सम्झनामा २०४६ चैत २६ : वीर अस्पतालबाट ३ ट्रक लास फाल्न लगियाे

काठमाडौं, २६ चैत-

उपत्यका र मोफसलमा दर्जनौं मानिसले ज्यान गुमाइसकेका थिए तर साहसलाई झन् झन् ज्याद्रो पार्दै लग्ने प्रवृत्तितर्फ मानिस हुरुक्क हुँदै गए । देश विदेशबाट भएका निन्दा र आलोचनाले लोप्नो पारेर चुटिएपछि सरकार काँप्रिन थाल्यो, प्रहरी आत्तिन थाले ।

चैत २३ गते साँझ घोषणा भयो–प्रातः ६.४५ बजे शाही घोषणा हुनेछ भनेर । आन्दोलनले ४८ औँ दिनमा प्रवेश ग¥यो । मरिचमान सरकार बर्खास्त भयो । लोकेन्द्रबहादुर चन्द नयाँ प्रधानमन्त्री हुनुभयो । विभिन्न राजनीतिज्ञसँग वार्ता चलाउने, संविधान सुझाव आयोग गठन गर्ने तथा त्यसबेलासम्मको नोक्सानी जाँच्ने कुरा शाही घोषणामा उल्लेख थिए । शाही घोषणा धोखा हो भन्ने कठोर आवाजसाथ राती १०ः०० बजेतिर डिल्लीबजार भोटाहिटी हुँदै विशाल जुलुस अगाडि बढ्न थाल्यो । बागबजारनिर पुग्दा यस लेखकले मौरीको गोलोसरह बेस्सरी खाँदिएको जुलुसको भीडबाट सडक नै पट्ट फुट्न लागेकोजस्तो देख्यो । ठाउँ ठाउँमा टायरको धुँवा मडारिई आकाशतर्फ हान्निदै थियो । घरका अट्टालीबाट पानी वर्षाएर गृहिणीहरु भीडको स्वागतमा व्यस्त थिए ।

अफिसबाट निस्केर मानिसहरु हात हल्लाई रहेका थिए । काँग्रेस र कम्युनिस्टका झण्डाहरुले भीड बढी रंगीन देखिन्थ्यो । सडकपेटी बार्दली कहीँ पनि खाली ठाउँ थिएन । आँखाले भ्याउने ठाउँसम्म भीडमात्र देखिन्थ्यो । ‘फलानालाई फाँसी दे’ भन्नेखालका अनेकौं नाराले वातावरण घन्किरहेको थियो । आकाश आज पनि जगघुम्म थियो । कहीँ कहिँ त पूरै पाइप खोलेर भीडको स्वागत गर्ने अनौठो दृश्य देख्न पाइन्थ्यो ।
ठीक २ः३५ बजे टुँडिखेलमा विशाल जनसभा प्रारम्भ भयो । मञ्चको माथिल्लो भागमा दर्जनौं युवकहरु चढे अनि त्यहाँ झण्डाहरु हल्लाउन थाले ।

२ः४० बजे वीर अस्पतालको छतमा कम्युनिष्ट, काँग्रेसका झण्डा र पञ्चायतविरुद्धमा कालो झण्डा फहराउन थाले । ३ः४० बजे तिर सभा बिसर्जन भयो । यस्तै ३ः५० बजेको हुँदो हो, आमसभामा उपस्थित हुन नसकेका रुग्ण नेताहरु गणेशमान, मनमोहन र मंगलादेवी हात हल्लाउँदै वीर अस्पतालको छतमा देखापर्नुभयो । सारा भीडका आँखा त्यतातिर आकृष्ट भए– ‘बहुदल ल्याउँछौं ल्याउँछौं’ नाराले आकाश छेड्न थाल्यो । हजारौंको आँखामा आँसु टिल्पिल पार्ने त्यस भावुक क्षणले हृदयमा विश्वासको ज्योति जगाइदिएको थियो ।

यी पङ्क्तिको लेखक वीर अस्पताल अगाडि आइपुगेको मात्र के थियो विद्युत प्राधिकरणनिर अनि भोटाहिटीमा भटटट आवाजसाथ धुवा छुटेको दृश्य देख्यो । सारा मानिसहरु हाँप र झाँप गर्दै दगुर्न थाले । “गोली चल्यो गोली” सबैका मुखबाट एउटै आवाज छुटिरहेको थियो । भाग्दै हामी महांकाल स्थानतिर लाग्यौं– बारभित्रबाट बन्दूक तेस्र्याउँदै एक सैनिकले भन्यो – “पारिपट्टिबाट जा” । सिंहदरबार हुँदै ५ बजे डिल्लीबजार पुग्यौं । पीपलको बोटबाट ज्ञानेश्वरतिर लाग्ने बाटाको छेउमा एउटा विशाल कम्पाउण्ड भएको घरमाथि करिब २०० जनाको भीड खन्निएको यसले देख्यो । मोटरको टायर जलिसकेको थियो अनि त्यहाँ घरमा आगो सल्काइँदै थियो ।


