निर्वाचनपछि पहिलोपटक गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेन्डा
निर्वाचनको परिणाम अपेक्षित आउन नसकेपछि गठबन्धनको भविष्यबारे विभिन्न काेणबाट अडकलबाजी आइरहेका बेला सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आएलगत्तै सोमबार सत्ता गठबन्धनको बैठक बस्न लागेको हाे । हालसम्म प्रत्यक्षतर्फ १ सय ६५ मध्ये १ सय ६४ क्षेत्रको मतपरिणाम आइसकेको छ भने समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयाेगले जनाएको छ । आज बस्ने बैठकमा चुनावी परिणामको समीक्षा र भावी सरकार गठनका विषयमा छलफल हुने बताइएको छ ।
सोमबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी गठबन्धन दलको बैठक बोलाइएकाे प्रधानमन्त्री शेरबहादुर देउवाकाे सचिवालयले जनाएको छ ।
बैठकमा चुनावको परिणामको समीक्षा र आगामी सरकार निर्माण लगायत विषयमा छलफल हुने नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए । उनले गठबन्धनको अर्को विकल्पबारे माओवादी बैठकमा कुनै छलफल नभएको पनि बताएका छन् । तस्बिर : फाइल फाेटाे