भाइटीकाको साइत आज विहान ११ बजेर ३७ मिनेटमा

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, १ मंसीर  ।

यस वर्ष भाइटीकाको उत्तम साइत आज मंसिर १ गते सोमबार बिहान ११ बजेर ३७ मिनेटमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार कात्तिक शुल्क पक्ष द्वितीया सोमबार बिहान ९ बजेर १२ मिनेटबाट सुरु भई २ गते मंगलबार बिहान ७ बजेर ८ मिनेटसम्म रहेको छ तर मध्याह्नकालमा भाइटीका लगाउनुपर्ने धर्मशास्त्रको नियम भएकाले १ गते नै साइत राखिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले दिए ।

उनका अनुसार शनिबार चतुर्दशी र औंसी एकै दिन परेको छ । शुक्रबार मध्यरातदेखि शनिबार दिउँसो १ बजेर ४९ मिनेटसम्म चतुर्दशी तिथि रहेको र आइतबार बिहान ११ बजेर २७ मिनेटसम्म औंसी देखिएको ढुंगेलले बताए । चतुर्दशी तिथिमा पर्ने कर्म बिहान गर्ने चलन रहेकाले प्रायले कुकुर तिहार शनिबार बिहान मनाएका छन् । लक्ष्मीपूजा बेलुका गर्ने चलन रहेकाले शनिबार बेलुका लक्ष्मीको पूजा गरिएको छ ।

प्रतिपदा भने आइतबार बिहान ११ बजेर २७ मिनेटबाट सोमबार बिहान ९ बजेर १२ मिनेटसम्म देखिएको छ । गोवद्र्धन पूजा भने १२ बजेभित्र सम्पन्न गर्नसके उचित हुने र प्रतिपदाको साँझ नेवार समुदायले ‘म्हस् पूजा’ गर्न सक्ने उनले बताए । म्हस् पूजाको साइत आइतबार बेलुका ७ बजेर ८ मिनेटदेखि ९ बजेर २२ मिनेटसम्म रहेको पाटनका विभिन्न जातीय समाज र गोल्डेन टेम्पलका पुरोहितहरूले निकालेका छन् । प्रायस् नेवार समुदायले भाइटीका बेलुका गर्ने भएकाले आइतबार बेलुका ७ बजेर ५ मिनेटदेखि ९ बजेर १८ मिनेटसम्म साइत परेको पाटनका ताम्राकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्राकारले बताए ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । ‘भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम छ, भाइटीका लगाउन मध्याह्नको समय हुनुपर्ने भएकाले यो समय निकालिएको हो,’ उनले भने।

भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ । शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय विश्वास रहेको छ । लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परानुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।