लुका कारण नेपालगन्जको जनजीवन प्रभावित

काठमाडौं, ३ वैशाख ।lu
नेपालको सबैभन्दा गर्मी स्थानको रुपमा चिनिने नेपालगन्जमा केही सातायता अत्यधिक चर्को घाम र तातो हावा लु चल्ने गरेको छ ।
तातो हावा लुका कारण जनजीवन प्रभावित भएको छ।

नेपालगन्जस्थित मौसम विभागको कार्यालयका अनुसार, नेपालगन्जको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी ‘रेकर्ड’ गरिएको छ।यो गतबर्षको तुलनामा ४ डिग्री बढी हो । यो समयमा ३६ डिग्री वरीपरीको आसपासमा तापक्रम पुग्ने गर्दथ्यो ।मौसम विज्ञका अनुसार यहाँको अधिकतम तापक्रम अझै बढ्ने अनुमान छ।

गर्मी महिना सुरु भएयता नेपालगन्जमा पानी परेको छैन। आमनागरिकले चर्को घाम र तातो हावाको नियति भोग्नुपरेको छ।

चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री बढेको छ।

स्थानीय बासिन्दाले गर्मीयाममा प्रायः काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फीलगायत चिसो पेय तथा खाद्य वस्तु अधिक सेवन गर्ने गर्छन्।

गर्मीका कारण घाउखटिरा, आउमासी, टायफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सकहरुले बताएका छन् ।
अस्पताल, शिक्षण संस्था तथा स्वास्थ्य केन्द्रमा गर्मी मौसममा लाग्ने विभिन्न रोगका बिरामीको चाप बढ्दै गएको छ।

त्यसैगरी, गर्मीमा विद्युत्को खपत अधिक हुन थालेपछि विद्युत् प्राधिकरणले दैनिक नौ घन्टा विद्युत्भार कटौतीको तालिका प्रकाशित गरेको छ। रासस