अर्घाखाँचीमा बस दुर्घटना : मृतककाे संख्या १९ पुग्याे, १३ घाइते
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा मृतकको संख्या १९ पुगेको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।
मृतकमध्ये आठ जनाको सनाखत भएको छ । सनाखत हुनेमा बस चालक कपिलवस्तुका ओमबहादुर थापा र सशस्त्र प्रहरी बल ५ नम्बर बाहिनी रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत रहेका छन् ।
यसैगरी, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ७ का शिवलाल भट्टराई, बलराम भट्टराई, माया पुरी, मुनिका खड्का, भूमिकास्थान नगरपालिका ९ का शैलेश थापा, सतगंगा नगरपालिका २ का शान्तबहादुर बस्नेत रहेका छन् ।
सन्धिखर्कबाट बुटवलका लागि दिउँसो साढे १ बजे छुटेकोे लु२ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको थियो । दुर्घटनामा १७ जनाको घटनास्थलमा र दुई जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले जानकारी दिए । मृत्यु हुनेमा १२ पुरुष र सात महिला रहेका छन् ।
घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटबल र दुई जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले बताए ।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरेका थिए ।
बस सडकबाट झन्डै तीन सय मिटर तल खसेको छ । दाहिने मोड काट्ने क्रममा मोड नकटेर बस सडकबाट तल खसेर दुर्घटना भएको सहायक प्रमुख जिल्ला अधिकारी बेल्वासे बताए । चिप्लो बाटोमा मोड काट्ने क्रममका ब्रेक नलागेर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमानकाे खबर राजधानीमा छ ।