
सिरियाली जेलमा साठी हजारको मृत्यु
काठमाडौं,९ जेठ ।
सिरियामा जारी द्वन्द्वका क्रममा करिब ६० हजार बन्दीको सरकारी जेलमा मृत्यु भएको सिरियाली मानवअधिकार पर्यवेक्षक समूहले बताएको छ। समूहका प्रमुख रमी अब्देल रहमानले जेलमा मृत्यु भएका बन्दीको सङ्ख्या सरकारी अधिकारीबाट सङ्कलन गरेको बताएका छन्।
सन् २०११ को मार्चपछि औषधि तथा खाद्यान्नको अभाव, यातनालगायतका डरलाग्दा घटनाबाट उनीहरुको मृत्यु भएको अब्देलले बताएका छन्। द्वन्द्वका क्रममा सबैभन्दा बढी कैदीबन्दीको मृत्यु सिड्निमा जेलमा भएको थियो।
अधिकारवादी समूहले कैदीबन्दीमाथि नियोजित रुपमा यातना दिने र अमानवीय व्यवहार देखाइने गरेको दाबी गरेको छ। त्यसैगरी सिरियाको सरकार पक्षबाट द्वन्द्व सुरु भएयता करिब पाँच लाख मानिसलाई पक्राउ गरेको थियो । जसमध्ये कैयौँलाई छानबिनपछि रिहा गरिएको थियो भने हजारौँ मानिसलाई यातना दिँदा जेलमै मृत्यु भएको थियो ।
पक्राउ परेका हजारौँ मानिसको अवस्था अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । रासस/एएफपी
