लेस्टर सिटीका स्ट्राइकर भार्डी विवाह गर्दै

24052016094705vardy-1000x0

 

 

 

 

 

 

काठमाडौं,११ जेठ ।

लेस्टर सिटीका स्ट्राइकर जेमी भार्डीले आफ्नो विवाहका कारण इंग्ल्यान्डले शुक्रबार अस्ट्रेलियासँग खेल्ने मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । अस्ट्रेलियासँगको खेलको दुई दिनअगाडि भार्डी विवाह बन्धनमा बाँधिंदै छन् ।

२९ वर्षे भार्डीले गत वर्ष आफ्नो वैवाहिक समारोह स्थगित गरी जूनका लागि सारेका थिए । त्यसमा उनको लक्ष्य युरो २०१६ खेल्न पाउनु भन्ने थियो । इंग्ल्यान्ड फुटबल टिमका व्यवस्थापक रोय हडसनले भार्डी विवाहको समय पाउन ‘हकदार’ रहेको बताए ।

भार्डीकै गोलमा इंग्ल्यान्डले आइतबार युरो २०१६ को तयारीका लागि भएको मैत्रीपूर्ण खेलमा टर्कीलाई २–१ ले पराजित गरेको थियो । ‘बोस (हडसन) ले मलाई बुधबार बिदा दिएका छन्, तर त्यसपछि म अभ्यासमा फर्किनेछु,’ भार्डीले भने ।

हडसनले भार्डीबारे भने, ‘मलाई लाग्दैन उनको पोजिसनमा अथवा टिममा कसैले चुनौती दिन सक्छ । त्यसैले उनी नहुँदा हामीले अरू खेलाडीलाई पनि हेर्नुपर्छ, त्यो उनीहरूका लागि अवसर हुनेछ ।’

भार्डीले २४ गोल गर्दै प्रिमियर लिग सिजन टुंगाएका थिए । उनकै प्रयासमा कमजोर मानिएको लेस्टरले प्रिमियर लिग जितेको थियो, जुन फुटबल इतिहासकै अप्रत्याशित सफलतामा पर्छ ।

इतिहाद रंगशालामा टर्कीविरुद्व खेल्दा इंग्ल्यान्डले अग्रपंक्तिमा उतारेका तीन खेलाडीमा भार्डीले देब्रे छेउबाट खेलेका थिए । उनले पछि सेन्टर स्ट्राइकर खेल्दै ८३ औं मिनेटमा विजयी गोल गरेका थिए । यसअघि टोटेनहमका स्ट्राइकर ह्यारी केनले इंग्ल्यान्डलाई सुरुआतमा अग्रता दिलाएका थिए । केनले पेनाल्टी गुमाउँदा इंग्ल्यान्डले दोस्रो गोल गर्ने अवसर गुमाएको थियो ।

भार्डीले इंग्ल्यान्डबाट लगातार ३ गोल गरिसकेका छन् । अस्ट्रेलियासँग सन्डरल्यान्डको स्टेडियम अफ लाइटको खेलपछि इंग्ल्यान्डले फ्रान्समा हुने युरो अगाडि थप २ अभ्यास खेल खेल्नेछ । त्यसमा पोर्चुगलसँग वेम्बलीमा जून २ मा अर्को खेल रहेको छ ।

तर मे ३१ मा तोकिएको समयसीमा अगाडि हडसनले आफ्नो प्रारम्भिक २६ सदस्यीय टिमलाई २३ मा झार्नुपर्नेछ । म्यानचेस्टर युनाइटेड र लिभरपुलका खेलाडी सोमबारबाट इंग्ल्यान्डको प्रशिक्षण शिविरमा मिसिएका छन् ।

युनाइटेडले शनिबार एफए कपको फाइनल र लिभरपुलले बुधबार युरोपा लिगको फाइनल खेलेका कारण उनीहरू क्लबमै व्यस्त थिए । तर युनाइटेडका १८ वर्षे स्ट्राइकर मार्कुस रासफोर्डलाई घुँडामा चोट लागेको छ ।