सराेकारहिन बन्दै मानवीय दायित्व
अमेरिकी प्रो. नोमचोम्स्कीलाई नोबेल विजेता जापानका साहित्यकार केन्जारुवा बुले एक पटक सोधेछन् मान्यवर चोम्स्की, तपाईंजस्तो विद्वान्ले साहित्यमा हस्तक्षेप गरेका भए कति सुन्दर र भव्य हुन्थ्यो होला ! चोम्स्कीः आज शक्तिशाली तप्काले विश्वव्यापी रूपमा जसरी दमन गर्दैछन् त्यसलाई नङ्ग्याउनु र तर्कशक्तिको प्रतिरोधी हतियार उत्पादन गर्नु साहित्यभन्दा अहिले महìवपूर्ण काम हो । दीर्घकालीन रूपमा साहित्यले एउटा सशक्त मानव त तयार गर्छ तर तत्कालिक प्रतिरोधीचेत बनाउन भने सक्दैनन् ।’
इतिहासको वेगमय समयमा जन्मेको हाम्रो पुस्ता अत्यन्तै शौभाग्यशाली रह्यो । यस आठ दशकमा इतिहासका पाना युगौँ फेर्ने तरिकाले पल्टिए । सरकार मात्र हैन सत्ता नै फेरिए । इतिहास कहिलेकहीँ हजारौँ वर्ष एकै पानामा समेटिन्छ भने कहिलेकहीँ एकै दिनका घटना धेरै ग्रन्थ बन्छन् ।
लेखक त्यस पुस्ताको मान्छे हो जो संसारलाई फेर्न सकिन्छ र पहल लिनुपर्छ भन्ने मान्यताले मूल्य तिर्न तम्सेर आन्दोलन पछ्याउँदै सक्रिय भयोे । वर्ग सङ्घर्ष, भावना, मानवीय आदर्शले हाँकिएको थियो । यथास्थितिमा बस्न, रम्न चाहँदैनथ्यो । सपनालाई फेर्ने ज्यावल त सङ्गठन र विँड समात्ने त नेता हुन्थे । सपनीका सारथी बन्दै आदर्शलाई व्यवहारमा फेर्न अगुवाइ गरिरहने संस्था मालिक नभई अगुवा सगोत्री नेतृत्व हुन्छ ।
सोच्नुपर्ने भएको छ–कस्तो देश र भविष्य सन्तानलाई सुम्पिएर जाँदैछौ हँ । चौतर्फी अन्याय र अपराध देख्दा आफ्नै मौनताको विरूद्ध जान नसक्ने आफैँभित्रको अपराधी त बनाउँदै छैनौँ ? आफ्नै निर्वाचित प्रतिनिधिले देशलाई उपनिवेश र रणक्षेत्र बनाउने दस्तावेजमा हस्ताक्षर गर्दा टुलुटुलु हेरेर समर्थन गरेर बस्ने उफ् ! एउटा बुर्जुवाले समेत नगर्ने कृत्य कम्युनिस्टले गर्दा पनि हृदय चसक्क दुख्दैन ! के त्यस्तो अदृश्य आतङ्कले मलाई मौन बनायो ? उफ्, न प्रेम गर्न सकिँ, न मैले घृणाको चिच्याहट नै गर्न सके ।
मौन बस्न सक्नु सफलताको अहिले समाजको मुलमन्त्र बनेको छ । यदि तपाईंसंँग चुपरहेर, कसैलाई नचिढ्याउने कला र क्षमता छ भने त तपाईंको अत्यन्तै छिटोछिटो उन्नति हुनेछ । अझ बुद्धिजीवीको लागि त यथास्थिति स्वीकार्नु नै सफलताको मुहानै बन्छ । यदी तपाईं कुनै आन्दोलनबाट आउनु भएको छ भने त्यागको क्यास गर्नुस् भलै तपाईंको आदर्श र सपनाको ज्वालामुखी कुनै दिन किन विस्फोट नभएको होस् ।
