असंवैधानिक कदम विरूद्वकाे अान्दाेलनमा साथ दिन नेकपाकाे यस्तो अपिल (पुर्ण पाठ)
सरकारकाे असंवैधानिक कदम खारेजीको माग गर्दै अान्दोलनमा उत्रिएको नेकपाले राजधानीमा गर्न लागेको प्रदर्शनमा साथ दिन अाम नेपाली जनसमुदायलाई अपिल गरेको छ ।
माघ ९ मा राजधानीमा शक्ति प्रर्दशनको तयारीमा लागेकै बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले सोमबार संयुक्त अपिल जारी गर्दै लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्रलाई पराजित गर्न र प्रतिनिधिसभा पुन:स्थापना गर्ने अभियानलाई साथ दिन पनि आह्वान गरेका हुन् ।
उनीहरुले अपिलमा भनेका छन्, ‘प्रधानमन्त्री यतिबेला के ठिक र के बेठिक छुट्याउन सकिरहेका छैनन् । प्रतिनिधिसभालाई अचेत बनाएका छन् र न्यायपालिकालाई आफ्नो निर्णयको पक्षमा फैसला गर्न दबाब एवम् धम्की दिइरहेका छन् । यस्तो अवस्थामा राष्ट्र जोगाउन, देशमा बाह्य हस्तक्षेप हुन नदिन, लोकतन्त्रलाई सही मार्गमा पुनः हिडाउन र संविधान जोगाउन प्रतिनिधिसभा पुन:स्थापना गर्नु बाहेक अर्को विकल्प देखिँदैन । संविधानले पनि विघटन हुनसक्ने कुनै आधार दिएको देखिँदैन । तसर्थ सर्वोच्च अदालतलाई प्रधानमन्त्री एवम् उनका आसेपासेहरुको दबाब र धम्कीबाट मुक्त हुने वातावरण निर्माण गर्नका लागि पनि सम्पूर्ण चेतनशील नागरिकहरु संघर्षको मैदानमा विरोधको तुमुल ध्वनीका साथ उपस्थित हुनु अनिवार्य भएको छ ।’
प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक घोषणापछि देशको राजनीति र पार्टीको संगठनात्मक जीवनमा गम्भीर समस्या उत्पन्न भएको अपिलमा उल्लेख छ ।
पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका केपी ओलीद्वारा चालिएको असंवैधानिक कदमले संविधानको मूल मर्म र भावनामा प्रहार गरेको छ । अहिले यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ । सर्वोच्च अदालतले संविधानको अक्षर, मूल मर्म र भावनालाई गहिरोसँग आत्मसात गरी संविधानसम्मत फैसला नगरेसम्म नेपालको संविधान कार्यान्वयनमा अवरोध उत्पन्न भएको अवस्था छ,’ अपिलमा भनिएको छ, ‘असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गर्ने कामको पक्षमा प्रधानमन्त्री केपी ओली र उनलाई साथ दिने मानिसहरुले जे जस्ता तर्क गरिरहेका भए तापनि यो सरासर प्रतिगमन हो, संविधान, लोकतन्त्र र संघीय गणतन्त्रमाथि गरिएको निर्मम प्रहार हो, देश र जनताको भाग्य एवम् भविष्यमाथि गरिएको कुठाराघात हो ।’
प्रतिनिधिसभा जुनसुकै बेला विघटन गर्न पाउने विशेषाधिकार प्रधानमन्त्रीलाई संविधानले नदिएको दाहाल–नेपालले बताएका छन् । ‘प्रधानमन्त्री सोह्रै आना झुट बोलेर संविधानको गलत व्याख्या र परिभाषा गर्दै हिँडिरहेका छन् । आफूमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम चालेका छन् । राष्ट्रपतिबाट देश, जनता र संविधानमाथि के कस्तो आघात पर्छ भन्ने सोच्दै नसोची प्रधानमन्त्रीको सिफारिसलाई सदर गरिएको छ । यसैले प्रधानमन्त्रीद्वारा चालिएको यो असंवैधानिक र अलोकतान्त्रिक कदम नियोजित रुपमा भएको हो भन्ने कुरा स्पष्ट भएको छ,’ अपिलमा छ ।
