माओवादी एकताको चर्चाले सबैभन्दा खुशी बने फुटेका जोडिहरु

jodiharuकाठमाडौं, २९ बैसाख ।

केही वर्ष अघि फुटेका माओवादीहरु करिब करिब एक हुने निष्कर्षमा पुगेको बेलामा माओवादी एक हुने कुराले विभिन्न टुक्रामा विभाजित सबै माओवादी कार्यकर्तामा यतिबेला खुशी छाएको छ । जनयुद्धको शुरुवात गर्दा सानो पार्टी भएपनि विचार र सिद्धान्त कै कारण आफ्नै हतियार सहितको सेनाका साथै ठुलो पार्टी पक्ति लिएर शान्ति प्रक्रियामा आएको माओवादी अन्तत शान्ति प्रक्रियामा आएको ५ वर्ष पछि नै फुट्ने क्रम शुरु भएको थियो । करिब करिब तत्कालिन पार्टी उपाध्यक्ष मोहन बैध किरणको नेतृत्वमा पार्टीको ठुलै हिस्सा फुटेको थियो । हिजो एउटै माओवादी आन्दोलन बाट आएकाहरु आज ५ ओटा पार्टीमा विभाजित भएका छन् । विभिन्न असहमति देखाउदै फुटेका सबै माओवादीले अन्तत एकताको आवश्कता महशुस गरेर एक हुनुको विकल्प देखेका छैनन् । पार्टी एकताको संघारमा सबै माओवादी खुशी र उत्साही भएका छन् नै तर फुटेका माओवादीहरु एक हुने कुराले सबैभन्दा खुशि भएका छन् एउटै छानोमा रहेर पनि विचारको कारण भन्दै फरक फरक पार्टीमा आबद्ध हुन पुगेका जोडिहरु ।
हिजो एउटै आन्दोलनबाट आए पनि पार्टी फुट संगै फरक फरक पार्टीमा सहभागि हुने जोडि थिए शिव डॉगी र सरस्वती पोखरेल । पूर्वाञ्चल क्षेत्रमा कार्यरत यस जोडि मध्ये शिव डॉगी एकीकृत माओवादी मै रहेका थिए भने सरस्वति पोखरेल मोहन बैद्य नेतृत्वको पार्टीमा आबद्ध भइन् । राजनीतिक रुपमा विभाजित भएपनि पारिवारिक रुपमा एक नै रहेका उनीहरुले फरक राजनीतिका कारण पारिवारिक रुपमा निक्कै असहजता वेहोर्नु परेको अनुभुति उनीहरुको भोगाई बन्यो । संविधानसभाको दोस्रो निर्वाचनका क्रममा एउटा पार्टी चुनाबका पक्षमा थियो त अर्को बहिष्कारको पक्षमा थियो । यस्तो परिस्थितिमा दुबै जना फरक फरक पार्टीका जिम्मेवार नेता थिए त्यतिबेला पारिवारिक कुरा बाहेक राजनीतिक कुरा गर्दा एकले अर्कोको कुरा सुन्ला भनेर अलि पर गएर मात्रै कुरा गर्नु परेको तितो अनुभुति शिव सुनाउँछन् । दुबै जना आ आफ्नो विचारमा टस कि मस नगर्ने हुदॉ राजनीतिकै कारण करिब करिब सम्बन्ध विच्छेदको चरणमा पुगे पनि बच्चाको कारण विच्छेद हुनबाट रोकिएको शिब बताउँछन् । पार्टी फुटको शुरुवातमा धेरै असहजता आएपनि विस्तारै सम्बन्धमा सहजता आएको बताउँदै सरस्वति भन्छिन् –फरक फरक राजनीतिका कारण निक्कै समस्या भोगियो । उनीहरु भन्छन् –पार्टी एक हुने कुराले हामी धेरै खुशि छौं । उनीहरु दुबै हाल फरक फरक पार्टीका तर सुनसरी जिल्लाका नेतृत्व तहमा छन् । पार्टी एकताको चर्चा चलिरहँदा सरस्वतिले आफ्नो पेसबुक स्टाटसमा लेखेकी छिन् । नेकपा ९क्रान्तिकारी माओवादी ० को एक महिना स्थगित बैठक जेष्ठ १ गते हुने कुराले बिभाजनको स्थितमा पुगेको पार्टी एकताबद्द हुने आशा पलाएको छ। सबैले कमना गरौ पार्टी एकताबद्द भएर माओवादी केन्द्र बनाउने अभियानमा लागोस।