उग्रसम्राज्यवादले वर्लिन पर्खाल ढल्दै गर्दा सिद्धान्त, विचार, इतिहासको अन्त्य भनिरहँदा आर्दशको सिद्धान्त अँगाल्दै हाम्रो पुस्ता भने आफ्ना लागि आफैँले कात्रो बोकेर रणमैदानमा हाम फालेको थियो । त्यो कसैको विज्ञापन, आदेश र आतङ्कमा थिएन । समाजवाद र पुँजीवादका सुन्दर पक्ष समेटेर अति सुन्दर बनाउँछु भन्ने कल्पना गर्नु भनेको या त उ केही पनि जान्दैन, या अरूलाई मुर्ख बनाएर आफ्नो औचित्य साबित गर्दैछ, बुझे हुन्छ । समाजवाद र पुँजीवादको मिलन आगो र पानीको मिलनजस्तै हो । आगो या त अँगार बन्न तयार हुनुपर्छ या पानी वाफ बनेर हावामा विलिन हुन तयार हुनु । नत्र प्रजातान्त्रिक समाजवाद भन्दै समाजवादी व्याख्यामा निजीकरण, उदारीकरण र वैश्विकरणको जगमा समाजवादी सपना देखेझँै हुन्छ ।
हरेक सपनाका विचार, सिद्धान्त र त्यसअनुसार सङ्गठन भएर राजजीतिक र सङ्गठनात्मक संस्कृति बन्छ । त्यो नैतिक शक्ति बन्दै विश्वास र आवेग बनेर भौतिक शक्तिमा फेरिन्छ । सिद्धान्त र आदर्शले अगुवाइ गरिन्जेल माओवादी शब्द आफैँमा सत्ता बन्यो, दुश्मनलाई आतङ्क । जब उपभोक्तावाद सिद्धान्त, आदर्श र अभियानमा हावी हुँदै अर्थ–राजनीतिको दबदबा बढ्न थाल्यो तब स्वयंलाई आदर्श सपना र बोझ बन्न थाले । शब्दले शक्ति गुमाएपछि ऊर्जायुक्त शब्द पनि कालान्तरमा टे«डमार्कमा फेरिन्छन् । शान्ति प्रक्रिया माओवादीलाई क्रमशः उपभोक्तावादी मलिलो भूमि र आदर्शको चिहान बन्दै गयो । सपनाहरू क्रमशः भत्कान सुरु भएर अनेकौँ प्रश्न उठे । धरहराहरू ढल्दै जाँदा आलोचनात्मक चेत हराउँदै गए ।
उपभोक्तावादले अगस्ति भोक जगाइदिन्छ । कृतिम आवश्यकता पूरा गर्न थाल्दा जीवन नै रित्तिएको मान्छेले पत्तै पाउँदैन । भोक अनुशासित बनाउने उत्तम साधन हो । न्यूनतम भरणपोषण भत्ता राज्यले उपलब्ध गराएपछि साम्राज्यवादी देशका सामान्यजन लुटको अंशमा भागीदारी बन्दै अन्यायमा सामेल हुन्छन् भने गरिब देशका आदर्शवादीसमेत आफ्नै मलामी जानु पछाडि भोक पहिलो कारण हो ।
विवेकलाई भोकले कुत्ता डो¥याएझै डो¥याउँछ । भोको पेटलाई जता पनि सहजै घिच्याउन सकिन्छ भनेर भोकै राखिन्छ । किस्ताबन्दीमा सुविधाको खोजी र किस्ता तिर्दातिर्दै रित्तिएका जिन्दगी हेरौँ…. जसले सांसारिक विषयमा कहिल्यै सोच्नै सक्दैन । यस्ता जिन्दगी नियाल्न महिनाको अन्तमा हुने सडक दुर्घटना, मदिरा बिक्रीमा बढोत्तरी र आत्महत्या आँकडा नियाल्नु पर्छ ।
उपभोक्तावादी सिद्धान्त जहिले पनि अन्तरनिहित तृष्णा र वास्ना जगाइदिएर मानवीय दायित्वलाई सामाजिक सरोकारहीन बनाइदिँदा राजनीतिको चालक शक्ति पनि सिद्धान्त नभई सुविधाको सिद्धान्त बनेर मान्छे किस्ताबन्दीमा लतारिन्छ । युद्ध र शान्तिका विश्व–अभियान अर्थ–राजनीतिले चल्दा सुविधाअनुसार तर्क कोरल्न छुट भइदिन्छ । तब शक्ति आदर्शमाथि रजाइँ गर्दै