भारतीय प्रधानमन्त्री मोदीको शैक्षिक प्रमाणपत्रबारे गुजरात विश्वविद्यालयको स्पष्टोक्ति
काठमाडौ, २० बैशाख ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक प्रमाणपत्रबारे पछिल्लो दिन देखिएको विवादका बारेमा गुजरात विश्वविद्यालयले आफ्नो मौनता तोडेको छ ।
सो विश्वविद्यालयका अनुसार मोदीले स्नातकोत्तर (एमए) पास गरेका छन् । अहमदावादस्थित गुजरात विश्वविद्यालयका कुलपति एमएन पटेलले मोदीको स्नातकोत्तर डिग्रीका बारेमा जानकारी दिदैं भनेका छन्, ‘उहाँले समग्रमा ६२.३ प्रतिशत अंक ल्याउनु भएको छ ।’
यद्यपि उनले मोदीको स्नातक (बीए) तहको प्रमाणपत्रका बारेमा आफूसँग कुनै तथ्यांक नरहेको बताएका छन् । बीए तहको अध्ययन मोदीले दिल्लीमा गरेका कारण सो तहको तथ्यांक आफ्नो विश्वविद्यालयसँग नरहेको उनले बताए ।
पटेलका अनुसार मोदीले एमएको पहिलो वर्ष ४०० पूर्णाङ्कमा २३७ नम्बर ल्याएका छन् भने दोस्रो वर्ष ४०० पूर्णाङ्कमा २६२ नम्बर ल्याएका छन् । समग्रमा कुल ८०० मा ४९९ नम्बर ल्याउँदै उनी उत्तीर्ण भएको पटेलले जनाएका हुन् ।
सन् २०१४ मा लोकसभा चुनावअघि दिइएको जानकारी अनुसार मोदीले दिल्ली विश्वविद्यालयबाट स्तातक र गुजरात विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।
केही दिनअघि दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले मूख्य सूचना आयुक्तलाई लेखेको पत्रमा प्रधानमन्त्री मोदीसँग कुनै शैक्षिक योग्यता नरहेको आरोप लाग्दै आएको उल्लेख गर्दै जनतालाई वास्तविकता जानकारी दिन आग्रह गरिएको थियो । (एजेन्सी)