एप्पल घाटामा

1461737064apple-office1

प्रविधिको दुनियाँमा दिग्गज कम्पनी ‘एप्पल’ ले विगत १३ वर्षमा पहिलो पटक घाटा ब्यहोरेको छ । मंगलबार जारी गरिएको तथ्यांकअनुसार सो कम्पनीले पछिल्लो त्रैमासिक अवधिमा १३ प्रतिशत घाटा व्यहोरेको हो ।

आइफोनको बिक्रीमा कम्पनीले गरेको ‘अतिविश्वास’ र चिनियाँ बजार एप्पलको घाटाको मूख्य कारण रहेको बताइएको छ ।

अघिल्लो वर्ष यसै त्रैमासिकमा एप्पलले ५८ अर्ब डलरको बिक्री गरेको थियो । यो वर्ष सो अवधिमा उसको बिक्री घटेर ५० अर्ब डलरमा सीमित भएको छ ।

एप्पलको बिक्रीमा सन् २००३ यता पहिलो पटक गिरावट आएको हो ।

यो त्रैमासिकमा एप्पलले पाँच करोड १२ लाख आइफोन बिक्री गरेको छ । जबकी सन् २०१५ को पहिलो त्रैमासिकमा कम्पनीले ६ करोड १२ लाख आइफोन बिक्री गरेको थियो ।

बजारमा गिरावटको असर यसको शेयरमा पनि देखिएको छ । एप्पलको शेयरमा विगत एक वर्षमा २० प्रतिशत कमी आएको छ । (एजेन्सी)