दुई वर्षभित्र नेपालले आफ्नै उत्पादनको पेट्रोलियम पदार्थ प्रयोग गर्ने -प्रधानमन्त्री ओली

काठमाडौं,६ जेठ ।

kp oli

प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई वर्षपछि नेपालले भारतबाट इन्धन ल्याउन नपर्ने बताएका छन् । उनले आगामी दुई वर्षभित्र नेपालले आफ्नै उत्पादनको पेट्रोलियम पदार्थ प्रयोग गर्ने गरी आत्मनिर्भर हुने बाटोमा सरकार अघि बढेको भन्दै भारतबाट तेल ल्याउन नपर्ने बताए ।
प्रेस चौतारी नेपालको आठौँ राष्ट्रिय महाअधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालले लामो समय दक्षिणी छिमेकी भारतको तेल प्रयोग गरेको र उत्तरी छिमेकी चीनको पनि प्रयोगको आश गर्नुपरेको सन्दर्भमा सरकारले स्वदेशमै तेल खानीको दैलेखमा अन्वेषण गरिसकेको बताए ।

नवलपरासी जिल्लामा वार्षिक रु १० अर्ब आय हुने फलाम खानीसमेत फेला पारिसकेको ओलीको भनाई थियो । मुलुकले लोकतान्त्रिक संविधान पाइसकेकाले अब तीव्र आर्थिक विकास हुने गरी सरकारले बजेट ल्याउने र जनतामा आशा जगाउने काम गरिरहेकाले वृद्धिजीवी र पत्रकार वर्गले त्यसलाई सकारात्मक रुपमा बुझिदिनुपर्ने उनको आग्रह थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रेस चौतारीले स्थापना गरेको हृदयचन्द्र सिंह स्मृति पत्रकारिता पुरस्कार शिव गाउँले, अग्नि शिखा पुरस्कार देवराज अर्याल, डेकेन्द्र थापा स्मृति पुरस्कार यज्ञराज थापा र विद्युत् माओजी तथा वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार दिलीपकुमार सिंहलाई प्रदान गरे । महाअधिवेशनमा करिब ७०० जनाको सहभागिता छ । रासस