दिल्लीमा आम आदमीलाई धक्का, भाजपाले पायो पुनर्जीवन

मूलखबर संवाददाता
काठमाडौं, २७ माघ ।

भारतको राजधानी शहर नयाँ दिल्लीमा आम आदमी पार्टी (आप)लाई गम्भीर धक्का लागेको छ । हालै सम्पन्न दिल्ली विधान सभा निर्वाचनमा विगत १० वर्षदेखी सत्ता सम्हालीरहेको अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) पार्टीलाई असफलता हात परेपछि ठूलो झड्का लागेको हो।

७० सिटको विधान सभामा प्रतिपक्षीमा रहेको भारतीय जनता पार्टीले ४८ सिटमा विजय प्राप्त गरेको छ भने आपका केजरीवालसहित मुख्य नेताहरुले पराजय भोगेका छन् । यस सँगै भारतीय जनता पार्टी (भाजपा)ले पूर्ण बहुमतसहित दिल्लीमा सरकार निर्माण गर्ने भएको छ । उसलाई २७ वर्षपछि सरकारमा फर्कने ढोका खुलेको छ ।

निर्वाचनमा कुल ७० सिटमध्ये केजरीवाल नेतृत्वको आपले पार्टीले जम्मा २२ सिट जितेको छ । प्रमुख नेताहरूले समेत चुनाव हारेपछि दिल्ली र पन्जाबमा बलियो उपस्थिति रहेको आपको भविष्यलाई लिएर राजनीति वृत्तमा मन्थन सुरु भएको छ । चुनावमा कंग्रेसका ६८ र आपका २० उम्मेदवारको जमानत जफत भएको छ ।

भ्रष्टाचारविरोधी नारा र अवज्ञा आन्दोलनजस्ता जनपक्षीय एजेण्डामार्फत सत्तामा उदाएका केजरिवाल यसपटक भाजपाका उम्मेदवार प्रवेश बर्माबाट पराजित भए का हुन् । केजरिवाल चार हजार ८९ मतले हारेका छन् । भाजपाका बर्माले ३० हजार ८८ मत पाए भने केजरिवालले २५ हजार ९९९ मत पाएका छन् ।

सन् १९९३ मा भाजपाले अत्यधिक बहुमत हासिल गरेर पाँच वर्ष सरकार सञ्चालन गरेको २७ वर्षपछि पुनः दिल्लीमा सरकार बनाउने भएको छ । यसबिचमा भारतीय राष्ट्रियकंग्रेसले १५ र आपले १२ वर्ष दिल्लीमा सरकार सञ्चालन गरेका थिए । २०२० को निर्वाचनमा भाजपाले जम्मा आठ सिट जितेको थियो ।

निर्वाचनमा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरिवालसहित आपका प्रमुख नेताहरू मनीष सिसोदिया, सत्येन्द्र जैन, सोमनाथ भारती, सौरभ भारद्वाज र अबध ओझालगायत पराजित भएका छन् ।