कोरोना सँक्रमितलाई माया गरौं, हौसला बढाऔं !
अजोज १८ गते बेलुका ईभानलाई ज्वरो आयो १०२ । मैले चिनेका डाक्टर रामचन्द्र बाँस्तोलालाई फ़ोन गरे । उहाँले नआत्तिन भन्दै निको खान भन्नुभयो। भोलिपल्ट बिहान अल्ली कम भयो । म अफिस गए । २ बजे प्रतिभाको फोन आयो । भनिन्-‘ज्वरो फेरी आयो । अस्पताल लाने की ?’ मैले तयार हुन भन्दै डा. बाँस्तोलालाई फोन गरे । डाक्टरले महेन्द्रपुलको ओम अस्पताल बोलाउनुभयो । म ईभान र प्रतिभालाई घरमा लिन गए । अस्पताल नजिकै प्रमोद दाईको घर छ । हामी पुग्दा उहाँ र छोरीहरु सहयोगका लागि पहिलानै हुनुहुन्थ्यो । प्रमोद दाई सँगै हुनुहुन्थ्यो/ सबै कुरामा धेरै सहयोग गर्नुभयो ।
डाक्टरले एक्स रे र रगत जाँच्ने भन्नुभयो । ज्वरो पनि थियो । स्याम्पल दिएर प्रतिभा र छोरीहरु ईभानलाई लिएर प्रमोद दाईकै घरमा गए । रिपोर्टमा निमोनिया आएको भन्नुभयो । डा सा’पले थप्नुभयो-‘ज्वरो पनि र निमोनिया पनि यो बेलामा संबेदनशिल हुन्छ । यस्तै बच्चा हामीले दु:ख गरेर गण्डकी क्षेत्रिय अस्पतालमा बचाएका थियौ ।’ भर्ना गरेर उपचार गर्नुपर्ने उहाँले सुनाउनुभयो । म सम्हालिने कोसिस गरे । साँढे एघार महिना सम्म ईभान यसरी बिरामी भएको थिएन । सोधे कुन अस्पताल ठिक होला ? ओममै राखे पनि हुने । क्षेत्रिय अस्पतालमा पनि राम्रो हुने भन्नुभयो । ईभानको अप्रेशन गर्ने डाक्ट महेन्द्र पाण्डेलाई फोन गरे । उहाँले अहिलेको अवस्थामा सबै सुविधा र सहजताका हिसाबले मणिलाल ठिक हुने सल्लाह दिनुभयो । मैले पनि ईभान जन्मेको, रेखदेख गरीरहेका डाक्टर भएको र घर नजिक पनि भएकाले मणिपाल रोजे । प्रमोद दाईले पनि त्यही ठिक भन्नुभयो ।
डाक्टरसँग बिदा माग्यौ । प्रतिभालाई डाक्टर सा’पले भनेको कुरा कसरी भन्ने? जाने बेला भयो आउ भने। उनी गाडीमा चढ्ने बित्तिकै सोधिन्-‘के आयो रिपोर्ट?’ प्रमोद दाईले एक पटक मणिपाल लैजाम । हल्का निमोनिया देखियो भन्नुभयो । मैले पनि थपे-‘भर्ना गर्न पर्छ होला, त्यही अनुसार मानसिक रुपमा तयार हुनु है ।’ प्रतिभाले भनिन्-‘ भई हाल्छ नी ईभुलाई ठिक हुन पर्यो । बसीहालिन्छ नी ।’
मणिपालमा डाक्टर पाण्डेले पहिलानै भन्नुभएको रहेछ । डाक्टर सुमीना बहिनीले पनि साथीहरुलाई ईमरजेन्सीमा(ईआर) भन्नुभएको रहेछ । ईआरमा परीक्षण गरेर भर्ना गर्ने तयारीमा लाग्यौ । म र प्रतिभा ईभुलाई सम्हाल्दै थियौं । प्रमोद दाईले भर्नाको सबै प्रकृया पुरा गर्नुभयो । मेरा सासु आमा ससुरा बुवा र मामा आउनुभयो । ईभान मणिपालको बच्चा वार्डको ११० कोठमा भर्ना भयो ।
अब खाना र कपडाको ब्यबस्थापन गर्न पर्ने भयो । आमा ३/४ दिन अघि गाउँ जानुभएको थियो । मामा र प्रतिभा घरमा खाना र कपडा लिन जानुभयो । आमा(सासु) प्रमोद दाई र म अस्पतालमै थियौ । प्रतिभा आएपछि प्रमोद दाई र म घर गयौ । मामा र ससुरा बुवा पनि घर जानुभयो । प्रमोद दाई र म घरमा खाना खाएर सुत्यौ । भोलिपल्ट खाना बनाएर अस्पताल लिएर गयौ ।
