गलत औषधी दिएकाे हल्लापछि लमजुङ अस्पतालले गर्याे पत्रकार सम्मेलन, के हाे यथार्थ ?
लमजुङ अस्पतालले गलत औषधि दिएको कारण आफ्ना बुवाको स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै एक छोरीले बनाएको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ।
भिडियोमा छोरीले आफ्ना बुवा बेसीशहर–८ का दिलबहादुर दमाईंलाई पेट दुखेको बेला कोल्स्टोर भएको भन्दै अस्पतालले गलत औषधि दिएको र स्वास्थ्य अवस्था झनै बिग्रिएको बताएकी छिन्। उनका अनुसार बिरामीको अनुहार बिग्रिएको र केही संवेदनशील अङ्गमा पनि समस्या देखिएको छ।
यस विषयमा यथार्थ जानकारी दिनकाे लागि अस्पताल प्रशासनले पत्रकार सम्मेलन आयाेजना गरेकाे छ । साे क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शिशिर देबकाेटाले बीरामीलाई गलत ओैषधी दिएकाे नभई ओैषधिले साइड इफेक्ट गरेर एलर्जी भएको बताए । उनलेे बीरामीलाई युरीन इन्फेक्सन देखिएकाे र त्यसलाई कम गर्न सिप्राेफ्लाेक्सासिन दिएकाे र त्यसकाे साइड इफेक्ट देखिएकाे बताए । हजारौं बीरामी मध्ये १ जनालाई हुन सक्ने साइड इफेक्ट यहाँ देखिएकाे जनाउँदै अस्पताल प्रसासनले दुःख व्यक्त गर्दै उहाँको स्वास्थ्य लाभकाे कामना गरेको छ ।
घटनाबारे अस्पताल प्रशासन के भन्छ ?
यसबारे हामीले अस्पताल प्रमुख डा. शिशिर देवकोटासँग बुझ्दा उनले गलत औषधि नभई, दिइएको औषधिको साइड इफेक्ट भएको बताए।
उनले भने, ‘उहाँ जेठ १९ गते अस्पताल भर्ना हुन आउनुभयो। चिकित्सकले जाँच गर्दा इन्फेक्सन देखिएपछि Ciprofloxacin नामक एन्टिबायोटिक र ग्यास्ट्रिकको औषधि दिइएको रहेछ। त्यसपछि उहाँलाई शरीर र खुट्टा चिलाउने लक्षण देखियो। त्यसपछि परिवारले उहाँलाई CMC भरतपुर लैजानुभयो। त्यहाँ चिकित्सकहरूले औषधिको साइड इफेक्ट भएको बताउनुभएको रहेछ।’
उनका अनुसार, ‘जुन औषधि दिइएको थियो, त्यो नै गलत भने होइन। तर औषधिको दुष्प्रभाव (side effect) भने देखिएको हो। यस्तो असर अत्यन्तै दुर्लभ हो, लगभग १०–२० हजारमा एक जनालाई मात्र हुने खालको। हामीले चलाएको औषधि चिकित्सकीय हिसाबले ठिकै हो, तर दुर्भाग्यवश उहाँमा साइड इफेक्ट देखियो।’
अस्पतालको तर्क – कुनै पनि औषधिले साइड इफेक्ट दिन सक्छ, कतिपय बिरामीमा पहिले नै अनुमान गर्न सकिन्छ भने केहीमा पूर्वानुमान गर्न नसकिने अवस्था पनि आउन सक्छ। ‘हामीले गलत औषधि दिएका होइनौँ, प्रोटोकल अनुसार औषधि चलाइएको हो। साइड इफेक्ट देखिएपछि परिवर्तन गर्नुपर्ने हुन्छ,’ अस्पताल प्रमुखले स्पष्ट पारे।
सीएमसी अस्पतालका डाक्टरले नै जिल्लाले गलत औषधि दिएको भनेका रहेछन् नी ?
‘त्यो बुझाइको फरक हुन सक्छ,’ प्रमुखले भने, ‘शायद उहाँहरूले औषधिको साइड इफेक्ट भएको भनेका होलान्, गलत औषधि नै दिएको भनेका होइनन्। यदि साँच्चिकै गलत औषधि नै दिएको भनी प्रमाणसहित भनिएको भए, त्यसको छानबिन हुनुपर्छ। र गल्ती गर्ने चिकित्सकलाई कारबाही हुन्छ।’
यसबारे हामीले थप बुझ्न सीएमसी अस्पतालमा सम्पर्क गरेका थियौँ। त्यहाँका सूचना अधिकारी पारस अधिकारीसँग कुरा गर्दा उनले फाइल हेरेपछि भने ‘हाम्रोमा यस्ता केसहरू बेलाबेलामा आइरहन्छन्। धेरै बिरामीहरू साइड इफेक्टका कारण भर्ना हुने गरेका छन्। यहाँसम्म कि सामान्य सिटामोलको पनि साइड इफेक्ट हुन सक्छ। दिलबहादुर दमाईंको केसमा औषधि गलत भनेर भन्दा पनि, दिइएको औषधिले उहाँमा साइड इफेक्ट देखिएको भन्ने ठिक हुन्छ। एन्टिबायोटिक आफैं गलत हुँदैन, तर केही बिरामीमा यसको असर बढी देखिन सक्छ। यस्तो देखिएपछि त्यो औषधि तत्काल रोक्नुपर्छ। यहाँका डाक्टरले गलत औषधि दियो भन्नुभएको होइन कि, दिएको औषधिले चाहिँ साइड इफेक्ट भएको भन्नुभएको हो। बुझाई फरक पर्यो होला।’
पत्रकार भेटघाट कार्यक्रममा यो सबै कुरा बिरामी वा उहाँका आफन्तले भन्न भन्दा पनि हामीभन्दा माथिल्लो निकाय, त्यही सिएमसिकै सरहरूले पनि भन्न सक्नु हुन्छ कस्को गल्ती हो भनेर । डाक्टरको गल्ती देखियो भने हामी कारवाहीका लागि तत्कालै सिफारिस गर्छौं, बाहिरका हल्लामा विश्वास गर्न भन्दा पत्रकारहरूले पनि सिएमसिकै सिनियर सरहरूसँग सम्पर्क गरेर यथार्थता बाहिर ल्याइदिनु भएमा बेस हुनेछ उहाँले भन्नुभयो ।
विरामी दिलबहादुरदमै कोखा दुखेर गत जेठ १९ गते प्रदेश अस्पताल पुगेर लमजुङमा डा. सविना गुरुङसगँ जाँच गर्नुभएको थियो । डाक्टरले लेखेको औषधी बाहिर फार्मेसीमा किनेको र त्यो खाएपछि उहाँको शरीर र खुट्टामा चिलाउने, पानीका फोकाहरु आउन सुरु भएको विरामी दमैको भनाई छ । त्यसको पर्सीपल्ट उहाँ फेरी अस्पतालमा आएर डा.गुरुङलाई देखाउनुभयो । डा. गुरुङले औषधीको साइड इफेक्टको कारण शरीरमा समस्या भएको भन्दै उहाँलाई औषधी खान रोक्नुभयो र उहाँले रिफर लिएर भरतपुर अस्पताल गएको अस्पतालको भनाई छ ।




