लगानी सम्मेलनकाे तयारी पूरा भयाे- डा.भट्टराई

काठमाडौं , ३ चैत –

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले १५ र १६ चैतमा हुने लगानी सम्मेलन सफल हुने स्पष्ट पारेका छन् ।

डा. भट्टराईले सरकारले लगानी सम्मेलनका लागि सम्पूर्ण तयारी गरिसकेको र सम्मेलन सफल हुने विश्वास दिलाए ।  उनले भने, ‘सरकारले प्रस्ताव गरेकोभन्दा बढी नै लगानीको प्रतिबद्धता आउने विश्वास छ । अहिले ३० खर्बको परियोजना प्रस्तुत गरिएको छ । हेरौं, त्योभन्दा पनि बढी नै प्रतिबद्धता आउनेछ ।’

सल्लाहकार भट्टराईले अहिले राजनीतिक हिसाबले पनि लगानी सम्मेलन अत्यन्तै सान्दर्भिक रहेको जिकिर गरे । उनले भने, ‘मुलुकलाई विकास र समृद्धिको दिशामा अघि बढाउने सरकारको लक्ष्य रहेको बेलामा यो लगानी सम्मेलन आवश्यक थियो ।’


नेपाल पुँजी, ज्ञान तथा प्रविधिमा आत्मनिर्भर नभएकाले विदेशी लगानी, पुँजी र ज्ञान स्वदेशमा भियाउन जरुरी रहेको उनको भनाइ छ । उनले भने, ‘हामी लगानी सम्मेलनको अन्तिम अवस्थामा छौं । तयारी पूरा भइसकेको छ । अहिलेसम्म करिब ४ सयको हाराहारीमा सहभागिता जनाउने निश्चित भइसकेको छ । करिब ३८ देखि ४० देशका प्रतिनिधिहरू आउनुहुन्छ ।’

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं पूर्वराजदूत डा. शंकर शर्माले नेपालमा विदेशी लगानीको अवस्था सन्तोषजनक नरहेको बताए । उनले भने, ‘अहिले हाम्रो विदेशी लगानीको अवस्था त्यति सन्तोषजनक छैन । अहिले जीडीपीको शून्य दशमलव ५ प्रतिशत मात्रै विदेशी लगानी छ, नेपालमा प्रतिव्यक्ति दुई डलरभन्दा कम नै विदेशी लगानी छ, जब कि हामीभन्दा धेरै पछाडि विदेशी लगानी भियाउन थालेको भारतको प्रतिव्यक्ति ३३ डलर छ, र चीनको सय डलर छ ।’
उनले विदेशी लगानी धेरै भियाउनका लागि नेपालले कम्पिटिटिभ वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘हामीले भारतभन्दा धेरै अगाडि विदेशी लगानीको ढोका खोल्यौं तर अहिले हामी भारतभन्दा धेरै पछाडि परेका छौं । हुन त हामी राजनीतिक अस्थिरताबाट लामो समय गुज्रियौं, अहिले मुलुकमा राजनीतिक स्थायित्व आएको छ, यो विदेशी लगानी भिœयाउनका लागि पनि शुभ संकेत हो ।’

उनले ९/१० प्रतिशत आर्थिक वृद्धि हासिल गर्नका लागि प्रत्येक वर्ष १५ खर्बको बजेट बनाउनुपर्ने र नेपालले आफंै ७ खर्ब र बाँकी ८ खर्ब विदेशी लगानी आवश्यक पर्ने सुनाए । उनले भने, ‘समृद्धि हासिल गर्न हामीसँग खानी हुनुपर्छ तर छैन । जस्तो रसियासँग खानी छ, उसले तेल एक्सपोर्ट गर्छ ।’नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षत्रीले सरकारले पुँजीगत खर्च बढाउनुपर्नेमा जोड दिए । उनले २०४९ सालमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याएको सुनाउँदै उक्त ऐन एकद्वार प्रणालीमा नै आधारित भए पनि यहाँ भनाइ र गराइमा फरक रहेको सुनाए ।

क्षत्रीले अब हुन लागेको लगानी सम्मेलनमा ४३ वटा परियोजना पेस गरिएको र त्यसमा पनि अधिकांश परियोजना जलविद्युत्, शिक्षा र स्वास्थ्य रहेको बताए । उनले भने, ‘पुँजी आफंैमा एउटा लक्षण लिएर आउँछ, उधारो र कपाली तमसुकमा सही गरेर निरन्तरता दिने काम नहोस् ।’


पूर्वअर्थसचिव तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वकार्यकारी प्रमुख युवराज भुसालले सरकारले गर्न लागेको लगानी सम्मेलन स्वागतयोग्य भएको बताउँदै सराहना गरेका छन् । उनले नेपालको विकास र समृद्धिको लागि विदेशी लगानी अपरिहार्य रहेको सुनाए ।- राजधानी