कामचलाउ प्रधानमन्त्रीले गरे मन्त्रीपरिषद विस्तार : पुर्व माओवादीका असन्तुष्टहरु बने मन्त्री

मूलखबर संवाददाता
काठमाडौं, ११ पुस ।

आफैंले नेतृत्व गरेको प्रतिनिधि सभा भंग गरेर कानुननतः कामचलाउ अवस्थामा रहेको प्रधानमन्त्री खडग प्रसाद ओलीले मन्त्री परिषद विस्तार गरेका छन् । पुर्व माओवादीका केही असन्तुष्ट नेता कार्यकर्तालार्य मन्त्रीको रुपमा जिम्मा दिएर ओलीले मन्त्रीपरिषद विस्तार गरेका हुन् ।

थपिएका ८ मन्त्रीमध्ये ५ जना प्रचण्डलाई छाडेर ओली समूहमा लागेका नेताहरु छन् । प्रचण्डलाई छाडेर ओली समूहमा आएका टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामा मन्त्री भएका हुन् । रायमाझीलाई उर्जा, थापालाई खानेपानी, साहलाई सहरी विकास, चौधरीलाई श्रम र लामालाई खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नेकपा फुट्दा रायमाझी र थापा ओलीतिर लागेका थिए भने साह प्रचण्ड–माधव समूहमा । रामबहादुर थापा बादल निकट रहेका लामा बिहीबार मात्र प्रचण्ड–माधव समूहको बैठकमा पुगेका थिए । तर शुक्रबार ओली समूहमा आएर मन्त्री बनेका छन् ।
रायमाझी, थापा लामा र शाह विगतदेखी नै पटक पटक पार्टीभित्र असन्तुष्टि जनाउँदै र पार्टीभित्रै गुट निर्माण गर्र्दै, छाड्दै फेरी जुट्दै गरेका नेताको रुपमा माओवादी र पछिल्लो चरणमा नेकपामा परिचित थिए ।

यस्तै प्रेमबहादुर आले वन, गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन र जुलीकुमारी महतो महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बनेकी छन् ।

जुली स्थायी कमिटी सदस्य रघुवीर महासेठकी पत्नी समेत हुन् । नेकपा विभाजन हुँदा उनी ओली समूह छाडेर प्रचण्ड–माधवतिर लागेका थिए । ७ पुसमा त्यो समूहको स्थायी कमिटी बैठकमा सहभागी भएका उनी फेरि ओली समूहमा फर्किएका थिए ।

यस्तै विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्री बनाइएको छ । सबैले शुक्रबार सपथ दिएका छन् ।

प्रभु साहलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएपछि यस अघि शहरी विकास मन्त्री रहेका कृष्णगोपाल श्रेष्ठलाई शिक्षा मन्त्री बनाइएको छ भने गणेश ठगुन्नालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय दिएपछि हृदयेश त्रिपाठी स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयमा पुगेका छन् ।

स्वास्थ्यमा रहेका भानुभक्त ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाइएको छ ।

जुलीकुमारी महतोले महिला, बालबालिका लिँदा लीला श्रेष्ठले कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् । कानूनमा रहेकी डा। शिवमाया तुम्बाहाम्फेलाई भूमि व्यवस्था र त्यहाँ रहेकी पद्मा अर्याललाई कृषिको जिम्मेवारी दिइएको छ ।

संसद विघटनको विरोधमा ७ मन्त्रीले राजीनामा दिएका थिए । तर ८ मन्त्री र एक राज्यमन्त्री थपेपछि प्रधानमन्त्री ओलीले एक मन्त्री र एक राज्यमन्त्रीलाई हटाएका छन् ।

उनले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योेग राज्यमन्त्री मोती दुगडलाई हटाएका हुन् ।