
जेठ महिनामा वाणिज्य बैंकहरूको ब्याजदर कति ?
वाणिज्य बैंकहरूले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैशाख महिनाको तुलनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर सामान्य रूपमा घटेको देखिएको छ। यसले बैंकहरूबीचको ब्याजदर प्रतिस्पर्धामा क्रमशः चिसोपन आएको संकेत दिएको छ।
२० वाणिज्य बैंकहरूमध्ये १४ बैंकले बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बाँकी ६ बैंकमध्ये ३ बैंकले ब्याजदर घटाएका छन् भने ३ बैंकले केही अंशमा बढाएका छन्।
सार्वजनिक विवरण अनुसार वैशाखमा औसत ब्याजदर ५.९७९५ प्रतिशतविन्दु रहेकोमा, जेठमा घटेर ५.९५२ प्रतिशतविन्दुमा झरेको छ। यो ०.०२७५ प्रतिशतविन्दु घटावट हो। सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ। यस बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर एक प्रतिशतविन्दुले घटाएर ६.५ प्रतिशतबाट ५।५ प्रतिशतमा झारेको छ।
त्यस्तै, सिद्धार्थ बैंकले ०.२५ प्रतिशतविन्दु र कुमारी बैंकले ०.०१ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्। यसविपरीत, सानिमा बैंक, नेपाल बैंक र एभरेष्ट बैंकले ब्याजदर केही मात्रामा वृद्धि गरेका छन्। सानिमा बैंकले ०.३८ प्रतिशतविन्दुले ब्याजदर बढाउँदै अग्रता लिएको छ।
ब्याजदरमा आएको यो सामान्य घटावट बैंकहरूमाथि तरलताको चाप कम हुँदै गएको संकेतको रूपमा लिइएको छ। तर, केही बैंकहरूले अझै ब्याजदर बढाउनु परेको अवस्थाले सबै बैंकहरूको तरलता स्थिति समान नरहेको प्रस्ट पारेको छ। जेठ महिनाको ब्याजदर प्रवृत्तिले आगामी महिनाहरूमा अझ स्थिरता आउने अनुमान गरिँदैछ।