरी एमालेको राष्ट्रिय सभामा १६ सांसद रहेका छन् । एमालेको संघीय संसद ९४ सदस्य रहेको छ । जसको आधारमा कम्तीमा ३२ जना महिला हुन आवश्यक छ । एमालेको राष्ट्रिय सभामा ९ जना महिला सांसद छन् । त्यसैगरी प्रत्यक्षमा निर्वाचित ४४ जनामध्ये ४ जना महिला रहेका छन्