सालीलाई भेट्न जाँदा भेनाको झ्यालबाट खसेर मृत्युु
काठमाडौं,११ जेठ ।
ताप्लेजुङ नगरपालिका–१ स्थित एक घरमा पाहुना आएका झापा निवासी नरेन्द्र लिम्बूको गएराति कोठाको झ्यालबाट खसेर ज्यान गएको छ ।
यहाँस्थित खड्क केदेमको घरमा डेरा गरी बस्ने आफन्त सञ्जय केदेमको कोठामा आएर बसेका दुधे–१ का अन्दाजी ३५ वर्षीय लिम्बू राति बाहिर निस्कने क्रममा झ्यालबाट खसेका हुन् । घाइते लिम्बूको उपचारकै क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खानपिनपछि कोठामा गई सुतेका लिम्बू राति शौच गर्न निस्कने क्रममा झ्यालबाट तीन तलामुनि खसेर घाइते भएका थिए । बाहिर निस्कने क्रममा उनी अचानक झ्यालबाट खसेका हुन् । उनी खसेको थाहा पाउनासाथ आफन्तले उपचारका लागि अस्पताल पुर्याए पनि उपचारकै क्रममा राति १२ः३० बजे निधन भएको जनाइएको छ ।
आफ्नी साली बिरामी भएको र उनलाई हेर्नका लागि लिम्बू सोमबार बेलुका ताप्लेजुङ आएका थिए । लिम्बूको शव अहिले जिल्ला अस्पतालमै रहेको प्रहरीले बताएको छ । (रासस)