जता हे¥यो टायर जलेको दुर्गन्ध छाएको त्यो साँझ यसले गोरखापत्रमा रात्रिसेवामा काम गर्न जानु परेको थियो । डिल्लीबाजारदेखि रत्नपार्कबीच चार ठाउँमा टायर जलाउने क्रममा थुप्रै युवकहरु देखिन्थे । बीचबीचमा काठ र ढुङ्गाका छेकवार हाल्ने, सडकपेटीको फलामेबार भत्काउनेक्रम जारी थियो ।


भोटाहिटी सुनसान थियो र त्यही कुनामा एउटा भीमकाय रथ ठिङ्ग उभ्भिएको थियो । असन इन्द्रचोकतिर ठेलागाडा भत्काएर जलाइँदै थियो । करिब ७ः३० बजे क्रिष्टल होटल अगाडि पुग्यो । इन्द्रचोकतिर फर्केर बन्दूक सोझ्याइरहेका सैनिक देखेर बेस्सरी आत्तियो । परिचयपत्र देखाएर यसले कार्यालय जाने अनुमति माग्यो । उल्टै ‘भाग चाँडो’ भनेर गर्जिएर उसले मेरो सातो टिप्यो । नयाँ सडकतिरबाट घुमेर जाने प्रयास ग¥यो यसले । तर त्यहाँ त झन् ट्रकबाट सैनिकहरु पो ग्वारग्वार्ती ओर्लिरहेका थिए । केही सीप नलागी लागें न्यूरोड गेटतर्फ । त्यहाँ पनि सैनिक बन्दूक तानेर उभ्भिइसकेका थिए । बीर अस्पताल हुँदै पुगें भोटाहिटी । त्यहाँ पनि बाटो बन्द थियो । जता गयो त्यहीँ ड्याम्म गोली हान्न सक्ने खतर्नाक अवस्था देखेपछि म लागें वीर अस्पतालतर्फ । 


वीर अस्पतालको एउटा कोठामा ७०।८० जना गोली लागेका मानिसहरु लम्पसार देखें । कुनै बेहोसीमा रहेका, कुनै चिच्याइरहेका, कुनै शान्त मुद्रामा रहेका घाइतेहरुको भीड लागिरहेको थियो । ‘९६ मानिस गोली लागेर भर्ना भएका छन् र १० जना मरिसकेका छन्’ एकजना चिकित्सकले बताए । अफिसमा फोन गर्न लाम लाग्न पुगें । घाइतेका अभिभावक र अन्य सबै अभिभावकहरू अस्पतालभित्रै थुनिएका थिए । त्यसैले फोन गर्नेहरूको विशाल भीड राति १२ बजेसम्म घटेको थिएन । फोन कुर्नु परेको हुँदा कागजको खोजीमा एउटा बिरामी कक्षमा पसें । चिकित्सकहरू भन्दै थिए– वीर अस्पतालको कम्पाउण्डबाट त्यसैको अर्को कम्पाउण्डमा जाने चिकित्सकहरूलाई समेत प्रहरीले भकुर्न थालिसकेको छ । 


करिब १२ बजेको समय हुँदो हो । एउटी नर्स, आफ्ना श्रीमान र उनका साथीहरू समेत घर जान नपाएर बिल्लीबाठ परेर त्यहीँ घुमिरहेका थिए । प्रसङ्गवश कुराकानी भयो । उनीहरूले मलाई क्याबिन नं. १३ भित्र प्रवेश गराए । 
चैत २५ गते प्रातः ६ बजे अस्पतालबाट बाहिर निस्किएँ । घण्टाघरनिर पुगेको मात्र के थिएँ – “यताबाट जान पाइन्न”, घोक्र्याउला झैँ रुखोपारामा प्रहरीले भन्यो । ढुङ्गामुढा र फोहोरको राशले हेरि नसक्नु भोटाहिटी कमलादी हुँदै बल्ल डिल्लीबजार पुगें । तुरुन्त कफ्र्यु लाग्यो, यसैबीच एफएम सुविधाको भरपूर उपयोग हुनुभन्दा अर्को विकल्प रहेन । वीर अस्पतालबाट तीन–चार ट्रक लाश फाल्न लगिए रे ।

