म्यानमार भुकम्पमा ज्यान गुमाउनेकाे संख्या ३३ सय नाघ्याे, ३० लाख बढी प्रभावित

मूलखबर संवाददाता
काठमाडौं, २४ चैत

म्यान्मारमा मार्च २८ मा आएकाे ठूलो भूकम्पबाट ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको सरकारी मिडियाले बताएको छ । शुरूमा ७.७ रेक्टरकाे भुकम्प आएको र  त्यसदेखि यता ८६ वटा पराकम्प गइसकेका छन् ।

संयुक्त राष्ट्रसंघका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न नयाँ आह्वान गरेका छन् ।

मार्च २८ को भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त पारेको छ । यसको परिणामस्वरूप तीन हजार तीन सय ५४ जनाको मृत्यु र चार हजार पाँच सय आठ जना घाइते भएको तथा दुई सय २० जना बेपत्ता भएको सरकारी मिडियाले प्रकाशित गरेको नयाँ तथ्यांकले जनाएको छ ।

विपद् भएको एक हप्ताभन्दा बढी समयपछि पनि देशका धेरै मानिस अझै आश्रयविहीन छन्, या त तिनीहरूको घरहरू नष्ट भएका कारण या थप भत्किने डरले बाहिर सुत्न बाध्य छन् ।

संयुक्त राष्ट्रसंघको एक अनुमानअनुसार ७.७ म्याग्निच्युडको भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रभावित भएको हुन सक्छ । यसले चार वर्षको गृहयुद्धले निम्त्याएको अघिल्लो चुनौतीहरूलाई थप जटिल बनाएको छ ।