प्रतिनिधिसभा विघटन निर्वाचन गराउने मनशायले नगरिएको उनीहरुको भनाइ छ । अपिलमा भनिएको छ, ‘तोकिएको समयमा निर्वाचन नहुनासाथ वर्तमान संविधानका विरोधीहरुले । यो संविधान अब समाप्त भयो, यसैले अर्को संविधान बनाउनु पर्छ’ भन्ने निहुँ झिक्ने छन् र संविधानलाई औपचारिक रुपमा समाप्त गर्ने कदम चाल्नका लागि दबाब दिने छन् । प्रधानमन्त्री संघीयता समाप्त पार्न, लोकतन्त्र, गणतन्त्र र समानुपातिक प्रतिनिधित्व समाप्त पार्न उद्यत देखिन्छन् । त्यतिमात्र होइन उनी संविधानले व्यवस्था गरेको धर्मनिरपेक्षता पनि समाप्त पार्न चाहन्छन् ।’
अहिले आन्दोलनलाई सहयोग गर्न भन्दै अपिलमा भनिएको छ, ‘देशमा क्रमश स्थापित हुँदै गइरहेको स्थीरता, शान्ति र लोकतन्त्रको जगमै प्रहार गर्ने गरी तथा नागरिकका मौलिक हक समाप्त पार्ने गरी प्रतिनिधिसभा विघटनको घोषणा गरिएको हुँदा यसका विरुद्ध लाग्नु र प्रतिगमन विरोधी आन्दोलनलाई सहयोग गर्नु सबै जागरुक नागरिकको कर्तव्य हुन आउँछ । प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमलाई परास्त गरेर मात्र देशको लोकतन्त्र जोगिने छ, राष्ट्रियता बलियो हुनेछ । त्यसैले प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्रलाई पराजित गर्न र प्रतिनिधिसभा पुन:स्थापना गर्ने अभियानलाई साथ दिन आम नेपाली समक्ष हाम्रो हार्दिक अनुरोध छ ।’
विगतमा आफूहरुबाट समेत गल्ती भएको स्वीकार गर्दै अब कमी–कमजोरी नदोहोरिउन् भन्ने सचेत रहेको पनि दाहाल–नेपालले उल्लेख गरेका छन् । ‘यतिबेला नागरिक समाज र आम जनताबाट हाम्रो पनि केही आलोचना भइरहेको छ । लोकतन्त्रमा नागरिकहरुले दल र दलका नेताहरुको आलोचना गर्नु स्वभाविक मात्र हैन आवश्यक पनि हुन्छ । त्यस्तो आलोचना तथ्यमा आधारित, वस्तुनिष्ठ र सन्तुलित हुनुपर्छ र यस्तो आलोचनाको स्वागत गर्नुपर्दछ,’ अपिलमा लेखिएको छ, ‘हामी राजनीतिक दलका नेताहरुले पनि विगतका हाम्रा गल्तीहरुलाई केलाउनु पर्ने र आत्मआलोचित भएर जनभावनाअनुरुप अगाडि बढ्नु पर्ने आवश्यकता छ । यो आवश्यकताप्रति हाम्रो गम्भीर ध्यान गएको छ । हामीबाट विगतमा भएका कतिपय गल्ती कमजोरीहरुप्रति सजग हुँदै भविष्यमा फेरि त्यस्ता कमी–कमजोरी नदोहोरिउन् भन्ने कुरामा हामी सचेत छौं ।’
पार्टीले असहयोग गरेको प्रधानमन्त्रीको दावी अस्वीकार गरिएको छ । ‘पार्टीले निरन्तर प्रधानमन्त्रीलाई सहयोग नै गरेको थियो, कुनै असहयोग गरेको थिएन । यसैले ‘प्रधानमन्त्रीलाई असहयोग गरिएका कारणले प्रतिनिधिसभा विघटन गरियो’ भन्ने कुरा सरासर गलत र झुठो हो,’ अपिलमा भनिएको छ, ‘प्रधानमन्त्री केपी ओली ‘जननिर्वाचित प्रधानमन्त्रीमाथि कू गर्न खोजिएको हुँदा प्रतिनिधिसभा विघटन गरिएको हो’ भन्दै हिँडिरहेका छन् । प्रतिनिधिसभाको बैठक बोलाउनु पर्ने बेलामा असंवैधानिक तरिकाले भंग नै गरिदिनु प्रधानमन्त्रीको अलोकतान्त्रिक तानाशाही व्यवहार हो ।’