प्रतिकूलताका आदर्श, सपना, प्रतिबद्धता र सामूहिक अभियान थेग्न नसकेपछि विचारमा उपभोक्तावाद हावी हुन्छ । मानव रित्तिँदै मान्छेमा फेरिन्छन् । समूह सोचबाट टाढिएर सानु झुण्डमा रमाउन पुग्छ । पार्टीमा गुट जन्मन्छन् । त्यसैले तीसको दशकमै एण्टिनियो ग्राम्स्कीले भनेः बुर्जुवा प्रजातन्त्रमा पुँजी हाम्रो सामूहिक विवेकमाथि रजाइँ गरिरहेको हुन्छ’ । बजार सधैँ थिए, किनबेच सदा हुन्थे ।
विनिमयका साधन र तरिका समाज विकासका चरणसंँगै सत्ता चरित्रअनुसार हुन्थे । सामन्तवादवाट औद्योगिक क्रान्ति र पँुजीवादले पुराना सत्तामा विजय हासिल गर्दा पनि राज्यको नियन्त्रणमा बजार हुन्थ्यो । राज्यको नियन्त्रण, नियमन र निर्देशनमा बजार चल्थ्यो । बजारमा न्यूनतम मानवीयता हुन अनिवार्य हुन्थ्यो । ९० को दशकमा भूमण्डलीकरण र उदारीकरणको संरचनागत समायोजनवाला आर्थिक नीति लागू भएपछि बजारमा नयाँ–नयाँ उपभोक्ता सामग्रीको एक्कासि प्रवेश भयो । नयाँ मध्यमवर्गबीचमा उपभोक्तावाद पाउ पसारेर वैकल्पिक व्यवस्थाको सपना देख्नेहरूका सामने आश्र्चयजनक परिस्थिति बन्यो । वामपन्थीहरू साधनहरूको वास्तविक बुझाइको कमजोरी र भावनात्मक पक्षधारिता फेरिएर जसको विरुद्ध सक्रिय भएका थिए त्यसकै पक्षधर भएको पत्तै पाएनन् ।
वास्तवमा बजार पुँजीवादको जुम्ल्याहा भाइ हो । बजार सामाजिक क्रियालापमा सहयोगी भूमिकाबाट बढेर यस्तो सत्तामा फेरिन्छ । जो सम्पूर्ण आर्थिक प्रणालीको नियन्त्रण, नियमन र निर्देशन गर्न थाल्छ । फाइदा एउटा मात्रै उद्देश्य बन्न पुगेर बजारमाथि समाजको नियन्त्रण क्रमशः सकिँदै जान्छ । स्वचालित र स्वनियमित बन्छ । आवश्यकता पूरा गर्न उत्पादन नभई बजारमा बेचिनका लागि माल आउँछन् जसको घोषित उद्देश्य नै नाफा कमाउनु हुन्छ । यहाँसम्म कि श्रम, भूमि र पैसा पनि फाइदाको उद्देश्यले वस्तुको रूपमा फेरिन्छ । पुँजी र प्रविधिको घालमेलले तब कर्पाेरेट राजनीति बन्छ । नेताहरू त्यही कर्पाेरेटका सेयर होल्डर बन्न पुग्छन् । बजार जहिले पनि हृदयहीन र मस्तिक चालित हुन्छ । कर्पाेरेट सिद्धान्तमा आफ्ना हरेक कारिन्दालाई प्रतिष्ठान आउनुपूर्व विवेक घरमै थन्क्याएर आउने आदेश दिइन्छ । जहिले पनि पुँजी प्रविधिको माध्यम विवेकमाथि हैकम जमाउँछ । त्यसैले विवेकशील मनुवाहरू पनि पँुजीका तर्क कोरल्ने कारिन्दामा फेरिएर आन्दोलनका विपक्षमा उभिन्छन् ।
