अझै ग्याँस पाईएन

काठमाडौं,६ वैशाख ।

gassss

खाना पकाउने ग्यास अभाव न्यूनीकरण गर्न क्षेत्रगत रूपमा वितरणको अवधारणा ल्याए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

ठूलो परिमाणमा अन्यत्रै ग्यास जाने गरेकाले करिब ३५ प्रतिशतले ग्यास पाउन सकेका छैनन् । गत २९ गतेदेखि आपूर्ति सहज र सबै उपभोक्तालाई उपलब्ध गराउन ठाउँ तोकेरै वितरण गर्ने निर्णय एलपी ग्यास उद्योग संघले गरेको थियो । संघले पत्रपत्रिकामा सार्वजनिक सूचनासमेत प्रकाशित गरेको थियो । सूचनाअनुसार सर्वसाधारण ग्यास लिन लाइनमा बसे पनि अन्तत: निराश हँुदै फर्किन बाध्य भएको डिलरहरू बताएका छन् । ग्यासका लागि उद्योगमा सम्पर्क गर्दा नभएको र कुनै उद्योगले फोनसमेत नउठाएको उनीहरूको भनाइ छ ।

  • ग्यास नै नभएको वहानाले ३५ प्रतिशतले पाएनन्
  • बिहान ३ बजेबाट लाइन बसे, रित्तै फर्कनुपर्‍यो : डिलर
  • बिदा परेकाले वितरणमा समस्या । नपाउनेलाई अर्को दिन : संघ

‘सूचनाअनुसार सर्वसाधरण रातको ३ बजे नै लाइनमा बसे । दिउँसोसम्म तीन हजार जना पुगे । तर, ग्यास पाएनन्,’ जोरपाटीको ओम चामुण्डा ग्यास स्टोरका सञ्चालक छविलाल चौलागाईले भने, ‘उद्योगमा सम्पर्क गर्दा फोन उठ्दैन । उठे पनि ग्यास नै आइपुगेको छैन भन्छन् । सर्वसाधरण र डिलरवाला दुवैले दु:ख पाए ।’

कपनस्थित लक्ष्मी ग्यास स्टोरका सञ्चालक मेघनाथ घिमिरेको भनाइ पनि उस्तै छ । ‘साढे ३ सयभन्दा बढी उपभोक्तालाई टोकन बाँडेका थियांै,’ उनले भने, ‘ग्यास आएन । सर्वसाधरणको आक्रोश खेप्नुपर्‍यो ।’ त्रिशूल ग्यासका लागि २ सय र सूर्य ग्यासका लागि १ सय ३० भन्दा बढी टोकन वितरण गरेको उनले बताए ।

सूर्यले बुलेट नआएको र त्रिशूल ग्यास नभएको भन्दै पन्छिए । जोरपाटीकै राजेश स्टोर एन्ड सप्लायर्सले पनि मागको ५० प्रतिशत मात्रै ग्यास पाएको जनाएको छ । यसअघि संघले हरेक डिलरलाई उसले बेचिरहेको उद्योगको ग्यास उपलब्ध गराउने जनाएको थियो ।

नाकाबन्दीअघि ती डिलरले महिनामा जति ग्यास सिलन्डर बेच्दै आएका थिए सोही परिमाणमा सिलिन्डर उपलब्ध गराइने जनाएको थियो । तर, आफूले गरेको निर्णय कार्यान्वयन गर्न सकेको छैन । ‘क्षेत्रगत रूपमा वितरण गर्ने भनिए पनि कार्यान्वयन हुन सकेन ।

डिलरले बेच्ने अनुपातमा पनि ग्यास पाउन सकेका छैनन्,’ ग्यास बिक्रेता संघ उपत्यकाका महासचिव राजेश दाहालले भने । उनका अनुसार चाबहिल, क्षेत्रपाटी, चुच्चेपाटी क्षेत्रमा करिब ६ सय ग्यास डिलरहरू छन् । तीमध्ये करिब ४ सयले मात्रै ग्यास पाएका छन् । यस्तै ललितपुरमा पनि उस्तै समस्या रहेको उनले बताए । उनका अनुसार ललितपुरका अधिकांश डिलरले ग्यास पाएका थिएनन् ।

संघले आफूले गरेको निर्णयविपरीत वितरण गर्दै आएको छ । नेपाल आयल निगममा स्थापित ग्यास कन्ट्रोल रुमका अनुसार संघले आजको क्षेत्र र अन्य क्षेत्रको नाम राखेर ग्यास वितरण गरेको दाबी गरेको छ । संघले भने खपतअनुसार क्षेत्रगत रूपमै वितरण गरेको दाबी गरेको छ । ‘मासिक खपतको आधारम क्षेत्रगत रूपमै ग्यास वितरण भएको छ,’ संघका अध्यक्ष शिव घिमिरेले भने, ‘कोटाअनुसार बढी भएको ग्यास भने अन्य क्षेत्रमा पनि पठाउँदै आएका छौं ।’

संघका कोषाध्यक्ष कृष्णभक्त श्रेष्ठलले कुनै क्षेत्रमा डिलर नभएकाले अन्य क्षेत्रमा वितरण गर्न बाध्य भएको बताए । ‘कतिपय कम्पनीमा ग्यास नभएको र छुट्टीले वितरण गर्न नसकेको हुन सक्छ,’ श्रेष्ठले भने, ‘ग्यास नपाउने डिलरले दुई/तीन दिनमै ग्यास पाउने छन् ।’ उनले सबै ग्राहकले ग्यास पाऊन् भन्ने उद्देश्यले क्षेत्रगत रूपमा वितरणको योजना सार्वजनिक भएको बताए ।

योजनाअनुसार चैत २९ गते भक्तपुर जिल्ला/क्षेत्रमा ग्यास वितरण भएको थियो । ३० गते नयाँ बानेश्वर, कोटेश्वर, बत्तीसपुतली, शंखमूल, माइतीघर, बुद्धनगर, बबरमहल क्षेत्र, वैशाख २ गते पुरानो बानेश्वर, सिनामंगल, गौशाला, चाबहिल, बौद्ध,
चुच्चेपाटी, कपन, साँखु, सुन्दरीजल, नयाँबस्ती क्षेत्रमा ग्यास वितरण भएको छ ।

यस्तै वैशाख ३ गते ललितपुर जिल्ला/क्षेत्र, ५ गते न्युरोड, असन, लगन, पुलतीसडक, कालिकास्थान, त्रिपुरेश्वर, डिल्लीबजार, ज्ञानेश्वर, मैतीदेवी क्षेत्रमा वितरण भएको छ । ६ गते कलंकी, थानकोट, बल्खु, कीर्तिपुर, सतुंगल, कालिमाटी, बाफल, बालाजु, सीतापाइला, स्वयम्भु क्षेत्र, ७ गते महाराजगन्ज, बूढानीलकण्ठ, गोंगबु, लाजिम्पाट, दरबारमार्ग, बालुवाटार, विशालनगर, भाटभटेनी, धुम्बाराही क्षेत्रमा वितरण गरिने जनाइएको छ ।

क्षेत्रगत रूपमा वितरणलाई निरन्तरता दिने/नदिनेबारेमा सोमबार निर्णय हुने छ । ‘अहिले वितरण गरिएको ग्यास र सर्वसाधारणको प्रक्रियाको आधारमा निर्णय गर्ने छौं,’ उनले भने ।

कान्तिपुरबाट