फोरम लोकतान्त्रिकको नाम ‘राष्ट्रिय स्वरूपको हुने गरी’ फेरिने
काठमाडौैं,२२ वैशाख ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको नाम ‘राष्ट्रिय स्वरूपको हुने गरी’ फेरिने लगभग पक्का भएको छ । विराटनगरमा भइरहेको प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय समितिले चार वटा वैकल्पिक नाम प्रस्ताव गरेको छ । तीमध्येको एकलाई प्रतिनिधिहरूले मतदानबाट छनोट गर्नेछन् ।
अध्यक्ष विजयकुमार गच्छदारले पार्टीमा मुलुकका सबै क्षेत्रको प्रतिनिधित्व समेट्दै बृहत् रूप दिने योजना अगाडि बढाएसँगै नयाँ नाम प्रस्ताव गरिएको हो । हालको नामअनुसार निश्चित क्षेत्र मात्र समेटिएको अर्थ लागेकाले फेर्नुपर्नेमा केन्द्रीय समिति र महाधिवेशन प्रतिनिधि सहमत भएको पार्टी स्रोतले जनाएको छ ।
बन्द सत्रमा प्रस्तुत प्रतावित नाममा नेपाल लोकतान्त्रिक फोरम, समाजवादी लोकतान्त्रिक फोरम, जनअधिकार फोरम लोकतान्त्रिक र चौथोमा पुरानै नाम छ । करिब दुई हजार सात सय प्रतिनिधिले मत दिएर नाम टुंगो लगाउने प्रक्रिया सुरु भइसकेको केन्द्रीय सदस्य तथा सभासद पवनकुमार सारडाले बताए ।
‘मधेसवादी दलका रूपमा चिनिएको पार्टीलाई राष्ट्रिय स्वरूपको बनाउने कि उही स्वरुपमा चलाउने भन्नेमा बहस भइरहेको छ,’ फोरम लोकतान्त्रिक केन्द्रीय सदस्य तथा सांसद योगेन्द्र चौधरीले भने । एक केन्द्रीय सदस्यका अनुसार उल्लिखित चार विकल्पमध्ये नेपाल लोकतान्त्रिक फोरम नाम टुंगो लाग्ने बढी सम्भावना छ । गच्छदारले पार्टीलाई हिमाल, पहाड र मधेस सबै ठाउँमा स्वीकार्य बनाउने गरी नाम राख्ने बताउँदै आएका छन् ।
बेग्लै पार्टी बनेको साढे ६ वर्षपछि भइरहेको महाधिवेशनले विधान पारित गरेको छ ।