आधुनिक कालले धर्म र सामन्तको मिलिभगतमा चलेको सत्तालाई सिद्धान्तको राजनीतिले चुनौती दियो । लोककल्याणकारी राज्य बन्दै गए । दया, आदर्श, दायित्व मानवतावादजस्ता कारुणिक शब्दले सत्ता नेतृत्वमा भूमिका खेले । समानता, भातृत्व, विज्ञानपरक चेत, विश्वासका तर्कपूर्ण यथार्थले सामाजिक नेतृत्व गर्न थाल्यो । त्यसै अनुकूल राजनीतिका सिद्धान्त विकास हुँदै गए । ज्ञानका विभिन्न शाखा विकास हुँदै गयो । पुँजीवादले प्रगतिशील चरित्र गुमाउँदै गएपछि मानवतावादी समाजवादी चेत र सक्रियाता आन्दोलन बने । तब धर्म, सामन्तवाद र पँुजीवादको लगनगाँठो कसिँदै सम्राज्यवाद र उपभोक्तवादमा फेरिँदै गयो ।
के अब सबै सकियो, भत्कियो ? सर्वनाश भयो ? सपना तुहिए ? आदर्श र भावना दायित्व बन्न सक्दैन त ? केही पनि गर्न सकिँदैन त भन्ने प्रश्न उभिन्छन् । त्यस्तो बेला महान् ग्रिक फिल्मकार थियो एंजोलोपाँलस सम्झन पुग्छु – यदी कुनै लेखक÷कलाकार वर्तमानलाई बुझ्ने माथापच्ची गर्न चाहन्छ भने उसले विगतको अन्वेषण गर्नु र त्यहाँ कुनै न कुनै परिघटनाका कारण खोज्नु अपरिहार्य हुन्छ’ म न त आशावादी हुँ न निराशावादी नै । आशावादी हुनुको अर्थ हुन्छ तथ्यलाई साफ–साफ नदेख्नु । केही–केही अर्थ यस्तो पनि लाग्न सक्छ कि मान्छेले संसारको सार्थक परिवर्तनलाई हस्तक्षेप गर्न सक्दैन । निराशावादी हुनुको अर्थ उन्नत संसारको सपनाहरूका सम्भावना छोडिदिनु, बिर्सिदिनु । दुवैले सङ्कल्पमा गतिरोध आउँछ । व्यक्तिगत रूपमा म तर्कपूर्ण सोच्ने र साफ–साफ देख्ने कोसिस गर्र्छुु ।’
वैश्विक दृष्टिले नियाल्दा हामी भूसंवेदनशील अवस्थामा रहेको सानो देश, अर्थतन्त्र र अत्यन्तै सानो बजारमा छौँ । अहिले बजार वर्चस्व कायम गर्दै गएको छ भने राज्य एउटा निरीह संस्थामा फेरिँदै गएको छ । राज्य अभिभावकभन्दा व्यवस्थापकमा फेरिएको छ ।
हो हाम्रो पुस्ताका असल मान्छेहरूले मानवताको सपना देखे र उपभोक्तावादी संस्कृति घृणा गरेर उम्दा जीवन जिउने ऊर्जा पाए । आफ्ना लागि मात्र सोचेनन् उपभोक्तावादले रसाइदिएको ग्रन्थीको सती गएनन् तर अहिले समय र तिनै सक्रियतावादीहरू पनि फेरिएर बोझपूर्ण आत्मालाई कैयौँले सुविधाका तर्क गर्दै दोष अरूलाई दिँदै उम्कन प्रयत्न गर्न थाले । कैयौँ भावनामा बग्दा दीर्घकालीन आफ्नै कार्यक्रम र आर्दशविरुद्ध हुन पुगे । प्रो.गिरिस मिश्र–कैयौँचोटी वामपन्थीहरू साधनहरूको वास्तविक बुझाइको कमजोरीले भावनात्मक पक्षधारिता मात्रले यस्तो सुत्रमा फेरिन्छन् कि उनीहरू त्यही उद्देश्यविरुद्ध सक्रिय हुन्छन् जसको पक्षधर उनीहरू आफूलाई दाबी गर्छन् । समयले कहिले पनि न सबुत माग्छ न साक्षीको बयान लिन्छ, उ त सीधै फैसला गरिदिन्छ । समयको नेतृत्व गर्ने चुनौती हरेक युगमा हुन्छ । इमानदार बुर्जुवाभन्दा बेइमान क्रान्तिकारीसँग सावधान हुनुपर्ने परिणामले देखायो ।
– गाेरखापत्रबाट