उत्तर कोरियाली शासक किम जोङ उन वर्कर्स पार्टीको अध्यक्षमा निर्वाचित
काठमाडौं,२८ वैशाख ।
उत्तर कोरियाली शासक किम जोङ उन वर्कर्स पार्टीको सर्वोच्च पद अध्यक्षमा निर्वाचित भएका छन् ।
पार्टीको प्योङयाङमा शुक्रबारदेखि सुरु भएको सम्मेलन (कंग्रेस) ले ३३ वर्षीय किमलाई पार्टी नेताको वैधानिकता दिएको हो । आइतबार भएको निर्वाचनमा उनी आफ्नो क्षेत्रबाट निर्विरोध निर्वाचित भए ।
उनको पक्षमा १ सय प्रतिशत मत खसेको थियो । उत्तर कोरियाली संसद् ‘सुप्रिम पिपुल्स एसेम्ब्ली’ का अन्य सिटको परिणाम भने सार्वजनिक गरिएको छैन । संसद्को हरेक सिटमा एकजना मात्र उम्मेदवार थिए । संसद्को बैठक भने मुस्किलले वर्षको एक पटकमात्र बस्ने गर्छ ।
प्रायस्जसो कालो पहिरनमा देखिने किम पार्टीको नेतृत्व लिएपछि पनि कालै पहिरन (सुट र टाई) मा देखिएका थिए । ३६ वर्ष लामो अन्तरालमा आयोजना गरिएको सम्मेलनमा पहिलोपटक विदेशी पत्रकारलाई प्रवेश दिइएको थियो । किमले सन् २०११ मा उत्तर कोरियाको सत्ता हातमा लिएपछि विभिन्न समयमा गरी चारवटा आणविक परीक्षण प्योङयाङले गरिसकेको छ भने पाँचौं परीक्षण पनि गर्नसक्ने तयारीमा भएको विभिन्न अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सम्मेलनले प्योङयाङले आफ्नो सार्वभौमिकतामाथि अर्को आणविक शक्तिबाट खतरा नआउँदासम्म आफ्नो तर्फबाट कसैलाई आणविक आक्रमण नगर्ने बताउँदै विभाजित दुई कोरियाबीच एकीकरण प्रयास जारी राख्ने बताएको छ ।
प्योङयाङको प्रस्ताव अस्वीकार
यसैबीच, पछिल्लो समयमा निकै चिसिएको सम्बन्ध सुधारका लागि द्विपक्षीय वार्ताका लागि प्योङयाङले गरेको प्रस्ताव दक्षिण कोरियाले अस्वीकार गरेको छ ।
वर्कस् पार्टीको कंग्रेसलाई सम्बोधनका क्रममा नेता किमले दक्षिण कोरियासँगको सम्बन्धमा पनि जोड दिइने बताएका थिए । राष्ट्रिय रूपमा एकीकरणका लागि दक्षिण कोरियासँगको सम्बन्ध आधारभूत रूपमा नै बलियोसँग अघि बढाइने प्रतिबद्धता किमले जनाएका थिए ।
उनले आफ्नो सम्बोधनमा भनेका थिए, ‘दुवै राष्ट्रले एकअर्काको सम्मान गर्नुपर्छ र वास्तविक रूपमा सम्बन्ध सुधारका लागि एकआपसमा सम्मानका हात फैलाउन पनि सक्नुपर्छ ।’ तर किमको प्रस्तावप्रति विश्वास गर्न सकिने अवस्था नरहेको दक्षिण कोरियाले जनाएको छ । रासस/एएफपी