यसैगरि गोरखाका दिपक देबकोटा र दाङकी लिला शर्मा पनि त्यस्ता जोडि हुन् जो हिजो एउटै पार्टीमा थिए तर पार्टी फुट पश्चात दिपक बैद्य माओवादीमा पुगे भने लिला एकीकृत माओवादी मै रहिन् । अहिले लिला शर्मा वाईसिएलकी केन्द्रीय उपाध्यक्ष छिन् भने दिपक बैद्य माओवादी निकट युवा संगठन क्रान्तिकारी युवा लिगका महासचिब छन् । एउटै राजनीतिबाट आएका जोडि फरक फरक पार्टीमा हुदॉ आफुहरुले पनि धेरै असहजता भोगेको कुरा दिपक र लिला बताउँछन् । लिलाका दिदि दामा शर्मा र दाजु डायमण्ड शर्मा पनि बैद्य माओवादीमै छन् । ‘राजनीति र परिवारलाई अलग राख्ने कुरा हामी विच समझदारी भएकै कारण परिवार भित्र राजनीतिक बहश कम ग¥यौ’ यसैले त्यति समस्या भोग्नु नपरेको लिला बताउँछिन् । त्यति हुदॉहुदै पनि फरक फरक राजनीतिमा हुदॉ केही न केही असहज त हुने नै भयो’ थप्छीन् लिला । लिलाको शव्दमा श्रीमान्को पछि लागेर श्रीमती जानैपर्छ भन्ने छैन । उनी त्यस्तो परम्परागत प्रवृत्तिको कडा प्रतिवाद गर्दै भन्छीन् हामी विचारका आधारमा पार्टीमा समाहित भएका हौं त्यसैले एकले विचार परिवर्तन गर्दैमा अर्कोले गर्नैपर्छ भन्ने हुँदैन, आफूलाई जे सहि लाग्छ त्यही पार्टीमा लाग्न सकिन्छ ।’
यसैगरि गोरखाका चन्द्रमान श्रेष्ठ र पार्वती थापा मगरको जोडि पनि पार्टी फुटसँगै फरक फरक पार्टीमा रहेका जोडि हुन् । पार्वती थापा अघिल्लो संविधानसभामा माओवादीका तर्फबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि पनि हुन् । अहिले उनी बैद्य निकट पार्टीमा केन्द्रीय सदस्य छिन् भने चन्द्रमान श्रेष्ठ एकीकृत माओवादीमा नै संचार क्षेत्रमा छन् । हिजो एउटै राजनीतिक आन्दोलनबाट आएको यो जोडिले पनि पार्टी अलग अलग भएपछि केही फरक अनुभुति गर्न पुग्यो । अहिले पार्टी एकतामा आउँदै गर्दा आफूहरुलाई विशेष खुशी र सहजताको महशुस भएको उनीहरु बताउँछन् ।
त्यसैगरी बारामा कार्यरत राजन पौडेल बैद्य माओवादीका नेता रहेका छन् भने उनकी श्रीमती पूर्णकला भुषाल एमाओवादीको नवलपरासी जिल्ला समिति सदस्य रहेकी छीन । उनीहरु पनि पार्टी एकताको चर्चासँगै खुशी बनेका छन् । पौडेल माओवादी एकताको लागि निरन्तर सुक्रिय युवा नेता पनि हुन् । उनले पनि पार्टी फुटको प्रभाव चाहेर पनि नचाहेर पनि परिवारमा पर्ने गरेको बताए । पार्टी एकताले पारिवारीक वातावरणमा पनि सकारात्मक प्रभाव पर्ने पौडेलको भनाई छ ।
यी त केही प्रतिनिधि उदाहरणमात्रै हुन् । एमाओवादी पार्टीमा आएको फुट र विभाजनपश्चात यस्ता धेरै जोडीहरुबीचमा सम्वन्ध र विश्वासको संकट आइपरेको थियो । विचार र कार्यशैलिमा आएको भिन्न्नताले गर्दा ती जोडिहरुले चाहेर पनि राजनीतिमा सक्रियता देखाउन असजिलो भयो । एउटै पार्टीमा लाग्न परिवार र आफन्तहरुको दवाव र आग्रहहरु आएता पनि उनीहरुले विचार र कार्यदिशाको आधारमा एकै पार्टीमा लाग्न सकेनन् । को कता के कामको लागि गएको छ भन्ने कुरा श्रीमान् श्रीमतीलाई नै थाहा नहुने अवस्था मा उनीहरुले करिब ४ वर्ष विताए । आ आफ्ना पार्टीको जिम्मेवारी र काममा उनीहरु खटिनुपर्ने भएकाले एउटा पार्टीको बारेमा अर्को पार्टीलाई जानकारी हुने कुरा पनि भएन । संविधानसभाको दोश्रो निर्वाचनमा त एकीकृत माओवादी पक्षधरहरु चुनाव प्रचार गर्दै हिंड्ने र बैद माओवादी पक्षधरले चुनाव वहिस्कारको प्रचार गर्दे हिंड्ने स्थितिको सामना पनि उनीहरुले गरे ।
फुटेर फरक फरक पार्टी र कार्यदिशा अंगालेका उनीहरुलाई अहिले पार्टी एकता हुने खबर र निर्णयले खुशी त तुल्याएको छ तर एकता प्रक्रियामा सबैको भावनाको सम्मान हुने र संस्थागत हुने वातावरण बनाउनुपर्ने उनीहरुको धारणा छ । एकता अहिलेको आवश्यकता र अनिवार्यता भएको उनीहरुको बुझाई छ ।