प्रधानमन्त्रीले संविधान नै कुल्चिएर व्यवस्थामाथि नै कु गरे : डा. भट्टराई

मूलखबर संवाददाता
काठमाडौं

पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपीले संविधानकाे धारा टेकेर नभई संविधान नै कुल्चिएर व्यवस्था नै कु गरेको बताएका छन् ।

नेकपा दाहाल–नेपाल समूहले काठमाडौंमा बुधबार गरेको अन्तरपार्टी अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्री ओलीले संवैधानिक ‘कु’ नभई संविधान र व्यवस्थामाथिको कु गरेको बताएका छन् ।

उनले कु २०१७ सालमा राजा महेन्द्र र २०६०/६१मा राजा ज्ञानेन्द्रले गरेको कु जस्तै भएको बताए । उनले भने, ‘केपी ओलीको नेतृत्वमा नेपालमा जुन प्रतिगमनकारी घटना घट्यो पुस ५ गते यो सामान्य होइन । मेरो विचारमा १७ सालमा राजमा महेन्द्रले जुन कु गरे र ६०/६१ सालमा राजा ज्ञानेन्द्रले जुन कु गरे त्यसैको हाराहारीको यो कु हो । संवैधानिक कु होइन । त्यो त संविधानअन्तर्गत हुन्छ । संविधान माथिको कु हो । व्यवस्था माथिको कु हो । त्यसो हुनाले यसलाई सामान्य अर्थमा लिने गल्ती कसैले पनि नगरौं ।’

प्रधानमन्त्रीले संसद् विघटन गर्ने कदम संवैधानिक हो वा होइन भन्ने विषयमा बहस गर्न र भ्रममा पर्न नहुने पनि भट्टराईले बताए ।

कुनै पनि व्यक्तिले लहडमा प्रतिनिधिसभा विघटन गर्नै नसक्ने समेत उनले बताए । अन्तर्राष्ट्रिय परम्परामा संसद् विघटन गर्ने अभ्यास छ भन्दै नेपालको संसद् विघटन गर्न नपाइने समेत बताए । प्रधानमन्त्रीले कुनै पनि बेला संसद् विघटन गर्न सक्ने कुरालाई विचार गरेर संविधानमा नै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्थालाई हटाइएको बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले दुई तिहाई बहुमतको सरकार चलाउन नसक्ने मान्छेले चुनाव गराउँछ भन्ने भ्रममा नपर्न पनि आग्रह गरे । अहिलेको अस्थिरतालाई कायम राख्दै निर्वाचन पनि नहुने, संविधान पनि भंग हुने भयो भने देशमा राष्ट्रिय स्वाधिनतामाथि खतरा आउन सक्ने बताए । प्रतिनिधिसभा पुनर्स्थापना हुने विषयमा अदालतको आशा गर्नुपर्ने तर भर पर्न नहुने पनि भट्टराईको भनाइ थियो ।

भट्टराईले प्रधानमन्त्री ओली इमान्दार तानाशाह भएको टिप्पणीसमेत गरेका छन् । उनले ओलीले झापा आन्दोलनमा राम्रो काम गरे पनि जेलबाट निस्किएर अग्रगमनको विरोधी बनेर आएको बताए । आफ्नो प्रवृत्ति नलुकाइकन व्यवस्थामाथि आक्रमण गरिरहेकाले प्रधानमन्त्री ओली इमान्दार तानाशाह भएको आरोप भट्टराईको छ ।