
शान्ति प्रक्रियालाई वेवास्ता गरिए देश दुर्घटनामा पर्ने खतरा -प्रचण्ड
काठमाडौं,२९ वैशाख ।
सरकारले केही दिनअघि सार्वजनिक गरेको नीति तथा कार्यक्रमप्रति सत्ता साझेदार दल एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन् । उनले आज संसद वैठकमा बोल्दै सरकारले ल्याएको नीति तथा कार्यक्रममा शान्ति प्रक्रिया पुरा गराउने ठोस कार्यक्रम ल्याउन नसकेको बताए ।सरकारको नीति तथा कार्यक्रमबारे संसदमा प्रचण्डले २५ मिनेट लामो भाषण गर्दै शान्ति प्रक्रियालाई पुरा गराउन सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
शान्तिप्रक्रियालाई टुंगोमा पुर्याउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि गम्भीर रुपमा लिनु पर्ने प्रचण्डको भनाई छ । उनले शान्ति प्रक्रियालाई ठोस निस्कर्षमा पुग्ने खालका कार्यक्रम नआए देश नै ठूलो दुर्घनामा जाने तर्फ इंकित गर्दै भने , ‘शान्ति प्रक्रियालाई वेवास्ता गरिए देश दुर्घटनामा पर्ने खतरा छ ।’ उनले शान्ति प्रक्रियाको विषय कानुनको सामान्य सिद्धान्त अनुसार वा परम्परगत रुपमा हल हुन नसक्ने बताए । बृहत शान्ति सम्झौता अनुसार काम गर्नुपर्र्ने कुरा सबैले बुझ्न पर्ने प्रचण्डको भनाइ छ ।
प्रचण्डले अहिले राष्ट्रिय सहमतिको आवश्यकता रहेको पनि बताए । उनले ‘सरकार बनाउने र गिराउने भन्ने चिन्ता हैन , संविधान कार्यान्वयन गरेर देश विकास गरौं भन्ने चिन्ता छ’ भने ।
प्रचण्डले आफ्नो पार्टी ठूला दल कांग्रेस र एमालेलाई सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।
सरकारले आगामी मंसिरभित्र स्थानीय चुनाव गराउने भन्ने विषयप्रति स्थानीय चुनावमा राजनीतिक सहमति चाहिने बताए । संवैधानिक जटिलता फुकाइएपछि मात्रै स्थानीय चुनाव हुन्छ नत्र स्थानीय चुनाव गर्न गाह्रो हुने प्रचण्डले बताए ।
http://cmprachanda.com/wp-content/uploads/2016/05/CMPrachanda_-Speech-on-Parliyament-073-01-29final.mp3