रानीपोखरी छात्राबास अगाडि सालिक निरको सडक रातभरि रगतमा डुबेको थियो रे । हल्लैहल्लामा काठमाडौंका फोनहरू घन्किरहे । राति सडक चूक घोप्ट्याएझैं अन्धकार सुनसान लागिरहन्थ्यो । बेलुकी ७ बजेदेखि २६ गते १ बजेसम्म जनता कफ्र्युको झ्यालखानामा निस्सासिन बाध्य भए ।

पुनः ३ बजेदेखि २७ गते प्रातःसम्म कफ्र्यु लागिरह्यो । २६ गते साँझ रेडियो र टेलिभिजनबाट महत्वपूर्ण प्रशारण गर्ने सूचना दिइएको हुनाले सारा मानिसहरू प्रतीक्षामा ब्यग्र बनिरहे तर तीस वर्षमा पहिलो पटक नेपाली कांग्रेसका कृष्णप्रसाद भट्टराईको अन्तर्वार्ता त्यसै साँझ टेलिभिजनमा दिइएको हुनाले यसलाई बहुदलीय प्रणालीकै प्राप्तिको पूर्वसंकेतको रूपमा मानिसहरूले लिएका थिए ।

त्यसैकारण राति ११ः११ बजेको रेडियो, टिभीमा विशेष प्रशारणमार्फत पञ्चायती व्यवस्थासँग जोडिएको ‘निर्दलीय’ शब्द हटाइने तथा ‘दलहरूमाथिको प्रतिबन्ध समाप्त गरिने’ कुरा उल्लेख गरियो । करिब ११ः४५ बजे राति घरघरमा पट्का पड्किन थाले । खुशीयाली मनाउन बाहिर निस्कनेहरूमाथि भटटट गोली चलाइयो । राति पटका पड्काउनेक्रम जारी रह्यो । २०३६ सालको जनआन्दोलनमा समेत बन्द नभएको गोरखापत्र कफ्र्युले गर्दा चैत २६ गते निस्किन सकेन ।


चैत २७ गते २०४६ साल प्रातः ६ः३० बजेदेखि नै हर्षोल्लासका जुलुसहरू निस्कन थाले । कान्तिपथमा जिपमा चढेका विदेशीहरू ‘फलानालाई फाँसी दे’ भनेर जुलुसमा सामेल भइरहेका देखिन्थे । परम्परागत बाजाहरूका साथ भ्वाँभ्वाँ र प्वाँप्वाँ पार्दै जुलुसमा सामेल भएका प्रदर्शनकारीहरूले काठमाडौंका प्रमुख सडकहरूलाई अपरान्ह ५ः०० सम्म टनाटन पारिराखे ।

बस, ट्रक, ट्याक्सी, निजी कार, जिप, साइकल मानिसका हात, घरका बार्दली, सर्वत्र पार्टीका झण्डाहरू फहराइरहेका थिए । रानीपोखरी छात्रावासको सालिक झण्डैझण्डाले घेरिएको थियो । त्यहाँ तस्बिर खिच्ने खिचाउनेहरूको विशाल भीड अटूट रुपमा लागिरहेको देखिन्थ्यो । अबिर दल्ने बधाइ दिनेहरूका निम्ति होली पल्टेको थियो । मोटरसाइकलहरूका निम्ति यो एउटा सवारीजात्रा भएको थियो ।

पसलहरू खुशीयालीमा बन्द थिए । बार्दलीबाट पानीले स्वागत गर्ने प्रक्रिया जारी रह्यो । कागजका झण्डाहरू बग्रेल्ती देखिन्थे । नानी बोकेका महिलाहरू समेत जुलुसमा प्रशस्तै थिए । प्रजातन्त्र त यस्तो पो हुँदोरहेछ– टिप्पणी र चर्चाको विषय थियो । निर्दोष निरपराधहरूलाई पक्रेर जेल चलान गर्ने, पिट्ने, मार्ने, यातना दिने काम यस अवधिमा कति भए भन्ने कुरा भनिसाध्य छैन ।

(२०४७ साल चैत २६ गते मंगलबार गोरखापत्रको विशेष अङ्कमा रामचन्द्र गौतमले ‘जनआन्दोलनको त्यो आँधी ः प्रजातन्त्र पुनःप्राप्तिको त्यो सुनौलो बिहानी’ शीर्षकमा लेख्नुभएको लेखबाट यी अंशहरू साभार गरिएका हुन् । स्वर्गीय गौतम गोरखापत्रका पूर्व प्रधानसम्पादक हुनुहुन्थ्यो ।