थाङ्का कला प्राथमिकतामा नपरेकोमा कलाकारको चित्त दुखाई
काठमाडौं ।
नेपाल ललितकला पत्रकार समाज र तारागाउँ म्यूजियमको आयोजनामा हरेक महिनाको दोस्रो बुधबार हुने कलाका कुरामा यसपटक समाजले थाङ्का कलाका वरिष्ठ साधक मान बहादुर दोङसँग सम्वाद गर्यो । बेथान ७, रामेछापमा २०१४ सालमा जन्मिएका दोङले सानै उमेरबाट थाङ्कामा लागेको बताए । गाउँमा रहेको गुम्बाका भित्तामा रहेको चित्रबाट प्रभावित भएर गुरु डुप्चेन लामासँग थाङ्का सिकेको उनले बताए ।
नेपालमा थाङ्का कलाको संभावना प्रचुर मात्रामा रहेपनि यसको विकासमा राज्य र प्रतिष्ठानले खासै काम गर्न नसकेको उनले जनाए । नेपालको मौलिक कलाको रुपमा परिचित यो कलामा २० हजारभन्दा बढी मानिस आबद्ध भएपनि राज्यले यसको समुचित नीति बनाउन नसक्दा व्यवस्थित ढंगले अगाडि बढ्न नसकेको उनले गुनासो गरे । खासगरी सञ्चार र राज्यको उपेक्षा गरेकोमा उनले चित्त दुखाए । थांका कलाको विकासका लागि शैक्षिक रुपमा नै राज्यले विकास गर्नुपर्नेमा उनले जोड दिए ।
कलाको प्राज्ञिक विकासका लागि काम गर्न स्थापना भएको प्रतिष्ठानमा समेत विज्ञभन्दा पनि चाकडीचाप्लुसी गर्ने मानसिकता भएका मानिसको हावी भएको र त्यसले कलाको सही अनुसन्धान तथा अन्य प्रभावकारी काम गर्न नसकेको उनले बताए ।
थाङ्का कलामा नेपालमा हजारौं कलाकारले काम गरेपनि प्रतिष्ठानले आयोजना गर्ने राष्टिय कला प्रदर्शनीमा मुस्किलले २०–३० जनामात्रै सहभागी हुनुले पनि यस क्षेत्रमा प्रतिष्ठानले के काम गर्यो भन्ने प्रश्न खडा भएको छ । किन कलाकारहरु राष्टिय कला प्रदर्शनीमा सहभागी हुने जाँगर देखाउदैनन् ? यसको जवाफ प्रतिष्ठानले खोज्न सकेको छैन ।
प्रतिष्ठानलाई प्रभावकारी बनाउन कला अनुसन्धान, गोष्ठी, कार्यशाला तथा विद्धत्तवृत्ति जस्ता कार्यक्रम गरी त्यसको प्रभावकारी अनुगमन गर्नुपर्दछ । तर हामी कहाँ यस्तो काम हुन नसक्नुका पछाडि विज्ञता भन्दा पनि प्राज्ञिक तथा प्रशासनिक ज्ञान नै नभएका व्यक्तिका कारण हो । राज्यले प्रतिष्ठानको गरिमा राख्न सक्ने व्यक्तिलाई उचित सम्मान दिन सके मात्रै नेपाली कलाको विकासमा केही काम हुन सक्ने उनले बताए । थांकालाई तिब्बेतियन कला भनेर व्यापारीले व्यापार गरेर यसको मौलिक मर्ममाथि प्रहार गरेको समेत उनले बताए ।
तस्वीर सौजन्यः गोरख रेग्मी