राज्यपक्षविरुद्ध उजुरी गर्न गाउँ नै उल्टीएर काठमाडौं आए बारा जिल्लावासी

काठमाडौं, ७ बैसाख ।
द्वन्दलाई पूर्ण रुपमा शान्तिमा रुपान्तरण गर्नको लागि बनेको सत्य निरुपण तथा मेलमिलाप आयोगले उजुरी आव्हान गरेपछि पुरै देश उजुरीप्रति आशंका र आशातीत नजरले ढाकीएको छ ।
आयोगले जिल्लास्थित शान्ति समितिको कार्यालयमा उजुरी दिन सक्नेगरी सूचना जारी गरेपछि विभिन्न्न जिल्लास्थित शान्ति समितिको कार्यालयमा उजुरी दिने अत्यन्तै कम मात्रै देखिएका छन् । आयोगको केन्द्रीय कार्यालय बबरमहल काठमाडौमा भने उजुरी दिनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । बबरमहलमा मंगलबार बारा जिल्लाबाट एउटा गाउँ नै उल्टीएर उजुरी दिन आए । बारा जिल्लाको निजगढ नगरपालीका अन्तर्गतका एक गाउँका १२ जनाले बबरमहलस्थित केन्द्रीय कार्यालयमा उजुरी दर्ता गराए ।
द्वन्दकालमा राज्यपक्षद्वारा आफूहरु पीडित भएको र परिवार मारिएको एवं मानसिक यातना पाएको लगायतका उजुरी लिएर  काठमाडौं आएको उनीहरुले बताए । जिल्लामा भएका शान्ति समितिप्रति आफूहरु विश्वस्त हुन नसकेको कारण काठमाडौ आउन बाध्य भएको उत्तरबहादुरले मूलखबरलाई बताए । उनको दाजुलाई मकवानपुरस्थित छतिवनमा राज्यपक्षले हत्या गरेको उनले जानकारी दिए  ।
आयोगको केन्द्रीय कार्यालयमा बैसाख ५ गते  पहिलो दिन २६, दोश्रो दिन  १० वटा उजुरी परेको थियो भने देशभरीबाट पहिलो दिन १ सय २५ वटा र दोश्रो दिन १ सय ५ वटा उजुरी परेको  छ । आयोगका अनुसार रोल्पा जिल्लामा हालसम्म एउटा पनि उजुरी परेको छैन ।