भोटिङ मेशीन विग्रीएपछि एनआरएनको चुनाव स्थगित, कुमार पन्तले दिए यस्तो प्रतिक्रिया
गैर आवासिय नेपाली संघको नवौं विश्व सम्मेलन एवम् अधिवेशन राजधानी काठमाडौंमा जारी छ । मंगलबार शुरु भएको अधिवेशनको दोश्रो दिन बुधबार अपरान्ह ५ बजे शुरु गर्ने कार्यतालिका भएपनि अबेर गरी शुरु भएको निर्वाचन स्थगित भएको छ ।
शुरुमा परिचय पत्रको बारेमा केही विवाद भएपनि अबेर शुरु भएको निर्वाचन प्रक्रिया इलोक्टोनिक मतदान सुरु भएको केहि समयमै प्राविधीक समस्या आएको भन्दै स्थगित गरिएको छ । मतदानको प्रक्रिया भोलि विहीबार विहान १० बजे सम्मको लागि स्थागित गरिएको निर्वाचन आयुक्त शिव रिजालले जनाएका छन् ।
जारी अधिवेशनमा नयाँ नेतृत्व चयनको लागि मुख्य दुई प्यानलका बीच प्रतिस्पर्धा देखिएको छ । नेकपा निकट कुमार पन्तको प्यानल र नेपाली कांग्रेसनिकट कूल आचार्य नेतृत्वको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ ।
कुमार पन्तले दिए यस्तो प्रतिक्रिया :
आदरणीय गैरआवासीय नेपाली प्रतिनिधि अग्रज तथा मित्रहरू,
यतिखेर यो सूचना सम्प्रेषण गर्नुपर्दा निकै दु:ख लागेको छ ।
विद्युतीय मतदान मेसिनमा आएको गडबडीका कारण अचानक मतदान स्थगित गर्नुपरेको छ । भोलि बिहान १० बजेबाट मतपत्रबाटै पुनः मतदान हुने भएको छ । यसप्रति म सविनय माफी चाहन्छु ।
निकै ठूलो उत्साहका सात संसारभरिबाट आउनुभएका गैरआवासीय नेपाली प्रतिनिधि, सचिवालय टिम र सम्पूर्ण पक्षको धैर्यताको कदर गर्दै विचलित नहुन आग्रह समेत गर्दछु । र, भोलि फेरि मतदानमा सरिक भइदिन विनम्र अनुरोध समेत गर्दछु ।