५२ हजार नर्स देश बाहिर, कुन देशमा कति छन् नर्सहरू ?
नेपाल नर्सिङ काउन्सिलको तथ्यांकअनुसार २०५९ देखि हालसम्म ५२ हजार २ सय ५५ नर्सले देश छाडेका छन् । हालसम्म सबैभन्दा धेरै अमेरिकामा २९ हजार ३ सय ८५ नेपाली नर्स छन् । २०७८/७९ मा ४ हजार नर्स अमेरिका पुगेका थिए अर्को वर्ष २०८०/८१ मा बढेर यो संख्या ६ हजार पुग्यो ।
अमेरिकापछि नेपाली नर्स बढी रहेका देश अस्ट्रेलिया, यूएई, डेनमार्क, बेलायत, क्यानडालगायत हुन् । अस्ट्रेलियामा १२ हजार ९ सय २४, यूएईमा ४ हजार ४ सय ७४, डेनमार्कमा १ हजार ४ सय ११, बेलायतमा १ हजार २ सय ८२, क्यानडामा ९ सय ७८ नेपाली नर्स रहेको तथ्यांक छ । यी लगायत १७ मुलुकमा नेपाली नर्स गएको काउन्सिलको रेकर्डमा छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारी विश्व बजारमा नर्सको माग बढ्दो रहेकाले यो पेसा अरू भन्दा आकर्षक बनेको बताउँछन् । ‘सहज रूपमा विदेश जान सकिने, राम्रो आम्दानी र सुरक्षित भविष्य भएकाले नर्सहरू विदेसिने क्रम बढेको हो,’ उनले भने ।
नेपाल नर्सिङ संघकी पूर्वअध्यक्ष तारा पोखरेल अस्थिर सरकार, न्यून अवसर र श्रमको मूल्य थोरै हुने गरेकाले हरेक पेसाका व्यक्ति विदेसिने क्रम बढेको बताउँछिन् । ‘८/१० लाख खर्चेर पढ्यो, अत्यमा १५–१८ हजार तलब हुन्छ, अनि को बस्न चाहन्छ देशमा ?,’ उनले भनिन्, ‘पेसागत सुरक्षा नै छैन ।’ याे खबर कान्तिपुरमा छ ।




