
दक्षिण कोरिया विमान दुर्घटना
दक्षिण कोरियाको दक्षिणपश्चिमी विमानस्थलमा आइतबार भएको एक विमान दुर्घटनामा परी मृत्यु भएका १७९ मध्ये १७४ जनाको शव फेला परेको यातायात मन्त्रालयले मङ्गलबार जनाएको छ ।
भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले औँठाको छापबाट पहिचान हुन नसकेका ३२ पीडितमध्ये डिएनए परीक्षणबाट थप १० जनाको पहिचान भएको शोकसन्तप्त परिवारलाई जानकारी गराएको छ । बाँकी पाँच जनाको शव पहिचान हुन सकेको छैन ।
पहिचान भएका चार जनाको शव शोक सन्तप्त परिवारलाई हस्तान्तरण गरिएको र उनीहरुको अन्त्येष्टि कार्य सुरु भएको मन्त्रालयले जनाएको छ ।
अधिकारीहरूले यसअघि सबै शवहरू परिवारलाई हस्तान्तरण गर्न १० दिन लाग्न सक्ने बताएका थिए ।
जेजु एयरको बोइङ ७३७–८०० विमान सियोलबाट २९० किलोमिटर दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो ।