बिहान १० बजे अमृत सुबेदी भाईको फोन आयो । ‘दाई मलाई कोरोना देखियो । ख्याल गर्नुहोला है।’ उनले भने । म असरल्ल परे । अमृत र मैले केही दिन अघि कफि पिएका थियौ । अस्पतालमा छु उता ट्रेसिंगमा परियो । प्रमोद दाईलाई भने । प्रतिभालाई भने । यो २० गतेको कुरा थियो । छुट्टै बस्यौ ।। त्यस दिन देखी सबैबाट टाढा हुने भनेर प्रमोद दाई पनि घरमै बस्नुभयो । पिसीआरको तयारी गरीयो । प्रमोद दाईले म पनि दिन्छु । म पनि तिमीसँगै छु । ढुक्क हुन्छ भन्नुभयो । त्यही राती स्वाब दिईयो । २२ गते बिहान सम्म पनि रिपोर्ट आएन । झन् आत्तियौ । २१ गतेनै रिपोर्ट आउने भनिएको थियो । मन्त्री नरदेबी पुनलाई फ़ोन गरे । स्वाब प्रयोगशालामा हालेकै रहेनछ । दिउँसो २/३ बजे आउछ होला भन्नुभयो । दिउँसो खबर त आयो । तर रुने की हाँस्ने खालको । मलाई नेगेटिभ देखियो प्रमोद दाईको पोजेटिभ । मेरो रिपोर्ट आधा घण्टा पहिला थाहा भएको भएर खुसी हुँदै फेसबुकमा हाले-‘नेगेटिभ’ । प्रमोद दाईलाई हामीहरु भेट्नु भन्दा पहिलानै कोरोना भएको रहेछ । संभवत प्रमोददाईलाई उहाँको एक हप्ता अघि परेको बर्थ डे मनाउने क्रममा कोरोना भएको हुनपर्छ ।
के गर्ने? कसो गर्ने ? सल्लाह गर्न थाल्यौ । हरी दाई श्रृषि प्रमोद दाई र म थियौ । हाम्रो लागि यो नौलो थियो । सँगै बसेको, खाएको र हिडेकोलाई कोरोना भएको । कोही पनि आत्तिएनौ । सबै घर बाहिर बस्यौ । तरकारी बारीमा औषधि छर्ने स्प्रेबाट सेनिटाईजर घरमा पुरै छर्कने काम गर्यौ । प्रमोद दाईलाई अमृत बसेको होटलमा बस्ने ब्यवस्था मिलाईयो ।३-४ दिन घर खाली गर्ने निर्णय गरियो । म बाहिर बसे । ईभान डिस्चार्ज भएपछि पनि प्रतिभा फुलबारी नगई बाटुलेचौर बसीन् । म पनि १/२ दिन बाटुलेचौर बसे ।
प्रमोद दाईलाई भेटेको ७ दिन भयो । मलाई केही लक्षण थिएन । धेरैले किन चेक गर्न पर्यो? भने । १०/१२ दिन छुट्टै बसे हुन्छ भन्थे । कोरोना भएको थाहा भए तनाव मात्रै भन्ने पनि भेटिए । असोज ३० मा ‘ईभु’ को पहिलो जन्म दिन । परिवारका सीमीत भएर मनाउने भनेका थियौ । फेरी प्रमोद दाईसँग २/३ दिन सँगै हिडेको । लक्षण नभएपनि देखाएर ढु्क्क हुन्छु भन्ने सोंचे । ईभुलाई काखमा नलिएको पनि धेरै भएको थियो । जे त पर्ला भनेर २६ गते पिसीआर दिए । मलाई कोरोना भएको रिजल्ट आयो ।
रिजल्ट आएपछि मनमा कुरा खेल्न थाले । अस्पतालमा प्रमोद दाईले ईभानलाई पनि केही समय बोक्नुभएको थियो । कामना गरे-‘प्रतिभा र ईभानलाई नभएको होस।’ मैले घोषणा गरीसकेको थिए । प्रतिभा र ईभानको प्सीआरका कसलाई भन्ने के गर्ने? रामकृष्ण दाई घरमा आएर दुबै जनाको पिसीआर दिन लिएर जानुभयो । यस्तो बेलामा घरमा आउन नजिक हुन डराउछन । रामकृष्ण दाईले ठुलो गुन लगाउनुभयो । मनको कामना पुरा भयो । दुबैको रिपोर्ट नेगेटिभ आयो । म अहिले घरमा छु उनिहरु बाटुलेचौर छन् ।
अहिले सम्म मलाई कुनै लक्षण छैन । गुर्जो पानी, कागती पानी, बेसार, जिम्मु, टिमुर, अदुवा र तुल्सी पानी खाईरहेको छु । बिहान १ घण्टा घाममा बस्ने र पानीको बाफ लिईरहेको छु । आत्तिएको छैन । छोराको पहिलो जन्म दिन मनाउने रहर अब तिथीको दिन मनाउने गरी सारिएको छ । यही बस्दा कोरोना भएर पनि बाहिर सार्वजनिक नगरेका थुप्रै महानुभावले फोनमा म्यासेजमा सल्लाह दिनुभएको छ । धेरैले लक्षण आएर पनि कोरोना भए तनाव हुन्छ भन्दै पिसीआर गर्नुभएको छैन । हाम्रै केही पत्रकार साथीहरु पनि बाहिर खुल्न सक्नुभएको छैन । यो सबै हाम्रो समाजले गर्ने अछुत व्यबहार र कोरोना लागेको मान्छेलाई चिडियाखानामा राख्ने दुर्लभ जनावर जसरी हेरीनुको कारण हो । म सबै कोरोना सँक्रमितको तर्फबाट आग्रह गर्दछु-‘कोरोना सँक्रमितलाई माया गरौ । हौसला बढाऔं ।’
(नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष पाैडेलकाे फेसबुकबाट साभार..)