तीनकुने घटनामा आततायी गतिविधि गर्ने प्रसाईँसहित ८ जनालाई जेल, रविन्द्र श्रेष्ठ फरार

मूलखबर संवाददाता
काठमाडौं, ३० जेठ

राजावादी आन्दोलनकाे नाममा आततायी विध्वंसात्मक गतिविधि गरेका दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि जेल पठाउने फैसला काठमाडौं जिल्ला अदालतले गरेको छ ।

यससँगै चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित सात जना पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

बिहिबार राति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो। १५५ पानाको आदेशमा अदालतले प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सुशिल बराल, केशव बस्नेत, कुमार तामाङलाई पुर्पक्षमा थुनामा राख्ने आदेश दिएको हो।

तीनकुने घटनामा प्रतिवादीमध्ये हाल हिरासतमा रहेका अन्य ३२ जनालाई भने धरौटी रिहा गर्न आदेश भएको छ।

त्यस्तै तीनकुने घटनामा राप्रपाका सांसद डाक्टर धवल शमशेर राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भने अदालतमा उपस्थित नै नभएको भन्दै फरार प्रतिवादीको रुपमा राखिएको छ। उनीहरुलाई फरार प्रतिवादीको रुपमा पक्राउ पूर्जी जारी हुने भएको छ।

काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो। बहस सकिएसँगै विहिबार मध्यरातमा फैसला आएको हो।

राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित आठ जनालाई कर्तव्य ज्यानको समेत मुद्दा लगाइएको थियो। गत चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको विषयमा जेठ ११ मा सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

प्रसाईँका समर्थकहरू बिहीबार मध्यराति सम्म फैसला कुरेर अदालत परिसरमा बसिरहेका थिए ।