ज्यान मुद्दामा फरार पक्राउ
काठमाडौं,२३ वैशाख ।
कर्तव्य ज्यान मुद्दामा विगत नौ वर्षदेखि फरार दुई जनालाई बिहीबार बिहान सिरहा प्रहरीले पक्राउ गरेको छ ।
स्थानीयलाई योजनाबद्ध तरिकाले हत्या गरी कमला खोलाको बगरमा गाडेर फरार रहेको आरोपमा सिरहाको मल्हनिया गम्हरिया गाविस–८ निवासी ३५ वर्षीय जीतन पासवान र सोही ठाउँका ४० वर्षीय परमेश्वर पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।
गत २०६४ पुस ५ गते रातको समयमा मल्हनिया गम्हरिया–८ स्थितमा जितन र परमेश्वर पासवानलगायतका व्यक्तिले स्थानीय ४२ वर्षीय राम उदगार मुखियालाई योजनाबद्ध तरिकाले हत्या गरी कमला खोलाको बगरमा गाडेर फरार रहँदै आएको प्रहरीको भनाइ छ ।
आफ्नै घरमा लुकीछिपी बसिरहेको गोप्य सूचनाको आधारमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।
पक्राउ परेकामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान कार्य अगाडि बढाइएको उनले बताए।
