सीता बादी : शिक्षादेखी सदनसम्म संघर्षका श्रृङखला
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाकाे निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सांसद चयन भइसकेका छन् । समानुपातिक तर्फ ११० जना मध्ये धेरै महिला सांसद रहेका छन् । तीनै महिलाहरूमध्ये बादी समुदायबाट पहिलोपटक सांसद बनेकी छिन् सीता बादी ।
नेपालको पश्चिम क्षेत्र कर्णालीमा बस्ने बादी समुदायमा जन्मिएकी एक संघर्षशील छोरीको नाम हो– सीता बादी । दलित समुदायमा पनि ज्यादै पछि पारिएको समुदायमा गनिन्छ– बादी समुदाय । प्रायः नदी किनार, खुला जमिन वा अस्थायी बस्तीमा बसोबास गर्ने यो समुदायका नागरिकसँग जग्गाको स्वामित्व छैन । उनीहरूले सामाजिक, आर्थिक लगायतका थुप्रै समस्याको सामना गर्दै आएका छन् ।
यही समुदायकी एक छोरी भने अब देशको संसद् भवनमा देखिने छिन् । दलित महिला कलस्टरबाट राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक प्रणालीमार्फत उनलाई प्रतिनिधिसभा सदस्य बनाएर संसद्मा पुर्याएको हो ।
२०५२ सालमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ को झुप्राखोलामा जन्मिएकी उनले बाल्यकालमा भागेको गरिबी, छुवाछूत, बहिष्कार र अपमानमा बिताएको तीतो समय कहिल्यै बिर्सन सक्दिनन् । गरिबीलाई नियति र अपमानलाई सामान्य व्यवहार मानेर आफू हुर्किएको अनुभव उनले सुनाइन् ।
सीता बादी त्यस्तो समुदायकी छोरी हुन्, जसलाई इतिहासले सबैभन्दा पछाडि धकेल्यो । बादी समुदाय, दलितभित्र पनि अत्यन्तै सीमान्तकृत, जहाँ गरिबीको अवस्था मात्रै होइन, नियति जस्तो बनाइयो; जहाँ अपमान सामान्य व्यवहारजस्तै स्वीकार गर्न बाध्य बनाइयो ।
बादी समुदायमै जन्मिएका कारण सीताले पढाइलाई अधिकारका रूपमा पाउन सकिनन् । पढाइ आफ्नो र बादी समुदायका बालबालिकाका लागि पाएको सुविधा नभएर संघर्ष भएको बताउने उनी भन्छिन्, ‘पेट र पढाइमा एउटा छान्नुपर्ने अवस्थाबाट हुर्केकी हुँ म । १२ वर्षकी हुँदा एउटा संस्थाले पढ्ने अवसर दिएपछि मात्र आज यहाँसम्म पुग्ने अवसर पाएकी छु ।’
पढ्न र आत्मसम्मानसहित बाँच्ने आधार पाएपछि उनले पढाइलाई स्नातकोत्तरसम्म पुर्याइन् । सामाजिक विषयमा स्नातक पूरा गरेकी उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।
सीताको परिवार, गाउँ अझै झुप्रा खोलामा बस्छ । बालुवा उत्खनन गरेर जीविकोपार्जन गर्दै आएको छ । उनी प्रतिनिधिसभाको सदस्य बन्नु सामान्य कुरा थिएन । धेरै अपमान र अविश्वास झेल्दै यहाँसम्म पुगेको उनी बताउँछिन् । सामाजिक कार्य गर्दै गर्दा रास्वपाको राजनीतिमा जोडिएकी उनले ‘तिमी कहाँ, संसद कहाँ ?’ भन्ने प्रश्न धेरै पटक सुनेको बताइन् ।
‘जातीय व्यवस्थाले समाजको संरचना बनाएको देशमा पुँजी थोरैको हातमा केन्द्रित छ, न्याय पहुँचवालाको पक्षमा झुक्छ, राजनीति शक्तिशालीकै वरिपरि घुम्छ भन्ने मान्यता थियो,’ उनले भनीन्, ‘दलित समुदायभित्र पनि पछाडि पारिएको एक महिला, त्यसमाथि बादी समुदायकी छोरी, आज प्रतिनिधिसभा सदस्य बन्नु मेरा लागि ठूलो कुरा हो । अवसर र चुनौती दुवै हो ।’
लामो समय सामाजिक कार्यको अनुभव लिएर सीता संसद्मा गएकी छन् । अहिले पनि दुर्गम क्षेत्रका विपन्न समुदायका बालबालिकालाई शिक्षा र महिला दिदीबहिनीलाई व्यावसायिक तालिम दिइरहेकी छन् । चुनिखेल क्षेत्रमा उनले हस्तकलाका सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसाय सुरु गरेकी छन् । यस उद्यमले उनलाई आर्थिक रूपमा सक्षम बनाउनुका साथै अन्य महिलाका लागि पनि रोजगारी सिर्जना गर्ने अवसर प्रदान गर्यो । साना उद्यममार्फत महिलालाई आत्मनिर्भर बनाउने उनको प्रयास समाजका लागि उदाहरणीय बनेको छ ।





